क्यानाडामा दुई जना नेपाली युवक मृत भेटिए

अन्टारियो। नेपालमा ‘जेन-जी’ समूहले बेथितिविरुद्ध परिवर्तनको माग गर्दै आन्दोलन गरिरहेका बेला क्यानाडामा भने सोही उमेर समूहका दुई नेपाली विद्यार्थीले आत्महत्या गरेका छन्।

उच्च शिक्षा हासिल गर्न क्यानाडा आएका ती दुई विद्यार्थीको यो आत्मघाती कदमले उनीहरूका परिवार र आफन्तजन मात्र नभई क्यानाडामा रहेका नेपाली समुदायसमेत दुःखी बनेका छन्।

फरक-फरक समयमा क्यानाडा आएका र फरक-फरक प्रान्तका कलेजमा अध्ययन गरिरहेका ती दुई छात्रले गत साता आत्महत्या गरेका हुन्।

तीमध्ये एक जनाको शव नेपाल पठाउने र अर्का एक जनाको यतै अन्त्येष्टि गर्ने तयारी भइरहेको छ। यद्यपि, यसको अन्तिम टुङ्गो लागिसकेको छैन।

एनआरएनए क्यानाडाका अनुसार, नवलपरासीबाट अन्टारियो प्रान्त आएर असोवाको एक सार्वजनिक कलेजमा अध्ययनरत एक छात्रले सेप्टेम्बर ६ मा आत्महत्या गरेका हुन्। अघिल्लो वर्ष क्यानाडा आएका उनको उमेर २० वर्ष थियो।

“ती विद्यार्थीले एउटा अपार्टमेन्टको आठौँ तलाको झ्यालबाट हामफालेर ज्यान लिएको बुझिएको छ,” एनआरएनए क्यानाडाका एक पदाधिकारीले भने, “घटना एकदमै दुःखद् र हृदयविदारक थियो।”

उनको शव अहिले एउटा फ्युनरल होममा राखिएको छ। यस्तै, बागमती प्रदेशबाट अल्बर्टाको एडमन्टन आएर एउटा कलेजमा अध्ययन गरिरहेका अर्का एक छात्रले पनि आत्महत्या गरेका छन्। उनको मृत शरीर कलेज परिसरमै भेटिएको थियो।

दुई वर्षअघि त्यहाँ आएका उनले सुरुमा ‘लाइन कुक’ को काम गरेर पछिल्ला दिनमा कम्प्युटर प्राविधिकका रूपमा काम गरिरहेको जनाइएको छ।

अभिभावक, कलेज प्रशासन, अस्पताल, बिमा र फ्युनरल होमसँग समन्वय भइरहेको र छात्रको शव यतै अन्त्येष्टि गर्ने तयारी भइरहेको एनआरएनए क्यानाडाले जनाएको छ।

कामसँगै पढाइलाई निरन्तरता दिनुपर्ने चुनौती र स्थायी बसोबासका लागि गर्नुपर्ने सङ्घर्षले नेपाली जेन-जी क्यानाडामा दबाबमा रहन्छन्। यस्तो अवस्थामा उनीहरूको मानसिक अवस्था बुझेर ढाडस दिने नजिकमा कोही नहुँदा आत्महत्याका घटना हुँदै आएका छन्।

पढाइ र कमाइ अपेक्षाकृत राम्रो नभएर कुलतमा फस्ने अर्को प्रवृत्ति पनि छ। त्यसरी आफूलाई गलत बाटोमा पुर्‍याइ विचलित भएर क्यानाडामा यसअघि पनि केही नेपाली विद्यार्थीले आत्महत्या गरेका थिए।

कोभिड-१९ महामारीलगत्तै क्यानाडा नेपाली विद्यार्थीहरूको रोजाइमा परेको थियो। गत वर्षदेखि आप्रवासन प्रक्रियामा केही कडाइ गरिएकाले नेपाली विद्यार्थीहरूको आगमन दर घटेको छ।

नेपाल टच बाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *