शिवसताक्षीमा सहायक योग प्रशिक्षक तालिम
झापा। पतञ्जलि योग झापाले शिवसताक्षी नगरपालिकामा सहायक योग प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले एक शिविर सुरु गरेको छ। शनिबारबाट सुरु भएको १५ दिने यो तालिमको उद्घाटन शिवसताक्षी–८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनले गरे।
उद्घाटन समारोहमा वडा–७ का अध्यक्ष भवानी विक्रम चेम्जोङ पनि सहभागी थिए। उनी तालिमको प्रशिक्षार्थी पनि हुन्।शिवसताक्षीका वडा नम्बर ६, ७, र ८ का करिब ८० जना सहभागीलाई सहायक योग प्रशिक्षक बन्ने अवसर प्रदान गर्ने यो तालिम दुई स्थानमा सञ्चालन भइरहेको छ।

वडा–८ का प्रशिक्षार्थीहरूका लागि झिलझिले माध्यमिक विद्यालयको सभाहलमा कक्षा सञ्चालन गरिएको छ भने वडा–६ र ७ का सहभागीहरूका लागि लालझोडाको भानु माध्यमिक विद्यालयको प्राङ्गणमा तालिम दिइँदै छ।
कार्यक्रममा बोल्दै वडा अध्यक्षद्वय सन्तकुमार फेउदिन र भवानी विक्रम चेम्जोङले तालिमको सफलताको शुभकामना दिए। उहाँहरूले पतञ्जलि योग समितिको स्थानीय वडा शाखालाई चालु आर्थिक वर्षदेखि बजेट विनियोजन गरेर आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।
योगको महत्त्वबारे छिमेकी बचत तथा ऋण सहकारीका उपाध्यक्ष उदयप्रकाश राई, नेपाली कांग्रेसका नेता परशुराम ढुङ्गाना, पतञ्जलि योग झापाका अध्यक्ष देवीप्रसाद घिमिरे, महिला कमिटी झापाकी अध्यक्ष प्रेमकला निरौला, र संगठन विभाग प्रमुख कृष्णप्रसाद ओझा लगायतका वक्ताहरूले प्रकाश पारेका थिए। उनीहरूले नियमित योग अभ्यासले स्वास्थ्यमा सुधार ल्याउने, औषधिको खर्च घटाउने र जीवनस्तर उकास्न मद्दत गर्ने बताए।

चिकित्सकहरूले पनि नियमित योगले मधुमेह, रक्तचाप, मोटोपन, मानसिक तनाव र अनिद्राजस्ता समस्यामा सुधार ल्याउने बताएका छन्। उनीहरूका अनुसार योगले शरीरमा स्फूर्ति बढाउने, रोगसँग लड्ने क्षमता बलियो बनाउने र दीर्घकालीन रोगको उपचार खर्च कम गर्ने गर्दछ।
पतञ्जलि योग झापाका अनुसार, झापामा हाल १० हजारभन्दा बढी मानिसले नियमित रूपमा योग अभ्यास गरिरहेका छन्। कार्यक्रमको सञ्चालन पतञ्जलि योग झापाका महासचिव रुद्र ओलीले गरिरहेका छन्।
