प्रहरीको गोलीले ६ जनाको मृत्यु
काठमाडौँ। सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा उत्रिएका ‘जेन-जी’ को प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर ६ जनाको मृत्यु भएको छ। काठमाडौँको बानेश्वर केन्द्रित प्रदर्शनमा प्रहरीले पानीको फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको थियो।
यस घटनामा ट्रमा सेन्टरमा उपचारका लागि पुर्याइएका चार जना र सिभिल अस्पतालमा दुई जनाको मृत्यु भएको छ। ट्रमा सेन्टरका डाक्टर दीपेन्द्र पाण्डेले उपचारको क्रममा चार जनाको मृत्यु भएको पुष्टि गर्दै १० जनाको अवस्था गम्भीर रहेको र उनीहरूको टाउको तथा छातीमा गोली लागेको जानकारी दिए। उनका अनुसार २० भन्दा बढी घाइतेहरूको पनि उपचार भइरहेको छ।
त्यसैगरी, सिभिल अस्पतालका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले पनि अस्पतालमा ल्याइएका दुई जनाको मृत्यु भएको बताएका छन्। हालसम्म मृतकहरूको पहिचान खुल्न सकेको छैन।
घाइते भएका दर्जनौँ प्रदर्शनकारीहरूको ट्रमा सेन्टर, सिभिल अस्पताल, एभरेस्ट अस्पताल लगायतका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। जेन-जीको यो प्रदर्शन काठमाडौँसहित देशका अन्य मुख्य सहरहरूमा पनि भइरहेको छ।
