मेरो कोट

वर्षौँवर्ष मैले लगाएको,
इमान र इज्जतको रङ्ग पोतिएको,
सफेद, शान्त र उदारताको प्रतीक,
भद्र र शालीनताको छिर्केमिर्के,
विचरा मेरो कोट !

समयक्रममा रङ्ग फेरिरहने,
कालोलाई सेतो र सेतोलाई कालोमा बदल्ने,
कालो कर्तुतलाई रकमको आयतनमा,
पत्थरको मुटुले वकालत गर्ने,
न्यायको मूल्य तोकेर न्याय मार्ने,
विवेकहीन मनुवाले लाउने
कालो कोट होइन मेरो कोट !

सोर्सफोर्समा विभिन्न कोटाबाट छानिएर पढेका,
कम योग्यता प्राप्त अदक्ष प्रमाणपत्रधारी डाक्टर,
हाम्रो शरीरलाई ‘एक्सपेरिमेन्ट टुल’ बनाउने,
कोटको परिचयले ज्यान लिन सक्नेले
लाउन सक्ने सेतो कोट पनि होइन
मेरो कोट !

जनताको सेवा र सुशासनको पक्षमा उभिएको राष्ट्रसेवक निजामती बहानामा,
घुम्ने मेचमा बसेर पहुँचविहीन निरीह जनतासँग
टेबलमुनि हात मिलाउने खुरापाती कर्मचारीले
राज्यको पोशाक सुविधाप्राप्त कोट होइन।

जवाहर कोट, मोदी कोट, वेस्ट कोट, ब्लेजर कोट,
फिट कोट, क्याजुअल कोट, वाम कोट,
नेताले, अमीरले, बाबुसाहेबले लाउने
कुनै कोट होइन मेरो कोट !

जिजीविषामा उत्प्रेरणा र ऊर्जा भर्न सक्ने,
जीवनका गाथा, सङ्घर्षका कथा बाँड्ने,
दार्शनिक, वैज्ञानिक, महावीर, मातृभूमिका सपुत,
साहित्य र शैक्षिक जगत्का उज्याला नक्षत्रले
लाउने त्यही निष्कलङ्कको पर्यायवाची
अद्वितीय हो मेरो कोट !

खाँडीको दौरा सुरुवालसित,
कमिज, सुरुवाल, पेन्ट, सर्ट सबैसित मिल्ने,
अल्लोको धागो, नेपाली वनस्पतिको बोक्राको
रेसाबाट नेपाली तानले बुनिएको कपडाको,
सच्चा र इमानदार, राष्ट्रिय पहिचान बोकेको,
उदारताको प्रतीक, छिर्केमिर्के रङ्गले सजिएको,
‘अतिथि देवो भवः’ ट्याग टाँसिएको,
सादगी मेरो कोट !

सह भएको भकारीजस्तो,
गाँठ नरित्तिने खल्ती भएको,
खुल्ला किताबको पानाजस्तो,
खुल्ला दराजको ड्रयर, सन्दुकजस्तो,
सहज पहुँचवाला खल्ती भएको,
उदार मेरो कोट !

मेरो कोटमा दाइँ र रजाइँ गर्नेहरू,
ऊ बेला कतिले बिना अनुमति खल्तीमा हात छिराउँथे।
जादुको छडीजस्तै कतिका हात रमाउँथे।
लोलोपोतो घसेर, बाँसुरीको बेतुक धुनमा
सर्प नचाएजस्तै मलाई नचाउनेहरू।
कतिले योग्यताको सर्टिफिकेट लिएर लोप्पा खुवाए।
कतिले विदेश गएर दुनो सोझ्याए,
देश देखे, भेष फेरे, औकात बिर्से।
कतिले घर बनाए, परिवार पाले।
कतिले उपचार पाए, कतिले जागिर पाए।
जनाकाङ्क्षी, मतलबी रङ्गमञ्चका दुनियाँलाई
आहा ! सबैको हाईहाई,
शालीन र भद्र मेरो कोट !

कोटको क्रेजमा कोही अङ्गालोमा बाँधिए,
मेरा जीवन साथी बन्ने प्रण गरे।
“तिमी नै हौ मेरो मुटुको धुकधुकी,
तिमीबिना मेरो जीवन अधुरो” हुने गीत गाए।
जीवनको गतिमा मस्तमस्तमा रमाए।
नमस्कार, अभिवादनको ओइरो,
मीटिङ, भेला, समारोहमा मलाई प्रमुख अतिथि बनाए,
माला, खदाको वर्षा गराए,
वाह ! कमाल मेरो कोट !

जब समय र परिस्थितिहरूले कोल्टो फेर्न थाल्यो,
ती दिनका रौनकहरूमा बादल छायो।
बादलले घाम छोप्यो, कुइरो मडारियो,
चिसो बतासको झोक्काले
महामारी फैलाएर कोटमा ढुसी लगायो।
कपडा मक्किएर खल्ती च्यातियो,
खल्तीको सहले कोकोहोलो मच्चायो।
मेरो कोटको रङ्ग उड्न थाल्यो, फुङ्ग !
विचरा मेरो कोट !

जब कोटको पहिचान गुम्न थाल्यो,
आफन्त टाढिन थाले, साथीसङ्गी भाडिन थाले।
फूल छिप्पियो, हेमन्तले शीत लहर ल्यायो।
रस भोगी मौरी, भमरा र पुतलीहरू अल्पिए,
शिशिरका उराठिला वनपाखा, डाँडाकाँडाजस्तै।
हिउँदको पानीमा रुझेको मुसाजस्तै,
विचरा मेरो कोट !

मबिना जीवन अधुरो ठान्ने, जीवन साथी बन्नेहरू,
मेरो जल्दोबल्दो अवस्थामा
आगो ताप्नेहरू, अङ्गालोमा कसिनेहरू,
हिउँदको अल्लो, सिस्नुजस्तै छुन नसकिने भए।
खदा, माला पहिर्याई प्रमुख अतिथि बनाउनेको झुण्ड
रुखमा अरिङ्गाल गोला, पातमा बारुलाजस्तै
नजिक गएर केही भन्न नसकिने भए।
जाडोमा सेकेर दूध पिलाएका सर्पले
अघिल्तिर फणा फिँजाएर विष वमन गर्ने भए।
उराठिलो दलनको सिगौरामा झुण्डिएको,
विवशतामा आज छटपटिँदैछ
विचरा मेरो कोट !

यो स्वार्थी संसारका स्वार्थी दुनियाँमाझ
‘पृथ्वी गोलो छ’ कसले भनी देला र ?
आफ्ना कोटहरू पनि एक दिन खुइलिन्छन्।
जिन्दगीको बाटो लामो छ, यात्रा छोटो छ।
जीवनका आयाम सँगै फुल्ने फूल, वैलिने र बोटबाट झर्ने प्रक्रिया हो जिन्दगी।
बुझ्नपचाई कसले बुझिदेला ?
सहानुभूतिको स्वरले हातमा हात, साथमा साथ दिने
आत्मीयतामा गाँस बाँड्ने,
प्रारब्धका मेरा कोटका सक्कली मित्रहरू
जिउँदै छन् कि मरिसके ?
किंकर्तव्यविमूढ विचरा मेरो कोट !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *