चार जना मन्त्री थपिँदै
काठमाडौँ। अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्। चार जना नयाँ मन्त्री थपिन लागेका हुन्।
प्रधानमन्त्रीले आइतबार साँझ पाँच जनाको नाम राष्ट्रपति कार्यालयमा पठाएकी थिइन्, तर त्यसमध्येबाट स्वास्थ्य मन्त्रालयकी निवर्तमान अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नाम हटाइएको छ। उनको नाम सिफारिस भएलगत्तै विभिन्न विवादास्पद तथ्यहरू सार्वजनिक हुन थालेपछि नाम काटिएको हो।
स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा डा. मिश्राले ‘म्यामोग्राम मेसिन’ बिनाको बक्सा मात्र हस्तान्तरण गरेर रकम भुक्तानी लिएको र मेडिकल उपकरण खरिदका अन्य फाइलबारे पनि अख्तियारले अनुसन्धान गरिरहेका कारण उनको नाम हटाइएको चर्चा छ।
बाँकी चार जनाको नाम राष्ट्रपति कार्यालय पठाइएको जनाइएको छ। ती मन्त्रीहरूको शपथग्रहण आज सोमबार नै हुने भएको छ।
प्रधानमन्त्री कार्कीले मन्त्री पदमा नियुक्तिका लागि अनिलकुमार सिन्हा (उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालय), महावीर पुन (शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय) लाई सिफारिस गरेकी हुन्।
यस्तै, मदनप्रसाद परियार (कृषि तथा पशुपन्छी विकास मन्त्रालय) र जगदीश खरेल (सूचना तथा सञ्चार मन्त्रालय) पनि सिफारिस गरिएका छन्।
भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले २९ गते कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरेकी थिइन्।
