तिमी आउनु
तिमी आउनु सगरको बाटो
घाम-जुनलाई पछ्याउँदै-पछ्याउँदै आउनु
म पर्खिरहने छु
त्यही बादलको चौतारोमा।
बादल फाटेछ भने
म चन्द्रमासम्म लिन आउँला
घामको किरण चढेर
तिमी बसिरहनू क्रेटरको डिलमा।
भुइँकुहिरोले मेरो गाउँ छोप्दा
सगरमाथाको चुचुरोमा आउनु
र, सोध्नू फक्ताङ्लुङलाई
भारेडाँडा कतातिर पर्छ भनेर
र, ‘गुगल’ गर्नु टारीको याक्सालाई।
अब गाउँमा
बरपीपलले ओत दिएका चौताराहरू छैनन्
मनको बह पोख्ने मेलापात छैनन्
दुःखमा मलम भर्ने पँधेरीहरू रहेनन्
‘मेगा’ र ‘गेगाबाइट’को खुराक लिएर
फिजारिएका सञ्जालहरूको
जञ्जालमा जेलिएका छन् मान्छेहरू
तिमीले नचिन्न सक्छौ आफ्नाहरू
उतैबाट ‘भाइरल’ बनाउनु तिम्रो हुलिया
र, खुट्याउन सकून् तिमीलाई
तिम्रा बा-आमाहरूले।
तिमी आउनु एकफेर
सम्झनाका पखेटाहरूमा उडेर
मान्छेलाई मान्छेसँग चिनाउन आउनु
उधारिएका मनहरू जोड्ने गरी
एउटा आत्मा लिएर आउनु
‘स्क्रिन’मा चम्किएका अनुहारहरू
आँगनमा भेट्दा पराईझैँ लाग्न थालेका छन्
त्यसैले,
तिमी आउनु उहीँ फलैँचामा
म पर्खिरहने छु
अङ्गालो मारेर सम्झनाका कुराहरू गर्नलाई।
देश दुखेका बेला
तिम्रो झन् धेरै खाँचो छ
बुद्धको घर सम्झिएर आउनु
माटोको भर लिएर आउनु
बादलका पहाडहरू नाघेर आउनु
म पर्खिरहने छु
तिमी खेलेका आँगनहरूमा
मेरो ‘भर्चुअल’ साथी !
* * *
आवरण तस्बिरः मनिषा राना मगर
