सरकारी संस्थामा आगो लगाउनेलाई कारबाही : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका अत्यावश्यक सरकारी संस्थाहरूमा योजनाबद्ध तरिकाले आगजनी भएकोमा दुःख व्यक्त गरेकी छन्।
सिंहदरबारमा आइतबार पदभार ग्रहण गरेपछि आयोजित कार्यक्रममा बोल्दै उनले सुरक्षा निकाय, अदालत र प्रशासनिक भवनहरूमा आगजनी हुँदा महत्त्वपूर्ण कागजातहरू नष्ट भएको बताइन्।
प्रधानमन्त्री कार्कीले यस्तो घटना देखेर आफूलाई लाज लागेको भन्दै भनिन्, ‘नेपाली भएर कसैले यस्तो काम गर्छ?’ सरकारी संस्थामा आगजनी गर्नेहरूलाई कसरी नेपाली भन्ने प्रश्न उनले गरिन्।
भौतिक क्षति मर्मत गर्न सकिए पनि नष्ट भएका महत्त्वपूर्ण दस्तावेजहरू अब कहिल्यै फिर्ता नआउने उनको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले भनिन, ‘मुलुकको अत्यन्त आवश्यक संस्थाहरुमा छानी छानी प्रहार भएको छ। प्रहरीहरू सुरक्षाको लागि अनिवार्य थिए, तिनलाई प्रहार भयो, प्रहरीको चौकी थानाहरू जले। अदालतका फाइलहरू सम्पूर्ण नष्ट भए। सिंहदरबारभित्रका पनि कयौँ त्यस्ता पुराना फाइलहरू थिए, ती नष्ट भएर गए।’
प्रधानमन्त्री कार्कीले यस्ता घटनाहरूको अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरिन्।
