अकल्पनीय दुःखद क्षणहरूबाट गुज्रँदा…
मानव सभ्यताको इतिहासमा आन्दोलन, आक्रोश, विरोध, जुलुस र नाराबाजी कुनै नौला कुरा होइनन्। यी सबै सत्ता प्राप्तिका निम्ति सरकारका विरुद्ध जनताको असन्तुष्टि र आक्रोशका अभिव्यक्ति हुन्। यी गतिविधिहरूले परिवर्तनको माग गर्छन्, जनताको आवाजलाई बुलन्द गर्छन् र न्यायको खोजीमा निस्कन्छन्। तर, विडम्बना यी सबै सत्ता र सरकारका विरुद्ध हुँदाहुँदै पनि, यसको परिणाम सधैँ देशले नै भोग्नुपर्छ। जनताले नै अकल्पनीय पीडाको चोट बेहोर्नुपर्छ र दुःखद क्षणहरूबाट गुज्रिनुपर्छ।
कालो धनको विरुद्ध मुर्दावादको नारा घन्काउँदा निहत्था विद्यार्थी गोलीले छटपटिँदै रगतको आहालमा ‘बचाऊ-बचाऊ’ को चित्कार गरिरहेको हुन्छ। यी सबै आन्दोलनहरूमा सत्ता प्राप्ति हेतु सरकारका विरुद्ध नाराबाजी त गरिन्छ, तर घाउ लाग्छ देशलाई, चोट पुग्छ देशलाई र रगत बग्छ देशकै। प्रत्येक आन्दोलन, हरेक सङ्घर्ष र सबै विरोधका आवाजहरू अन्याय सहनुको पराकाष्ठा नाघिसकेपछि सडकमा उत्रिन बाध्य हुन्छन्। जब सडकमा नारा, जुलुसको आगो बल्छ, त्यतिबेला सत्तासीनका आँखा तिर्मिराउँछन् र विद्यार्थीमाथि गोलीको निशाना बनाउँछन्। त्यसपछि कुनै नेताको घर मात्रै जलिरहेको हुँदैन, बरु देशकै सम्पत्ति खरानी भइरहेको हुन्छ। ती अकूत सम्पत्तिमाथि धावा बोल्दै ढुङ्गा र इँटा मात्र बर्सिरहेका हुँदैनन्, त्यहाँ रगत बग्छ, आगो बल्छ। त्यहाँ कुनै मन्त्री वा नेताको टाउको फुटिरहेको हुँदैन, देशकै नागरिक घाइते भइरहेका हुन्छन्।
यस्तो किन हुन्छ? के जनताले आफ्नो विवेक गुमाएका हुन्? के सरकारले आफ्नो रिस र आक्रोशको निशाना गलत ठाउँमा लगाएका हुन्? वा, के सरकारले जनताको आवाजलाई सुन्न नसकेको कारण यस्तो अवस्था आएको हो?
यो एक दुखद सत्य हो कि राजनीतिको यो खेलमा हार्ने सधैँ देश नै हुन्छ। नेताहरूले सत्ताको लागि सङ्घर्ष गर्छन् र जनताले आफ्नो अधिकारको लागि। यसैबीच, देश एक निष्क्रिय दर्शक बनेर सबै पीडा सहन बाध्य हुन्छ। इतिहासको कालखण्डमा घटित हरेक घटनाहरूमा देशले सधैँ दुःखद क्षणहरूबाट गुज्रिनुपर्छ।
यसको समाधान के हो? के हामीले सधैँ यही नियति भोगिरहनुपर्छ? सायद, हामीले बुझ्नुपर्छ कि वास्तविक परिवर्तन तब मात्र सम्भव छ जब आन्दोलनहरू विवेकपूर्ण हुन्छन्, जब आक्रोश रचनात्मक हुन्छ र जब हामी सबैले यो बुझ्छौँ कि नेताहरू आउँछन् र जान्छन्, तर देश सधैँ रहिरहन्छ। सत्ताधारीले पनि समयमै मागहरूलाई सकारात्मक रूपमा लिन्छन् र सम्बोधन गरी समाधानको मार्गप्रशस्त गरिदिन्छन्।
त्यसैले, अब हामीले यस्ता आन्दोलनको अपेक्षा गर्नुपर्छ, जसले देशलाई चोट नपुगोस्, घाउ नलागोस् र अकल्पनीय रगत नबगोस्। बरु, जसले देशलाई अझ बलियो, समृद्ध र सुन्दर बनाओस्। सबैले समान रूपले शान्ति र न्यायपूर्ण जीवन बाँच्न, हाँस्न र बोल्न सकून्।
तथापि, यतिका वर्ष धैर्य गरियो, आशा गरियो। यो आक्रोश त्यही आशा, त्यही धैर्यको पराकाष्ठा थियो। त्यही निराशाको विष्फोट थियो। यति प्रताडित जीवन हामीले बाँच्यौँ कि प्रताडना सहन नसकेर युवा पुस्ता जुर्मुराएका थिए। विद्यार्थी विचरा किताबको गह्रौँ झोला बोकेर आन्दोलनमा सहभागी थिए। तिनको आवाज उग्र थिएन। तिनको हातमा बमबारुद हुने कुरा भएन। भाँडभैलो मच्चाउने, भताभुङ्ग पार्ने तिनको उद्देश्य थिएन। देशलाई रगतको आहालमा डुबाएर सारा निराशालाई डढाएर खरानी पार्ने ध्येय पनि थिएन। यसमा दोस्रो पक्षले चलखेल गर्ने मौका पायो। देशलाई रुवायो। रक्तपात छँदै थियो सत्ता उन्मादको, त्यसमाथि आगजनीको उत्पात मच्चाएर अनावश्यक नोक्सानी व्यहोर्न बाध्य बनायो।
