इलामका कवि दीपेन्द्र आचार्यले पाठकमाझ ल्याए ‘व्यापार पृथ्वीको’

इलाम। इलामका कवि दीपेन्द्र आचार्यको कवितासङ्ग्रह ‘व्यापार पृथ्वीको’ लोकार्पण गरिएको छ। ६५ वटा कविता समेटिएको यो सङ्ग्रह इन्डिगो इन्काले प्रकाशित गरेको हो। सूर्योदय गजल मञ्चले आयोजना गरेको कार्यक्रममा शनिबार उक्त कृतिको विमोचन गरियो।

कार्यक्रममा नेपाली साहित्यमा लीला लेखनका अभियन्ता कृष्ण बराल, साहित्यकार प्रकाश थाम्सुहाङ, चन्द्र गुरुङ, भारतीय कवि डा. कमला तामाङ, सूर्योदय गजल मञ्चका अध्यक्ष योगनिधि भट्टराई, सूर्योदय नगरपालिका सामाजिक विकास समितिका संयोजक डिकबहादुर बम्जन लगायतले कवितासङ्ग्रहको लोकार्पण गरेका थिए।

प्रमुख अतिथि रहेका बरालले जुनसुकै कृति लेख्दा पनि लेखकले स्थानीयता, यहाँको माटो, हावापानी र समाजलाई ध्यान दिनुपर्ने बताए।

साहित्यकार थाम्सुहाङले कवितालाई ‘ईश्वरको बोली’ भन्दै लेखकलाई ईश्वरले साथ दिनुपर्ने बताए। उनले भानुभक्त आचार्यपछि कवितामा देखिएको खालीपन दीपेन्द्र आचार्यले पूरा गर्ने सङ्केत देखिएको पनि बताए। अर्का वक्ता चन्द्र गुरुङले सङ्ग्रहमा देश, प्रकृति र समाजका बारेमा लेखिएका कविताहरू समेटिएको बताए। उनले लामा कविताहरूमा थप काम गरेको भए सुनमा सुगन्ध थपिने सुझाव पनि दिए। भारतीय साहित्यकार डा. कमला तामाङले कवितासङ्ग्रहको गहिरो विश्लेषण गरिन्।

कार्यक्रममा कवि लीला अनमोल, गणेश निरौला, अभागी थेगुवा, कविता राई ‘गाउँले’, विजय वातवा ‘कैलाशी’, केपी ढकाल, देवी गौतम लगायतले सङ्ग्रहभित्रका कविता वाचन गरेका थिए।

कवितासङ्ग्रहका लेखक दीपेन्द्र आचार्यले सबैलाई धन्यवाद दिँदै कविता पढेर प्रतिक्रिया दिन आग्रह गरे। योगनिधि भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव बिक्रम सुन्दासले गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *