प्रहरीको गोलीले इटहरीमा दुई जनाको मृत्यु
इटहरी उपमहानगरपालिकामा भएको आगजनी र गोलीले घाइते प्रदर्शनकारीलाई अस्पताल लगिँदै।
विराटनगर। प्रहरीले चलाएको गोली लागेर सुनसरीको इटहरीमा सोमबार दुई जनाको मृत्यु भएको छ । बेथिति र भ्रष्टाचारविरूद्ध ‘जेन-जी’ को नाममा भएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रहरीले बल प्रयोग गरेको थियो।
प्रहरीको गोली लागेर अन्दाजी २५ र ३० वर्षका पुरूषको मृत्यु भएको हो। उनीहरूको पहिचान खुलेको छैन। गम्भीर घाइते दुवैलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। पुर्याउनासाथ चिकित्सकले उनीहरूको मृत्यु भइसकेको जानकारी दिएका थिए।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार इलाका प्रहरी कार्यालय इटहरीमा ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको थियो। त्यस क्रममा गोली लागेकाहरूलाई तत्काल उपचारका लागि धरान पठाइएको उनले बताए।
सुनसरीको इटहरीस्थित उपमहानगरपालिका कार्यालयमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेका थिए। त्यस क्रममा प्रहरीसँग झडप भएको थियो।
तनाव बढ्दै गएपछि प्रशासनले इटहरीमा कर्फयू आदेश जारी गरेको छ। प्रहरीले नगरपालिकाको आगजनीमा संलग्न भएको भन्दै केही युवालाई पक्राउ गरेपछि आक्रोशित प्रदर्शनकारीले इलाका प्रहरी कार्यालयमा ढंगामुढा गरेका थिए।
