बेथितिविरूद्ध नयाँ पुस्ता सडकमा, कस्तो होला ‘जेन-जी विद्रोह’ ?

काठमाडौँ। ‘द फाइनल रिभोलुसन–वी आर पञ्चिङ अप’ (अन्तिम क्रान्ति– हामी मुक्का हान्दै छौं) नाराकासाथ नेपालको ‘जेनजी’ अर्थात् नयाँ पुस्ताले सोमबारदेखि सडक आन्दोलनको घोषणा गरेको छ।

माइतीघर मण्डला र संसद् भवन अगाडि भेला हुने तयारीसहित सामाजिक सञ्जालमा यो आन्दोलनको ‘ट्रेन्ड’ व्यापक बनेको छ। सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि आक्रोशित युवा पुस्ताले यसलाई ‘उद्देश्यपूर्ण विद्रोह’का रूपमा हेरेका छन्।

सामाजिक सञ्जालबाट सडकमा

सुरुमा ‘नेपो बेबी’ ट्रेन्डको माध्यमबाट फैलिएको यो आन्दोलनले अहिले सडकको रूप लिँदैछ। यो ट्रेन्डमा नेताका छोराछोरीको विलासी जीवनशैलीलाई साधारण नेपालीको संघर्षसँग तुलना गरेर भिडियो र पोस्टहरू बनाइएका छन्। यसले युवाहरूमा व्याप्त आक्रोशलाई थप बढाएको छ। अब यही आक्रोश ‘नो मोर करप्सन’ र ‘वेक अप जेनजीज’ जस्ता नाराका साथ सडकमा देखिने भएको छ।

यो आन्दोलनले कसले नेतृत्व गर्छ भन्ने स्पष्ट छैन, तर यसको उद्देश्य भने स्पष्ट छ–सत्ताको मनोमानी, भ्रष्टाचार, र बेथितिविरुद्ध आवाज उठाउनु। धेरै विश्लेषकहरू यो आन्दोलनले नेपालको राजनीतिक संस्कृतिमा परिवर्तन ल्याउन सक्छ भन्नेमा आशावादी छन्।

कतिपयले युवाहरू ठूलो संख्यामा सडकमा आए भने यसले सरकारलाई मात्र नभएर सम्पूर्ण राजनीतिक परिपाटीलाई नै चुनौती दिन सक्ने आकलन गरिरहेका छन्।

केहीले भने नेतृत्वविहीन आन्दोलन कमजोर हुने र यसलाई राजनीतिक दलहरूले प्रभावहीन बनाउन सक्ने जोखिम रहेको बताइरहेका छन्।

यस आन्दोलनलाई युवा उद्यमीहरूले समेत साथ दिएका छन्। राइड सेयरिङ कम्पनी पठाओका संस्थापक सीईओ अशिममान सिंहले सामाजिक सञ्जालमार्फत यो आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्।

उनले लेखेका छन्, ‘८४ सम्मको लागि कुर्ने हैन परिवर्तनको लागि। डिजिटल उपस्थिति जति महत्वपूर्ण छ, भौतिक उपस्थिति आवश्यक छ। त्यसैले म पनि सोमबार आन्दोलनमा आउँछु। तपाईंहरूलाई पनि आउन आह्वान गर्छु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *