तिमी हत्यारा हौ, सरकार!

हे सरकार, एकपटक आमा भएर हेर,
अनि बुझ्न सक्छौ पीडाको यो पहाड।

आफैंलाई त्यो बालक सम्झ,
अनि महसुस गर यो घाउको गहिराइ।

हामी आमाहरू,
छोराछोरीको सानो बिमारमा रातभरि निदाउन सकेनौँ।
तिमी कल्पना गर्न सक्छौ?
हामीले कसरी बितायौँ ती रात?

आँखाअगाडि ढलेका छोराछोरीहरू,
मुटु छेडेर गएका गोलीका डोबहरू।
के तिमी सोच्न सक्छौ?
हामी कति विक्षिप्त भएका छौँ?

तिमीलाई त केवल सत्ता प्यारो भयो,
हामी त आमा हौँ।
के तिमीले बुझेनौ?
हामीलाई जीवनभन्दा केही प्यारो हुँदैन।

पुलिसलाई जागिर प्यारो भयो,
हामी त मानव हौँ।
बन्दुक चलाउनुअघि सोचेनौँ?
कि जागिरभन्दा ठूलो मान्छे हुनु हो।

तिमीलाई के मतलब भयो र?
तिमीले यी छोराछोरीलाई
रुखको चरासरह पनि महसुस गरेनौ।
गुलेलीले चरा मारेझैँ,
किन ढाल्न सक्यौ ती अबोध आत्माहरूलाई?

छातीमा क्रोधको ज्वाला उम्लिरहेछ,
मन ढुङ्गाजस्तै कठोर छ।
सिरानी सात दिनको झरीझैँ भिजेको छ,
आज यो नेपालीका लागि मध्यरात हो।

तिमी संरक्षक हैनौ, अभिभावक हैनौ।
तिमी केवल हत्यारा हौ, सरकार!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *