आन्दोेलनमा प्रहरी दमन, कम्तीमा १५ जनाको मृत्यु, २ सय भन्दा बढी घाइते
काठमाडौँ। काठमाडौंमा ‘जेन–जी’ युवाहरूको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। २ सयभन्दा बढी घाइते भएका छन्।
बेथिति र भ्रष्टाचारविरुद्ध गरिएको आन्दोलन चर्किँदै जाँदा बानेश्वर क्षेत्रमा तनाव उत्पन्न भएको छ। त्यस क्षेत्रमा केन्द्रित प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चरम बल प्रयोग गरेको छ।
प्रहरी दमनमा परी घाइते भएकामध्ये ७ जनाको ट्रमा सेन्टरमा मृत्यु भएको हो। ३ जनाको एभरेस्ट अस्पतालमा, २ जनाको सिभिल अस्पतालमा मृत्यु भएको छ। यस्तै, त्रिवि शिक्षण अस्पताल र केएमसीमा १-१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल प्रशासनले जनाएका छन्।
प्रहरीको गोली, लाठी, पानीको फोहरा र अश्रुग्यास प्रहारपछि घाइते भएकामध्ये दुई सयभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सिभिल अस्पतालमा १००, ट्रमामा ५०, केएमसीमा ३५, एभरेस्टमा २०, वीर अस्पतालमा ७ र पाटन अस्पतालमा ४ जना उपचार भइरहेको छ।
घाइते अधिकांशको टाउको र छातीमा गोली लागेको छ। एभरेस्ट अस्पतालका अधिकारी अनिल अधिकारीका अनुसार त्यहाँ उपचाररतमध्ये ४ जनाको अवस्था गम्भीर छ। ट्रमा सेन्टरमा रहेकामध्ये १० जनाको अवस्था गम्भीर रहेको डा. दीपेन्द्र पाण्डेले जानकारी दिएका छन्।
सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध र फैलिँदो भ्रष्टाचारको विरोधस्वरूप ‘जेन–जी’ पुस्ताले काठमाडौँ, विराटनगर, पोखरा, इटहरी, इलाम, झापा, ताप्लेजुङ लगायत मुलुकका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन्।