आजको नेपाल आँधीबेहरीबीच उभिएको छ। आकाश धमिलिएको छ, सडकहरूमा पीडाका छायाँ टाँसिएका छन्, जनताको विश्वास बारम्बार परीक्षित भइरहेको छ। कहिले राजनीतिक अस्थिरता, कहिले प्राकृतिक विपत्ति, कहिले भ्रष्टाचारको दलदल— जुनसुकै क्षणमा पनि यो देशको काँधमा दुःखको भारी थपिएको छ।
तर, विडम्बनाले हामीलाई निराश पार्दैन।
हामीले महाभूकम्प देख्यौँ, घर ढले, तर आशा ढलेन। हामीले महामारी भोग्यौँ, मानिसहरू टुटे, तर मानवता टुटेन। हामीले राजनीतिक दम्भ र निरङ्कुशताको घाउ खप्यौँ, तर स्वतन्त्रताको सपना हराएन। हामीलाई पराजित गर्ने शक्ति बाहिर होइन, भित्रैको निराशा हो।
त्यसैले हामीलाई उठ्नका लागि शक्तिशाली मन्त्र यही हो– ‘हामी फेरि उठ्नेछौँ। हामीले कहिल्यै पनि हार खाने छैनौँ। कुनै साम्राज्यका सामु हामी कहिल्यै झुकेनौँ। सधैँ सार्वभौम शक्ति राष्ट्रका रूपमा रह्यौँ। हाम्रो मातृभूमि हामीलाई प्राणभन्दा धेरै प्यारो लाग्छ।’
आज आकाशमा छरिएका कालो बादल लामो समयसम्म टिक्दैनन्। नयाँ घाम उदाउँछ। खरानीमा हराएको फूल पुनः उम्रिन्छ। यही प्रकृतिको सत्य हो, यही जीवनको प्रतीज्ञा हो। यो देशलाई बारम्बार खरानी बनाइयो, तर यो देशले बारम्बार पुनर्जन्म लिइरह्यो। कसैसामु झुकेन, कसैसँग हार मानेन।
शहीदहरूको रगतले यसलाई धानेको छ। आमाबुबाको पसिनाले यसलाई सिँचेको छ। युवाहरूको आक्रोशले यसलाई बचाएको छ। कलाकारको कल्पनाले यसलाई सजाएको छ। दुःखद क्षणहरू त केवल समयका परीक्षा हुन्, हामी कति अडान छौँ भनेर जाँच्ने। र, हामी हरेक पटक त्यसमा उत्तीर्ण भएका छौँ, उठेका छौँ, जागेका छौँ। अब त भ्रष्ट नेताहरूको पत्तासाफ भएर नयाँ आशा जन्मिँदैछ।
अन्ततः पुनः नयाँ शिराबाट नयाँ नेपालको निर्माण प्रारम्भ हुँदैछ। सडकमा उर्लिएको जनआवाज फेरि परिवर्तनको घण्टी बजाउँदैछ।
नयाँ पुस्ता प्रश्न गर्दैछन्– ‘अब हामीलाई अर्को पतन होइन, रगतको खोला बगाउनु छैन। नयाँ नेपालको निर्माणका लागि पुनर्जागरण चाहिन्छ।’
नेपाल आमा आज भलै रोइरहेकी छिन्, तर ती आँसुले आशाको बीउ सिँचिरहेका छन्। भोलि हर्षको कोपिला फक्रिएर सुन्दर, सुगन्धित फूल फुलीरहने छ। ध्वस्त भित्तामा भोलि नयाँ चित्र कोरिने छ। त्यो चित्रमा आजका पुस्ताको सपना सजिएको हुनेछ। अब थाकेका पुस्ताले होइन, उठेका, जागेका युवा पुस्ताले देशलाई अघि बढाउनेछन्। नेपाल आमाको आँसु पुछिनेछ र त्यहाँ मृदु मुस्कानको खुसी उदाउने निश्चित छ।
यसरी कैयौँ दुःखद क्षणहरू गुज्रिए। तर, हामी नेपाली फेरि उठ्नेछौँ— सुख्खा मरुभूमि तुल्य खरानीबाट हरियो जीवन पुनः झाँगिनेछ। र, समयले फेरि एकदिन घोषणा गर्नेछ— ‘यो देशले आँसुको होइन, मुस्कानको इतिहास लेख्न थालेको छ। दुःखको होइन, खुसीको कथा रच्न सुरु गरेको छ। विश्वासको धरोहर निर्माण हुन थालेको छ।’
वास्तवमा कल्पना नै गर्न नसकिने दुःखद क्षणहरू गुज्रिए। फेरि उठ्ने नेपालको प्रतीज्ञा छ। तर, समय निकै पछाडि धकेलिएको छ। अर्बौंको क्षति भएको छ। तथापि इतिहासले हामीलाई यही सिकाएको छ— जस्तोसुकै चोटमा पनि सम्हालिएर, दुःखद क्षणहरूलाई गुजारेर हामी फेरि उठ्नेछौँ। किनभने हरेक कालो रातपछि उज्यालो बिहान अवश्य आउनेछ। दुःखद क्षणहरूको अन्त्य एकदिन हुनेछ।
