कर्फ्युले थुनेको सहर, नथुनेको सपना

समय कहिलेकाहीँ यस्तो मोडमा आइपुग्छ, जहाँ जीवनको सामान्य गति रोकिएर कर्फ्यु र निषेधाज्ञाको कालो छायामा पर्छ। घरभित्रै बन्दी जीवनमा बस्नुपर्ने बाध्यता आइपर्छ। यी शब्दहरूले कानुन र व्यवस्थाको अवस्थालाई मात्रै जनाउँदैनन्, बरु एक समाजको गहिरो पीडा, भय र मौनतालाई पनि दर्शाउँछन्।

कर्फ्यु र निषेधाज्ञा हुँदा सडकहरू सुनसान हुन्छन्। चराहरूको चिरबिर आवाज, गाडी र मानिसहरूको चहलपहल तथा कलकारखानाको कोलाहल पूर्ण रूपमा बन्द हुन्छ। यो सन्नाटा एक किसिमको अनौठो सन्नाटा हो, जसभित्र कहालीलाग्दो कोलाहल लुकेको हुन्छ। यो मौनताले मनमा डर र बेचैनी पैदा गर्छ। घरको चार भित्ताभित्र थुनिएका मानिसहरूका मनमा अनेकौँ प्रश्न उठ्छन्– ‘के भइरहेको छ? किन भइरहेको छ?’

निषेधाज्ञाले हाम्रो स्वतन्त्रतालाई खोस्छ, जबकि कर्फ्युले हाम्रो जीवनलाई नै रोकिदिन्छ। यी दुवैले हामीलाई घरभित्र बस्न बाध्य बनाउँछन्, तर घरभित्रको मन भने बाहिरको संसारमा के भइरहेको छ भन्ने कुरामा छटपटाइरहेको हुन्छ। टेलिभिजनमा आउने खबरहरूले मनमा त्रास फैलाउँछन्। सामाजिक सञ्जालमा फैलिएका अफवाहहरूले मनलाई झनै बेचैन बनाउँछन्।

तर, यो मौनता डर र त्रासको मात्रै हुँदैन। यो एक सोचाइ र चिन्तनको समय पनि हो। हामीसँग आफैँलाई र आफ्नो समाजलाई प्रश्न गर्ने समय हुन्छ। ‘किन यो अवस्था आयो? कसले गल्ती गर्‍यो? के हामीले यसलाई रोक्न सक्थ्यौँ?’ यी प्रश्नहरूले हामीलाई हाम्रो समाजको गल्ती र कमजोरीहरूलाई बुझ्न मद्दत गर्छन्।

अन्तमा, कर्फ्यु र निषेधाज्ञाले हाम्रो जीवनमा एक विराम त लगाउँछ, तर यसले हामीलाई सधैँका लागि रोक्दैन। जब यो समय सकिन्छ, सडकमा फेरि मानिसहरूको चहलपहल सुरु हुन्छ, तर त्यसपछि मानिसहरूको मनमा एउटा गहिरो छाप छोडिएको हुन्छ। यसले हामीलाई शान्ति, स्वतन्त्रता र सुरक्षा कति महत्त्वपूर्ण छ भन्ने कुरा सिकाउँछ। हामीले यसलाई कायम राख्न सक्नुपर्छ।

कर्फ्यु र निषेधाज्ञापश्चात् सडक सुनसान भए र पसलका सटरहरू बन्द भए। गाडीका पाङ्ग्राहरू रोकिए। मानिसका पाइलाहरू घरभित्रै कैद भए। यो कुनै प्राकृतिक विपत्तिको दृश्य होइन, न त कुनै भयानक सन्नाटाको। यो त कर्फ्यु र निषेधाज्ञाको विडम्बनापूर्ण तस्बिर थियो– गत भाद्र २४ गतेदेखि २७ गतेसम्म। २३ र २४ गते परिवर्तनका पक्षधर ‘जेन जी आन्दोलन’का क्रममा अकल्पनीय घटना घटित भयो। जहाँ विद्यार्थीको टाउको र छाती ताकेर प्रशासनले सडकमा रगतको खोला बगायो।

