नयाँ अध्यायः चार सदस्यीय बन्यो अन्तरिम सरकार
काठमाडौँ। देशलाई राजनीतिक संक्रमणकालबाट पार लगाउन र ‘जेन-जी’ आन्दोलनले उठाएका मुद्दालाई सम्बोधन गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चार सदस्यीय अन्तरिम सरकार गठन भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार शीतल निवासमा आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री कार्कीको सिफारिसमा तीन जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
यससँगै सरकारले पूर्णता पाएको छ। मन्त्रीहरूले पदभार ग्रहण गरी काम सुरु गरिसकेका छन्।
नवनियुक्त मन्त्रीहरूमा पूर्वअर्थ सचिव रामेश्वर खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। त्यस्तै, लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।
अधिवक्ता ओमप्रकाश अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यो नयाँ सरकार गठनसँगै देशमा स्थिरता र सुशासनको अपेक्षा गरिएको छ। खनाल, घिसिङ र अर्यालजस्ता विज्ञहरूको नेतृत्वमा सरकारले जनताका अपेक्षा पूरा गर्ने र राष्ट्रलाई सही दिशामा लैजाने विश्वास गरिएको छ।
यो सरकार ‘जेन–जी’ आन्दोलनका भावना र आवाजलाई प्रतिनिधित्व गर्ने र त्यसलाई कार्यान्वयन गर्ने दिशामा पहिलो कदम भएको मानिएको छ।
