आत्मा त अमर हुन्छ
म त मरिसकेको थिएँ,
गनाउन थालेपछि होला,
वरीपरि भुनभुनाउँदै थिए
मलामी जाने मानिसहरू।
प्राण त हराई सकेको थियो,
अस्थिपञ्जर पो थियो,
त्यो पनि यता र उता मेरो
मलामीहरूले तानातान।
हेर्दा हेर्दै खरानी पो भएँ।
मेरो आत्मालाई
बल्ल शान्ति मिलेछ,
आफन्तहरू खासखुस खासखुस।
रूनेहरू कतै देखिनँ अनि,
धुरुधुरु म आफैँ रोएँ।
उताबाट दौडँदै मलामी
आउँदा आउँदै ढिला भएछ।
कतै खरानीभित्र
आगो लुकेको छ कि?
यी दाउरा त्यहीँ राखेर
बचेराहरू पनि पोलिदेऊ!
बिस्तारै मान्छेहरू
सुकसुक गर्दै जुर्मुराए,
आँसुसङ्गै मुट्ठीहरू उठाए।
“सतीले सरापेको देश हो,”
भन्दै थिए राम्रो गर्नेहरू,
“बाँच्न नपाउने देश हो।”
सङ्गतले साथै लैजाँदो रहेछ,
सङ्गतको फल मिल्दो रहेछ।
कर्मको फल सिधै नमिल्ने,
अनि गुनगान ढलेपछि मिल्ने।
अब त जन्मेपछि हैन रहर,
मरेपछि बल्ल जन्मने रहर!
जय गणतन्त्र, जय जनतन्त्र,
हराई जाओस् सदाका लागि लुटतन्त्र!
नसुनाऊ भ्रष्ट बनाउने गुरूमन्त्र।
बाँचिन्जेल मलाई सत्कर्म प्यारो छ,
मरेपछि पनि मलाई स्वर्ग प्यारो छ,
अनि श्रद्धाञ्जलीको फूल प्यारो छ।