मौका हेरिरहेका घुसपैठियाहरूले ऐनमौकामा सार्वजनिक सम्पत्ति र नेताहरूका घर खोजी-खोजी खरानी बनाइदिए। सत्ता परिवर्तनसँगै देशको आकाश कालोमुस्लो धुवाँमा मडारियो। सङ्घर्ष अझ चर्किन र आन्दोलनले अझ बढी धनजनको क्षति नगर्न ‘कर्फ्यु र निषेधाज्ञा’ जारी गरियो। तर समय घर्किसकेपछि अर्थात् नजल्नुपर्ने सम्पदा र सम्पत्ति जलेर खरानी भइसकेपछिको कर्फ्यु र निषेधाज्ञा केवल मानिसलाई घरमै कैद गर्न सीमित रह्यो।

‘कर्फ्यु’ शब्दले कानेखुसी गरेर होइन, आदेशको स्वरमा बोल्छ। यसले हामीलाई घरभित्र बस्न र बाहिरको संसारबाट अलग रहन बाध्य पार्छ। यो एक अदृश्य पर्खाल हो, जसले हाम्रो स्वतन्त्रतालाई घेरा हाल्छ। पर्खाल खडा हुन्छ, सहरको चहलपहल रोकिन्छ, चराचुरुङ्गीको चिरबिर आवाज पनि मधुरो सुनिन्छ र मानिसको हृदयमा एक प्रकारको भय र उदासी भरिन्छ।

निषेधाज्ञा, कर्फ्युभन्दा केही कम कठोर भए पनि, यसको उद्देश्य पनि मानिसलाई नियन्त्रण गर्नु हो। यसले हाम्रो दैनिकीलाई ठप्प पारिदिन्छ। यसले हामीलाई हाम्रो काम, हाम्रो सपना र हाम्रा आवश्यकताहरूबाट टाढा राख्छ।

के कर्फ्यु र निषेधाज्ञा सुरक्षाका लागि लगाइने नियमहरू मात्र हुन्? या यी मानिसहरूका हृदयमा छोडिएका अमिट घाउ पनि हुन्? जब सहरमा यो अवस्था आउँछ, तब यो भौतिक बन्द मात्र हुँदैन, यो हाम्रो आपसी विश्वास र सद्भावको बन्द पनि हो। हामी एकअर्कासँग जोडिएका छैनौँ। हामी एक्लो छौँ।

यस्ता समयमा हामीले के महसुस गर्छौं? घरभित्रै थुनिएर हामी आफ्नो अस्तित्व र स्वतन्त्रतामाथि प्रश्न गर्न थाल्छौँ। सडकको खालीपनले हामीलाई हाम्रो विगतको सम्झना दिलाउँछ। हिजो हामी खुलेर हिँड्थ्यौँ, हास्थ्यौँ, बोल्थ्यौँ। तर आज हामी एक प्रकारको अदृश्य जेलमा छौँ।

कर्फ्यु र निषेधाज्ञा हामीलाई हाम्रो स्वतन्त्रताको महत्त्व सम्झाउने एउटा कठोर पाठ पनि हो। हामीलाई थाहा हुन्छ कि स्वतन्त्रता कति महत्त्वपूर्ण छ। हामीलाई थाहा हुन्छ कि सानो कुरा, जस्तै घरबाहिर निस्केर साथीलाई भेट्नु, कति ठूलो खुसी हो।

यो एउटा यस्तो अवस्था हो, जहाँ हामी हाम्रो अस्तित्वको महत्त्व बुझ्छौँ। यो एक यस्तो समय हो, जहाँ हामी हाम्रो स्वतन्त्रतालाई फेरि प्राप्त गर्ने सपना देख्छौँ। लाग्छ, कर्फ्यु र निषेधाज्ञाले हामीलाई हाम्रो स्वतन्त्रताको कदर गर्न सिकाउँछ। हुलदङ्गा नगर्न सचेत गराउँदै घरभित्रै कैद गराएर हुन सक्ने अप्रिय घटनामा सामेल हुन रोक लगाउँछ।

कर्फ्यु र निषेधाज्ञा आदेश मात्र होइनन्, यी हाम्रो हृदयमा बसेका भय र आशाका प्रतीक पनि हुन्। यो हाम्रो स्वतन्त्रताको लागि एउटा सङ्घर्ष हो, जहाँ हामी हाम्रो अधिकार, स्वतन्त्रता र मानव अस्तित्वको बारेमा सोच्न थाल्छौँ। हुन त, गाडी गुड्ने र मान्छे हिँड्ने सडकमा सैनिक बुटको आवाज गुञ्जिन्छ– त्यो आवाज, जसले जीवनलाई होइन, त्रासलाई जन्माउँछ।

किनभने ‘कर्फ्यु’ शब्द उच्चारण गर्दा नै एउटा कठोरता झल्किन्छ। मानिसलाई घरभित्र थुन्ने आदेश, चिहानझैँ मौन बनाइने ठप्प व्यापारव्यवसाय, सडक, र मनभित्र बन्धनको चक्रव्यूह।

निषेधाज्ञा– मान्छेको स्वतन्त्रतालाई अस्वीकार गर्ने अर्को नाम, जसमा हाँसो, गीत-सङ्गीत, कविता र विरोध सबै बन्द हुन्छन्। सार्वजनिक सभा, समारोह गर्नुको औचित्य रहँदैन, गर्न पाइँदैन।

तर, के साँच्चै सडक बन्द हुँदा मन पनि बन्द हुन्छ? के कुनै आवाजलाई दबाउन सकिन्छ? के निषेधाज्ञाले सपनाको बाटो काट्न सक्छ?

कदापि पनि सकिँदैन। मनका बोली बन्द गर्न सकिँदैन। लेख्ने बानीलाई बन्द गर्न सकिँदैन। मात्र हिँड्ने क्रम रोकिएको छ। भेट्न र भेला हुने कार्यक्रम बन्द गरिएको छ।

वास्तवमा मान्छे थुनिन्छ, तर उसको कल्पना उड्छ। हात रोकिन्छ, तर उसका विचारहरू ताला बन्द अवस्थामा बस्न सक्दैनन्। कर्फ्युमा पनि मान्छे झ्यालभित्रबाट तारामण्डल हेर्छ र भन्छ– ‘स्वतन्त्रता आकाशमा अझै चम्किरहेछ। तर हाम्रो प्यारो धरतीमा रगतको खोला बगेको र खरानीको थुप्रो मात्रै छ। जहाँ आमाको बलिन्द्र धारा आँसु र परिवर्तनको कठोर सत्य उद्घाटित हुने तर्खरमा हुन्छ।’

निषेधाज्ञाले भाषण रोक्छ, तर मौनका भित्तामा करुणाका शब्दहरू आफैँ अङ्कुरिन्छन्। कर्फ्यु र निषेधाज्ञा त क्षणिक छायाँ हुन्, तर स्वतन्त्रता सूर्य हो– जसलाई सधैँ उदाउनै पर्छ।

मौन सहरभित्र कतै न कतै एउटा गीत अझै बजिरहेको हुन्छ, कसैको कलम अझै चुपचाप कापीमा दौडिरहेको हुन्छ, कसैको आँखा अझै भविष्यको उज्यालो खोजिरहेको हुन्छ। कर्फ्यु र निषेधाज्ञाले शरीरलाई थुन्यो तर आत्मालाई थुन्न सकेन, कहिल्यै सक्दैन। किनभने आत्मा साँच्चै स्वतन्त्र छ, त्यो त कुनै आदेशले बन्द गर्न नसक्ने मानवताको शाश्वत सम्पत्ति हो।


प्रतिक्रिया

One thought on “कर्फ्युले थुनेको सहर, नथुनेको सपना

Leave a Reply

Your email address will not be published. Required fields are marked *