भैरहवा र बुटवलमा निषेधाज्ञा
काठमाडौं। रुपन्देही जिल्ला प्रशासन कार्यालयले भैरहवा र बुटवलमा निषेधाज्ञा आदेश जारी गरेको छ। सोमबार अपराह्न ४ बजेदेखि राति १० बजेसम्मका लागि निषेधाज्ञा लगाइएको हो।
जेन-जीको प्रदर्शन उग्र बनेपछि प्रशासनले यो कदम चालेको हो। प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी आदेशअनुसार, भैरहवाको पूर्वमा रोहिणी खोला पुल, पश्चिममा बेथरी पुल, उत्तरमा बुद्धचोक र दक्षिणमा मेउडिहवासम्म निषेधाज्ञा लगाइएको छ।
त्यस्तै, बुटवलमा पूर्वतर्फ धागो कारखाना पेट्रोलपम्प, पश्चिममा बेलबास चोक, उत्तरमा चिडिया खोला र दक्षिणमा मंगलापुरसम्म निषेधाज्ञा छ। साथै, बुटवल-भैरहवा सडकको दायाँबायाँ १०० मिटरसम्म पनि भेला, जुलुस र प्रदर्शनमा रोक लगाइएको छ।
उल्लेखित क्षेत्रमा कुनै पनि प्रकारको आवागमन, भेला, जुलुस, प्रदर्शन वा बैठक गर्न पाइने छैन।
प्रतिक्रिया
