बारामा बाघको आक्रमणबाट अर्का एक जनाको मृत्यु

काठमाडौँ। बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। एक हप्ताको अन्तरालमा यो दोस्रो घटना हो।

जीतपुरसिमरा उपमहानगरपालिका–१ का करिब ५५ वर्षीय छेवाङ लामाको बाघको आक्रमणबाट मृत्यु भएको हो। साइकल लिएर नजिकैको प्रगतिशील सामुदायिक वनमा च्याउ टिप्न गएका उनको शव घटनास्थलमा फेला परेको नगरप्रमुख राजन पौडेलले जानकारी दिए।

बाराका डिभिजन वन प्रमुख राजीव झाले मानिसमाथि पटकपटक आक्रमण हुन थालेपछि बाघ नियन्त्रणका लागि डार्ट टोली परिचालन भइसकेको र छिट्टै बाघलाई नियन्त्रणमा लिइने बताएका छन्।

यसअघि, जीतपुरसिमरा उपमहानगरपालिका–२२ का ५५ वर्षीय कृष्णप्रसाद शर्माको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो। यस वर्ष मात्रै जीतपुरसिमरामा बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

बाघको आक्रमण बढ्दै गए पनि निकुञ्ज र वन विभागले नियन्त्रण गर्न नसकेको भन्दै चौतर्फी विरोध भइरहेको छ। नगरप्रमुख राजन पौडेल र सांसद किसान श्रेष्ठलगायतले तत्काल बाघ नियन्त्रणमा लिन आग्रह गरे पनि पर्सा निकुञ्जमा डार्ट टोली नहुँदा नियन्त्रणमा ढिलाइ भएको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *