प्रहरीद्वारा बल प्रयोग, २ जनाको मृत्यु
काठमाडौँ। बानेश्वरमा जारी जेन-जीको प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ। योसँगै प्रदर्शनमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
बानेश्वरस्थित संघीय संसद् भवनबाहिर घाइते भएपछि उपचारका लागि सिभिल अस्पताल पुर्याइएका एक प्रदर्शनकारीको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले जानकारी दिए।
यसअघि पनि सोही प्रदर्शनका क्रममा घाइते भएका एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको थियो। प्रदर्शनमा घाइते भएका दर्जनौँको सिभिल अस्पताल र अन्य स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
भ्रष्टाचार र बेथितिको विरोध गर्दै नयाँ पुस्ताले स्वतःस्फूर्त काठमाडौँसहित देशका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन्। इलाम, विराटनगर, झापा, ताप्लेजुङ, सुनसरीदेखि मध्य र पश्चिमका सहरहरूमा युवा विद्यार्थी मिलेर प्रदर्शन गरिरहेका हुन्।
