विराटनगरको भाटभटेनीमा पनि भेटियो जलेको मानव कंकाल

विराटनगर। जेन-जी आन्दोलनका क्रममा आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपर मार्केटमा जलेको अवस्थामा एक मानव कंकाल भेटिएको छ।

गत भदौ २४ गते अराजक समूहले गरेको आगजनीपछि जलेर नष्ट भएको भाटभटेनीको सरसफाइ गर्ने क्रममा सोमबार दिउँसो कंकाल फेला परेको हो।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार पूर्णरूपले जलेकाले पुरुष हो कि महिला भनेर छुट्याउन सकिएको छैन। पहिचानका लागि कोशी अस्पताल पठाइएको छ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार, आगजनी र लुटपाटको समयमा सामान चोरी गर्न गएको व्यक्तिको आगोमा परेर मृत्यु भएको हुन सक्छ।

यसअघि धरानको भाटभटेनीमा चार जनाको शव फेला परेको थियो। जेन–जी आन्दोलनका नाममा विराटनगर, धरान, दमक र बिर्तामोडलगायतका शहरमा रहेका भाटभटेनीका शाखामा आगजनी र तोडफोड गरिएको थियो।


प्रतिक्रिया

One thought on “विराटनगरको भाटभटेनीमा पनि भेटियो जलेको मानव कंकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *