शुक्रबारदेखि चार दिनसम्म धेरै वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाँच प्रदेशमा चार दिनसम्म अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरेको छ । अत्यन्त जरुरी नभए यही असोज १७ गते शुक्रबारदेखि २० गते सोमबारसम्म यात्रा नगर्न अनुरोध गरेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन् । जल तथा मौसम विज्ञान विभागले चार दिनसम्म पाँच प्रदेशका विभिन्न जिल्लामा धेरै वर्षा हुने सूचना सार्वजनिक गरेकाले प्राधिकरणले उच्च सतर्कताका लागि यस्तो अनुरोध गरेको उनले बताइन् ।

मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यी प्रदेशका नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तह आसपास पुग्न सक्ने देखिएको जनाइएको छ ।

बाग्मती प्रदेशको काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको सङ्खुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ, मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहेको प्राधिकरणले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ । यसैले सतर्कता अपनाउन र पूर्वतयारी तथा पूर्वकार्य गर्न प्राधिकरणले अनुरोध गरेको हो ।

प्राधिकरणले अत्यन्त जरुरी नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न, सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा एवं बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिने र सो निर्णय पालना गराउन, पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन, डुबान हुने बस्तीका बासिन्दाले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिन, आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान पनि अनुरोध गरेको छ ।

तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने, जोखिमयुक्त राजमार्ग र सडकमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्न, पूर्वतयारी, पूर्वकार्य एवं प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्था जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्ट) मा रहन पनि प्राधिकरणले सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।

मनसुन बाहिरिन ढिलाइ

यसैबीच, यो वर्षको मनसुन बाहिरिने समय लम्बिएको छ। नेपालमा गत जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अटोबर २ अर्थात् बिहीवार रहे पनि मनसुन उत्तरार्धमा पुगेका बेला पुन सक्रिय भएको छ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यो वर्ष १५ दिन अगावै नेपालमा प्रवेश गरेको र बाहिरिन पनि केही समय ढिला हुने बताए।

वरिष्ठ मौसमविद् अर्यालले शनिबार र आइतबार बढी वर्षा हुने जानकारी दिँदै सोमबारबाट भने क्रमशः सुधार हँदै जाने बताए। ुत्यसपछि पश्चिम वायुको प्रभाव कसरी आउँछ, त्यसले मनसुन बाहिरिने कुराको निर्धारण गर्छ,ु उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *