यस्तो होस् सामुदायिक विद्यालय

नेपालमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र प्रभावकारितामाथि लामो समयदेखि बहस हुँदै आएको छ। सरकारी लगानी र अथक प्रयासका बाबजुद पनि सामुदायिक विद्यालयहरूले निजी विद्यालयहरूसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्। यसको मुख्य कारण, आजको युगमा आवश्यक पर्ने व्यावहारिक र व्यावसायिक शिक्षाको अभाव नै हो। विद्यार्थीलाई केवल परीक्षा पास गर्नका लागि मात्र तयार गरिनुले उनीहरूमा खोक्रो ज्ञान मात्र भरिएको छ, जसले गर्दा उनीहरू जीवनमा सफल हुन सकिरहेका छैनन्।

यस समस्यालाई समाधान गर्न, अब हाम्रो ध्यान परम्परागत शिक्षण पद्धतिबाट माथि उठेर विद्यार्थीलाई जीवनोपयोगी सीप र ज्ञान प्रदान गर्नेतर्फ केन्द्रित हुनुपर्छ। सामुदायिक विद्यालयलाई केवल पढाइ हुने संस्थाका रूपमा मात्र नहेरी, समग्र सामुदायिक विकास र विद्यार्थीहरूको उज्ज्वल भविष्यको जग बसाल्ने केन्द्रका रूपमा रूपान्तरण गर्न आवश्यक छ। यसका लागि केही महत्त्वपूर्ण कदमहरू चाल्न सकिन्छ, जसले शिक्षालाई अझ प्रभावकारी र व्यावहारिक बनाउन मद्दत गर्नेछ।

कसरी बन्न सक्छ सामुदायिक विद्यालय भरोसायुक्त? अनेक पक्ष हुन सक्छन्। पाठ्यक्रम र शिक्षण पद्धतिमा परिवर्तन, परियोजनामा आधारित सिकाइ, शिक्षकको क्षमता विकास, भौतिक पूर्वाधार र शैक्षिक सामग्रीको व्यवस्था, सामुदायिक सहभागिता र सम्बन्ध, विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड जस्ता कुरा महत्वपूर्ण हुन्छन्।

माथिको तस्बिरमा देखिएको नुवाकोटस्थित साल्मे माध्यमिक विद्यालय हो। यसैमा आधारित रहेर कसरी एउटा सामुदायिक विद्यालय नमुना बन्न सक्छ भन्ने परिकल्पना प्रस्तुत गरिएको छ।

१. यहाँ देखिएको विद्यालयमा कक्षा ४ वा ६ देखि माथि आवासीय सुविधा रहनेछ।

२. यहाँ देखिएका साना टहराहरूलाई छात्रावास बनाइनेछ।

३. विद्यालय वरपरको जमिन विद्यालयले खरिद गर्ने वा लिजमा लिने र विद्यार्थी आफैँले अत्याधुनिक कृषि गर्नेछन्। आवासीय विद्यालयका लागि आवश्यक अन्न, तरकारी सबै यहीँ उत्पादन गरिनेछ।

४. सडक सञ्जाल पुगेको कारण विद्यालयको छेउमा एउटा सानो कृषि मार्ट सञ्चालन गरिनेछ, वा ‘एक विद्यालय एक उत्पादन’ अन्तर्गत कुनै अर्को उत्पादन गर्ने र बेच्ने काम हुनेछ।

५. विद्यालयलाई सामुदायिक विकास तथा उत्थान केन्द्रका रूपमा विकास गरिनेछ। अभिभावकसँगको हातेमालोमा जागरण, स्थानीय गरिबी निवारण, सीप विकास, उद्यमशीलताका कार्यक्रम सञ्चालन गरिनेछ।

६. अनुसन्धान केन्द्र स्थापना गरिनेछ। विद्यार्थीले तितेपाती, वनमारादेखि रोबोटिक्ससम्मका विषयमा अध्ययन गर्नेछन्। ग्रामीण अर्थतन्त्रदेखि पर्यावरण र पर्यटनसम्मका विषयमा अनुसन्धान गर्नेछन्।

७. विद्यार्थीका झोलामा परम्परागत पाठ्यपुस्तक हुनेछैनन्। विद्यालयमा नै एउटा अत्याधुनिक पुस्तकालय हुनेछ। पुस्तकालयमा बालबालिकाको उमेरअनुसारका हजारौँ पुस्तक हुनेछन्। विद्यार्थीले ७ वटा ‘कोर्स बुक’होइन, सयौँ पुस्तकसँग साक्षात्कार गर्नेछन्। स्थानीय समुदायका लागि समेत पुस्तकालय खुल्ला रहनेछ।

८. हरेक कक्षामा स्मार्ट बोर्ड हुनेछन्। शिक्षकले पुस्तक होइन, नयाँ पाठ्यक्रमअनुसारको शिक्षण म्यानुअल तयार गरेर सोहीअनुसार शैक्षिक गतिविधि सञ्चालन गर्नेछन्। विद्यार्थीले पाएका परियोजना कार्य पुस्तकालयमा बसेर गर्नेछन्, खोज्नेछन् वा समुदायमा पुग्नेछन्। शिक्षककेन्द्रित सिकाइको मोडेल स्वतः बन्द हुनेछ।

९. अहिले जस्ता ४५ मिनेटका घन्टी हुने छैनन्। विषय पनि अहिलेका जस्ता परम्परागत हुनेछैनन्। दिनमा बढीमा ४ विषय मात्र रहनेछन्। परीक्षाका मोडेल यस्ता हुनेछैनन्। व्यावहारिक ज्ञान र प्रयोगलाई मूल्याङ्कन गरिनेछ।

१०. नेपालका सामुदायिक विद्यालयका आफ्नै विशेषता छन्। हामीले आफ्नै मौलिक ढङ्गले हाम्रा विद्यालयको रूपान्तरणको खाका खोज्नुपर्छ।


प्रतिक्रिया

One thought on “यस्तो होस् सामुदायिक विद्यालय

  1. यो लेख पढ्दा मलाई निकै खुसी लाग्यो तर SEE परीक्षा र अन्य कक्षका परीक्षामा परीक्षा प्रणालीलाई व्यवस्थित गर्न कहाँ सकिएको छ र आखिर प्रश्नपत्रहरु कोर्सबुकबाट नै सोध्ने गरिन्छ केवल परीक्षामा अङ्क प्राप्त गर्ने हिसाबले मात्र। अहिलेको यो परीक्षा प्रणालीलाई व्यवस्थित नगरेसम्म हामीले जतिसुकै जीवनयोगी कामहरू गरे पनि यसबाट कुनै प्रतिफल प्राप्त गर्ने देखिँदैन।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *