नेपाल आमाको चित्कार : जेन-जी विद्रोह र सामूहिक जिम्मेवारी
नेपाल आमाले नयाँ काँचुली फेर्ने सपना देख्दै वात्सल्यका बलिदान रगतसँगै धुरुधुरु रोएकी छिन्। सामाजिक सञ्जालमा आएको समाचारले मेरो मन एक्कासि आत्तियो। जेन-जी को हुन्, उनीहरूको माग के हो र किन यस्तो भयो भन्ने प्रश्नले म आफैसँग सवाल गर्न थालेँ। यो आजसम्म नसुनेको कुनै फिल्मको दृश्यजस्तो लाग्दै गर्दा मनमा थुप्रै प्रश्नहरू उठे– यो आन्दोलनको तयारी कहिलेदेखि भएको थियो? यसको गन्तव्य कहाँसम्म थियो? यसमा को-को थिए?
मेरो दिमाग घुमिरहेको छ, निदाउने फुर्सद छैन। बंगलादेश र इन्डोनेसियामा भएको युवा आन्दोलनभन्दा बिल्कुलै फरक विद्रोह नेपालमा कसरी भयो होला? भदौ २३ गतेको घटनापछि जेन-जीप्रति किन यति धेरै सहानुभूति आयो? नेपाली मानसिकता बुझ्ने त्यो अदृश्य रणनीतिकार को थियो? तर आन्दोलनको पहिलो दिनमै प्रशासनले किन धैर्य गुमायो र निहत्थामाथि सिमाना नाघेर दमन गर्यो? गोली नै चलाउनुपरेको भए पनि किन टाउको र छातीमा हानियो? यो त सामान्य नियमको विपरीत हो।
सयौँ प्रश्नहरूले मेरो मनमा दुई-तीन दिनसम्म निरन्तर खेल्ने मौका पाए। आज मनलाई अलि सन्तुलित बनाएपछि मैले पनि एउटा लेख लेख्नैपर्छ भन्ने सोचेर कलम चलाउँदै छु। यो लेखमा लेखिएका कुरा प्रमाणित तथ्य होइनन्। सात समुद्रपारिबाट मेरो मनमा गुन्जिएको मातृभूमिको चित्कारलाई कलमको सहाराले अभिव्यक्त गर्दै छु, एक लाचार परदेशी नेपालीले।
सामाजिक सञ्जालमा बहस र बन्दको निर्णय
करिब एक हप्तादेखि सामाजिक सञ्जालमा चर्को बहस चलिरहेको थियो। लोकतन्त्रमा छाडातन्त्र मौलाएको जस्तो लाग्यो। मेरो व्यवसायका केही आधार सामाजिक सञ्जालमा निर्भर भए पनि म व्यक्तिगत रूपमा यसको लत कम गर्दै थिएँ। हरेक हप्ता छुट्टीको दिन बाआमासँग मेसेन्जरमा भिडियो कुराकानी गर्ने मेरो बानी थियो। एकदिन साँझ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयले मलाई चकित बनायो। यो गलत निर्णय त होइन? यदि गर्नैपरे यसका राम्रा-नराम्रा परिणाम आउन सक्छन्, सरकार सचेत होला भन्दै मैले एक पोस्ट गरेँ।
भोलिपल्ट साँझसम्म सामाजिक सञ्जाल बन्द भइसकेको थियो। मैले हेर्ने फेसबुक र युट्युबमा नकारात्मक प्रतिक्रियाको बाढी नै आएको थियो। हिजो टिकटक बन्द हुँदा पनि यस्तै विरोध भएको थियो। फरक यति हो कि हिजो टिकटक बन्द गर्नुपर्छ भन्नेहरू आज सामाजिक सञ्जाल खुलाउनुपर्छ भन्दै वकालत गर्दै थिए भने, हिजो टिकटकको पक्षमा बोल्नेहरू आज सामाजिक सञ्जाल बन्द गर्नुपर्छ भन्ने पक्षमा थिए। यसले नेपाली समाजलाई सामाजिक सञ्जालमा पनि विभाजित गराएको थियो, जुन पक्कै पनि राजनीतिक पार्टीहरूको प्रभावमा परेको भाषाशैली थियो।
बर्बरताको चित्कार र हाम्रो मौनता
परदेशमा बिहान छिप्पिँदै थियो। फेसबुक हेरेको त जिन्दगीमा कहिल्यै नदेखेको दृश्य देख्न पुगेछु। मेरो शरीरमा पसिना छुट्यो। एकपछि अर्को गर्दै १२, १९, २१ जना बालबालिकाहरू गोली लागेर ढले! सबै मृतक जोड्दा ५१ पुगेछन्।
यो बर्बरताको समाचार सुन्दा कसका बाबु-आमाको मन थामिएला र? हाम्रा पनि छोराछोरी जेन-जी पुस्ताकै त हुन्। ती बालबालिकाहरूलाई आफ्ना छोराछोरी समान मान्दा कसका आँसु नझर्लान् र? यो पीडा कुनै आमाको पहिलो प्रसव पीडाजस्तै थियो।
भदौ २३ को दर्दनाक घटनापछि २४ गते पीडितहरू सडकमा थपिए। “मेरो देश नेपाल जलिरहेको थियो।” घरि यता, घरि उता गर्दै हाम्रा मान, सान, सभ्यता र भौतिक संरचना ढल्दै थिए। म एक लाचार परदेशी, आफ्नो फोन अगाडि दिनभरि र रातभरि रोएर बस्नुबाहेक कुनै विकल्प थिएन।
भदौ २४ गते राति १० बजे सेना अगाडि आयो भन्ने सुनियो। अब हत्या, हिंसा र आगजनी नहोला भन्नेमा मन ढुक्क भयो। तर पनि मेरो पुरानो मनोविज्ञान ब्यूँझँदै थियो। के यो राजतन्त्र फर्काउने खेल त होइन भन्ने अर्को चिन्ताले मनलाई सतायो।
प्रकृति नियमअनुसार जुनसुकै विपत्तिमा पनि पहिलो प्राथमिकता मानिसको जीवन बचाउनु हो। त्यसपछि मात्र राज्य, धन, सम्पत्ति र संस्कृति जोगाउने कुरा आउँछ। यसमा सायद कसैको दुईमत छैन। राजनीतिक दल, संघ-संस्था, आन्दोलनकारी र राज्यको दायित्वका विषयमा पछि कुरा गरौँला, तर मध्यरातमा सेनाको गतिविधिले २४ गते राति मेरो मनमा राजतन्त्र फर्कने पिरलो बढाएको थियो।
जेन-जी विद्रोहको मनोविज्ञान
मिडियामा संविधानको संरक्षण गर्नुपर्छ र संसद विघटन हुनुहुँदैन भन्ने कुरा उठ्यो। यसै सिलसिलामा संविधान जोगाउँदै नयाँ प्रधानमन्त्री चयन गर्ने र उनले संसद विघटन गर्ने परिस्थिति अगाडि बढ्यो। देशले पहिलो महिला प्रधानमन्त्री पनि पायो। उहाँले जेन-जीका मृतकहरूलाई सहिद घोषणा गर्ने र घाइतेहरूको उपचार गर्ने प्राथमिकतामा राख्नुभयो।
आज हाम्रो देशमा कस्तो नजिर बसेको छ? हामी नेपालीहरू बुझेरभन्दा पनि मनोवैज्ञानिक रूपमा विभाजित भएका छौँ। राजनीतिक घटनाक्रम भइरहन्छन्। ताजा जनादेशमा जान पाउनु लोकतन्त्रको अधिकार हो। २०७७ सालमा चरम असन्तुष्टिका कारण सरकारले काम गर्न नसकेपछि ओली सरकारले संसद विघटन गरेर ताजा जनादेशमा जान खोज्दा अदालतले रोक्यो। एउटा पार्टी फुटाउन अध्यादेश प्रयोग गरेर राजनीतिक द्वन्द्वको बीजारोपण गरियो। यसले नै देशमा निर्णायक अस्थिरताको कारक बन्यो। इतिहासले यसलाई कहिल्यै माफ गर्नेछैन।
हाम्रो देशमा समस्या बढ्दै जानुको कारण यहीँबाट सुरु भएको हो। इमानदार नेता-कार्यकर्ता आफ्नो पार्टीको इज्जत र देशको सुरक्षाका लागि लडिरहेका थिए, तर माथिका नेताहरू म्युजिकल चेयरमा मस्त देखिन्थे। सबैलाई आफ्नो स्वार्थ समूहका कुरा सुन्नुबाहेक देश र जनताको आवाज सुन्ने फुर्सद थिएन।
के यसको जिम्मेवारी राजनीतिक पार्टीहरूले, न्यायालयले, बौद्धिक वर्गले लिनुपर्ने होइन? सहकारीको घटनामा जनताले एक व्यक्तिमाथि किन यति धेरै चासो दिएको होला? यसको पछाडि पर्याप्त जवाफ नपाएर पैदा भएको मनोविज्ञान हो। रवि लामिछानेमाथि मिश्रित बहस छ, तर मेरो भनाइ जनताको मनोविज्ञानबारे हो।
पुरानो कुरा कोट्याएर बदलाको भावले नकारात्मक हुन आवश्यक छैन। सबै पार्टीले आफ्नो भूल सुधारेर आउनुको विकल्प छैन। दोस्रो पुस्ताका नेताहरू अगाडि आउने सङ्केत सकारात्मक छ। आशावादी बनौँ, किनकि सत्यलाई दबाएर भविष्य उज्ज्वल हुँदैन। सत्य र तथ्यको बाटो नै भरपर्दो छोटो बाटो हो। जेन-जीसहित सबैले यो कुरा मनन गर्नुपर्छ।
प्रविधि र पुस्ताको द्वन्द्व
आजका बालबालिकालाई अभिभावकले ‘बिग्रिए’ भन्दै दोष दिन्छन्, तर वास्तविकता फरक छ। धेरै केटाकेटीहरू डिजिटल प्लेटफर्ममार्फत प्रतिस्पर्धामा उत्रँदै थिए। अनावश्यक पोस्टमा रङ्गिएर बस्ने फुर्सद उनीहरूसँग थिएन। वास्तवमा सामाजिक सञ्जालमा गलत कुराहरू आवश्यकभन्दा बढी देखाउने हामी नै हौँ। हामीले सामाजिक सञ्जालमा सुशासनका कुरा उठाएर र निकट भविष्यमा हुने घटनाको असरबारे नसोचीकनै खुलेआम बहस गर्यौँ।
हामीले नै पार्टीभित्रका असन्तुष्टि पनि सामाजिक सञ्जालमार्फत राख्न थाल्यौँ। हामीले नै जनतालाई सबै कुरा नाङ्गै देखायौँ। हामी सबै सुरक्षित छौँ भन्ने ठान्दै गरेको यो ठूलो भूल थियो। कुनै पनि मानव जीवनमा यति ठूलो दुर्घटनाको आकलन सायदै कसैले गरेको थिएन।
बालबालिकाले त त्यही सामाजिक सञ्जालमा आफ्नो भविष्य र प्रतिस्पर्धात्मक उपलब्धि देखेका थिए। तर कोरोनापछि सामाजिक सञ्जाल यसरी बिग्रियो कि रुने, कराउने, नाङ्ग्गिने, अन्याय-न्याय सबै त्यहीँ हुने भयो। यो एक प्रकारको डिजिटल महाभारत युद्ध नै हो।
वास्तवमा जेन-जी सामाजिक सञ्जालको सिकार भएका होइनन्। सिकार त हामी सबै भएका थियौँ। जेन-जीले त यही सामाजिक सञ्जालमार्फत हाम्रो समाजको शल्यक्रिया मात्र गरेका हुन्। हामीले यसरी पनि सोच्न जरुरी छ।
यो समस्या नेपालको मात्र नभई संसारकै साझा हो। धनी र चेतनशील देशहरूमा डिजिटल वर्ग विभेद छ भने हामीजस्ता गरिब मुलुकमा यो अझ फरक छ। म पनि वर्ग विभेद हुनुहुँदैन भन्दै ३०-३४ वर्षअघिदेखि नै राजनीतिक झुकावमा लागेको मान्छे हुँ। हरेक मानिसमा वर्ग चेतना हुन्छ। यो आज, भोलि वा सधैँ रहिरहनेछ।
हाम्रो सामूहिक जिम्मेवारी
जेन-जीको विद्रोह र यसको मनोविज्ञानलाई हामीले बुझ्न सकेनौँ। उनीहरूको माग सानो थियो– सामाजिक सञ्जाल बन्द नगर, भ्रष्टाचारमाथि दण्ड देउ, सुशासन कायम गर, युवाहरूलाई देशमै रोजगारीको अवसर देउ। हामीले उनीहरूको चाहनाविपरीत उनीहरूलाई लल्कार्यौँ।
आजको मेरो बुझाइले भन्छ, हामी सबै नेपालीले एकअर्काको अस्तित्व स्वीकार गर्न सिक्नुपर्छ। लोकतन्त्रमा पार्टीहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। हामी यो दुःखद उपलब्धिलाई नयाँ अवसरको रूपमा लिन सक्यौँ भने कम्तीमा १० वर्षमा नष्ट भएका भौतिक संरचना र रोजगारीको सिर्जना गर्न सकिएला।
तर हामी नेपाली त्यस्तो बन्न सक्छौँ? हामीलाई त धेरै राजनीति गर्न र ठूला-ठूला आदर्शका कुरा गर्न फुर्सद छ। यो पनि भएन, त्यो पनि भएन भन्दै अनावश्यक रस्साकस्सीमा रमाउने बानी छ। यस्तो मानसिकताले जेन-जीको यो आन्दोलन पनि छिट्टै सेलाउन सक्छ।
हामीले इतिहासबाट पाठ सिक्नुपर्छ। हिजो हामी जहाँ थियौँ, आज जेन-जीको सोच त्यहाँ आएको छ। उनीहरूको आवाज बन्द गर्न खोज्दा आजको परिणाम आएको हो। हाम्रो कमजोरीको परिणाम हो यो।
यो दुःखद परिस्थितिमा ज्यान गुमाउने सहिदहरूमा हार्दिक श्रद्धाञ्जलि, परिवारजनमा गहिरो समवेदना। सम्पूर्ण आमा, बुवा, दाजुभाइ, दिदीबहिनी, छोराछोरी, साथीभाइ, आफन्त तथा आम नेपाली, व्यवसायी, राजनीतिज्ञ र सुरक्षाकर्मी सबै पीडामा छौँ। यो पीडालाई सबैले हृदयदेखि महसुस गरौँ। धैर्य गरौँ।
दुःखलाई सुखमा बदल्न सामूहिक सङ्कल्प गरौँ। जेन-जीको जोस, योगदान र बलिदानलाई स्वीकार गर्दै संरक्षण गरौँ। योभन्दा अझ उच्च लोकतन्त्रको अभियान जारी राखौँ।
