सुनसरीमा ट्रकसँग बस ठोक्किँदा दुई जनाको मृत्यु, २१ घाइते

सुनसरी। पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, पुलचोकमा बिहीबार बिहान भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ। २१ जना घाइते भएका छन्।

बिहान करिब ९ः३० बजे तीव्र गतिमा पूर्वतर्फ गइरहेको प्रदेश १–०२–००२ ख ०९४९ नम्बरको बसले सडकछेउमा बिग्रिएर रोकिराखिएको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा अन्दाजी ४० वर्षीय एक पुरुष र अन्दाजी ४५ वर्षीया एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार पुरुषको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा र महिलाको ग्लोबल कार्डियो एन्ड न्युरो अस्पताल भोक्राहामा मृत्यु भएको हो। उनीहरूको सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका २१ जनामध्ये अधिकांश सप्तरी र सिराहाका छन्। उनीहरूको इनरुवास्थित जिल्ला अस्पताल र भोक्राहास्थित ग्लोबल कार्डियो एन्ड न्युरो अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला अस्पताल इनरुवामा सप्तरी रुपनी नगरपालिका–९ का २५ वर्षीय प्रकाश सरदार र उनकी पत्नी पुनम, सप्तरीकै खडक नगरपालिका–५ की करिब ५० वर्षीया ज्ञानदेवी चौधरी, सिराहाको धनगढीमाई नगरपालिका–३ की ५२ वर्षीया बानेश्वरीदेवी चौधरी, ३५ वर्षीया केशीदेवी चौधरी, धनगढीमाई–१ की ५५ वर्षीया शान्तिदेवी चौधरीको उपचार भइरहेको छ ।

त्यस्तै, सप्तरी खडकका ४० वर्षीय दिनेशकुमार चौधरी, ३६ वर्षीया चन्द्रिका चौधरी, सिराहाको लहान–१ का ५० वर्षीय प्रभानन्द चौधरी र सप्तरी सुरुङ्गा गरपालिका–९ का ३६ वर्षीय पुरुषोत्तम चौधरीको उपचार भइरहेको छ ।

ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा सप्तरी कञ्चनपुर–११ की ४५ वर्षीया मञ्जु चौधरी, सिराहा लहान–२३ का ५५ वर्षीय सुखदेव साह, कञ्चनपुरका ५० वर्षीय सत्यनारायण राम, सप्तरी सुरुङ्गा–७ की ४० वर्षीया परमेश्वरीदेवी राम र छोरा २० वर्षीय श्रवणकुमार रामको उपचार भइरहेको छ ।

त्यस्तै, सोही अस्पतालमा सिराहाको लहान–९ का ५५ वर्षीय लोचन पासवान, सप्तरी सुरुङ्गा–७ की ३५ वर्षीया सैरुल खातुन, सिराहा लहान–११ का ४२ वर्षीय शिवितराम चौधरी, सिराहा लहान–७ का ४४ वर्षीय सन्तोषकुमार मण्डलको उपचार भइरहेको छ । उपचाररत २ जनाको नाम खुल्न बाँकी रहेको डीएसपी खतिवडाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *