नेपालको ‘जेन-जी’ अभियानका लागि अस्ट्रेलियामा सहयोग जुटाइँदै

काठमाडौँ। नेपालमा जारी जेन-जी आन्दोलनमा सहयोगका लागि अस्ट्रेलियामा सहयोग संकलन अभियान सुरु गरिएको छ।

आन्दोलनमा ज्यान गुमाएकाहरुको परिवारलाई सहयोग, घाइतेको उपचार तथा प्रभावित समुदायलाई सहयोग गर्न यसरी अभियान चलाइएको हो।

अस्ट्रेलियामा रहेका नेपाली मनिष उपाध्यायले सहयोग संकलन अभियान सञ्चालन गर्ने माध्यम ‘गोफण्ड मी’ पेज मार्फत् यो अभियान चलाएका हुन्। उक्त पेजमार्फत् मनकारीहरूले धमाधम सहयोग जम्मा गरिरहेका छन्।

मनिष अस्ट्रेलियामा नेपाली युवाहरूको संस्था ‘स्टोङ्गर टुगेदर’ का सदस्य हुन्। यो संस्थाले जनचेतनामूलक काम गर्दै आएको छ।

उक्त पेजमा मनिष लेख्छन्-

नेपालमा हाल चलिरहेको ‘जेन-जी’ आन्दोलनले न्याय, स्वतन्त्रता र राम्रो भविष्यका लागि साहसपूर्वक आवाज उठाइरहेको छ।

दुःखको कुरा, शान्तिपूर्ण प्रदर्शनले हिंसाको सामना गर्नुपरेको छ। यस क्रममा १६ भन्दा बढी युवाले ज्यान गुमाएका छन् भने २५० भन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई तत्काल चिकित्सकीय सहयोगको खाँचो छ। परिवारहरू शोकमा छन् र धेरैले अस्पतालको बिल, दैनिक आवश्यकता र रिकभरीका लागि संघर्ष गरिरहेका छन्।

नेपालका युवाहरूसँग ऐक्यबद्धता जनाउँदै र परिवर्तनका लागि सबै कुरा दाउमा राख्नेहरूलाई सहयोग गर्न मैले अस्ट्रेलियाबाट यो सहयोग अभियान सुरु गर्दैछु। यस अभियानबाट संकलन भएको हरेक डलर निम्न कार्यहरूमा प्रयोग हुनेछ:

-घाइतेहरूको उपचारका लागि

-ज्यान गुमाउने परिवारलाई आर्थिक सहयोग

-प्रभावित समुदायका लागि आवश्यक सामग्री, खाना र आश्रयका लागि

तपाईंको सहयोग जति नै सानो भए पनि, यसले राम्रो नेपालका लागि लडिरहेकाहरूलाई आशा र ठोस राहत प्रदान गर्न सक्छ। सँगै मिलेर, हामी उनीहरूलाई एक्लो छैनौँ भन्ने देखाउन सक्छौँ।

कृपया सहयोग गर्नुहोस्, यसलाई सेयर गर्नुहोस् र यो सन्देश फैलाउनुहोस्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *