गृहमन्त्रीले दिए राजीनामा, प्रधानमन्त्री ओलीको भूमिका के ?
काठमाडौँ। काठमाडौँसहित देशमा विभिन्न सहरमा ‘जेन-जी’ को प्रदर्शन हिंसात्मक बन्दा सुरक्षा प्रशासनले चरम दमन गरेको भन्दै व्यापक आलोचना भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्।
प्रहरी दमनका कारण १९ जनाको ज्यान गएको छ। अन्य धेरै घाइते छन्। कतिपयको अवस्था गम्भीर छ। ‘नैतिक जिम्मेवारी’ लिँदै गृहमन्त्री लेखकले राजीनामा दिएका छन्।
गृहमन्त्रीको राजीनामाले मात्र नपुग्ने भन्दै धेरैले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नै प्रश्न गरिरहेका छन्। सत्ताले उन्माद देखाएको भन्दै प्रधानमन्त्री ओली पनि आलोचनाका घेरामा परेका छन्।
गत १५ चैतमा राजावादीको प्रदर्शनमा २ जनाको ज्यान गएको थियो। प्रधानमन्त्रीले आफ्ना नागरिकको चित्त बुझाउने गरी प्रष्ट जवाफ दिनुपर्ने माग चौतर्फी उठिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत कतिपय दल र नागरिक अगुवाहरूले प्रधानमन्त्रीकै राजीनामा माग गरिरहेका छन्।
