भूतका भिनाजु : बासुदेव गुरु
प्रश्न निकै सरल थियो, तर यसले मेरो मुटुमा सिधै बिझेको थियो। म, एक भर्खरको केटो, मनमा साहित्यको ठूलो संसार बोकेर हास्यव्यङ्ग्यका गुरु बासुदेव शर्मा लुइँटेललाई भेट्न पुगेको थिएँ। मेरो आँखामा उहाँ ठूला साहित्यिक हस्ती हुनुहुन्थ्यो, जसको व्यङ्ग्यका धारिला प्रहारले समाजको ढोंगलाई क्षतविक्षत पार्थ्यो। उहाँलाई भेटेर केही लेख्ने मेरो धृष्टता थियो, जुन उहाँको यो प्रश्नले लगभग चकनाचुर पारिदियो।
त्यस दिन उहाँको कार्यकक्षमा स-साना कुरामा पनि हाँसोको फोहरा उडिरहेको थियो। आगन्तुकहरूको भीडमा उहाँ आफ्नो ठाउँमा मस्त हुनुहुन्थ्यो। सबैलाई उत्तिकै प्रेम र सम्मान दिइरहनुभएको थियो। मेरा लागि उहाँको यो सरल व्यक्तित्व एक विरोधाभास थियो। उहाँको लेखनीमा जति तिख्खरपन थियो, उहाँको बोलीमा त्यति नै मधुरता र विनम्रता। उहाँसँग कुरा गर्ने पालो कुरिरहेका बेला मलाई लागिरहेको थियो, ‘के यस्ता महान् व्यक्तिले मलाई भेट्न समय दिनुहोला र !?’
‘के कामले आयौ भाइ तिमी? म नाथे बूढोलाई भेट्ने के काम प¥यो?’ जब उहाँको प्रश्न मेरो कानमा गुन्जियो, मैले हतारिएर भनेँ–‘हजुरसँग भेटेर हजुरको विषयमा केही लेख्नु थियो।’
मेरो कुरा सकिन नपाउँदै उहाँको अर्को प्रहार आयो–‘मेरो बारे लेखेर तिमीलाई के हुन्छ र? म कुनै ठूलो मान्छे पनि होइन। न त साहित्यकार नै हुँ।’
उहाँको यो विनम्रताले म अवाक् भएँ। आफूलाई ‘साहित्यकार नै होइन’ भनिरहनुभएका व्यक्तिले नेपाली साहित्यमा जुन योगदान दिनुभएको छ, त्यो सामान्य होइन। उहाँको यो कुराले मेरो मनमा खिन्नताको बादल छायो। तर, मैले आफ्नो परिचय दिएँ। मेरो कुरा सुनेपछि उहाँले मलाई ‘मेरो बारेमा होइन फलानो, फलानोलाई भेटेर लेख’ भनेर सुझाव दिनुभयो। उहाँको यो कुराले मलाई थप असहज बनायो। सायद उहाँले मलाई महत्त्वहीन ठानिरहनुभएको छ भन्ने मलाई लाग्यो।
तर, उहाँले अरूसँग गरेको संवाद सुन्दै जाँदा मेरो मनको खिन्नता बिस्तारै मेटिँदै गयो। उहाँले सबैलाई उत्तिकै आत्मीयताका साथ कुरा गरिरहनुभएको थियो। उहाँका हरेक शब्दमा एउटा साँचोपन थियो। उहाँले आफ्नो मानमर्यादाको कुनै ख्याल नगरी आफूलाई सामान्य मानिसको श्रेणीमा राख्नुभएको थियो। उहाँको विनम्रताको यो उचाइ देखेर म चकित भएँ। उहाँले आफूलाई ‘म नाथे बूढो’ भनेर जुन शब्द प्रयोग गर्नुभयो, त्यो उहाँको महानताको प्रतिविम्ब थियो।
त्यस दिन मैले एउटा नयाँ पाठ सिकेँ। साँचो महानता आफ्नो योग्यताको बखान गर्नुमा होइन, बरु त्यसलाई विनम्रताको पर्दाभित्र लुकाउनुमा हुन्छ। बासुदेव शर्मा लुइँटेल एक हास्यव्यङ्ग्यकार मात्र हुनुहुन्नथ्यो। उहाँ विनम्रताका एक जीवन्त पाठशाला हुनुहुन्थ्यो। उहाँको त्यो ‘म नाथे बूढो’ भन्ने शब्दले मेरो मनमा एक गहिरो छाप छोड्यो, जसले मलाई सधैँ सम्झाउँछ कि जीवनको वास्तविक सुन्दरता नम्रतामा नै लुकेको हुन्छ।
पाटनढोकास्थित मदन पुरस्कार पुस्तकालय। त्यो ढोकाबाट भित्र छिर्दा बेग्लै प्रकारको साहित्यिक सुगन्धले मनै मोहित पार्थ्यो। त्यहाँ अनेकौँ पुस्तक, अनेकौँ सपनाहरू र अनेकौँ कथाहरू एकसाथ सास फेरिरहेको जस्तो लाग्थ्यो। तर ती सबैमध्ये एउटा कथा जसले मेरो मनमा गहिरो छाप छोड्यो, त्यो कथा हो– ‘भूतको भिनाजु’ को।
पहिलो पटक उहाँको कार्यालयमा पाइला राख्दा उहाँको कडा स्वभावले मलाई केही असहज महसुस गराएको थियो। तर, जति–जति उहाँसँगको भेट बाक्लिँदै गयो, उहाँको कठोरताको खोलभित्र लुकेको नरमपनाले मलाई आकर्षित गर्न थाल्यो। उहाँको कार्यकक्षमा साहित्यिक भेटघाटको एउटा निरन्तर लर्को लाग्थ्यो। सबैलाई चियाले स्वागत गर्ने, हाँस्ने र हँसाउने उहाँको स्वभाव देख्दा मलाई अचम्म लाग्थ्यो। भित्रभित्रै सायद उहाँ पनि कुनै दुःखले रोइरहनुभएको थियो होला, तर बाहिर उहाँ अरूलाई सान्त्वना दिनमा व्यस्त हुनुहुन्थ्यो।
‘भूतको भिनाजु’लगायत दर्जनौँ उपनामका उहाँ आफैँ अनेक उपनामका पनि धनी हुनुहुन्थ्यो। उहाँको सबैभन्दा ठूलो कला भनेको अरूलाई नयाँ नाम दिने खुबी पनि थियो। नयाँ मान्छेलाई भेट्नेबित्तिकै उहाँको दिमागमा तुरुन्तै एउटा नयाँ नाम फुथ्र्यो। उहाँले मलाई दिएको एउटा महत्त्वपूर्ण कुरा हो– जीवनको एउटा पाठ।
उहाँले मलाई भन्नुभएको थियो–“लेख्ने काममा आफूलाई पूरा विश्वास भएपछि मात्रै छाप्ने तयारी गर्नुपर्छ। लेखाइलाई पटक–पटक माझ्नुपर्छ। सुधार्नुपर्छ, सच्याउनुपर्छ, खार्नुपर्छ। छाप्नका लागि त्यत्तिकै हतार गर्नु हुँदैन।”
उहाँका यी शब्दहरू मेरो मनमा सधैँ गुन्जिरहन्छन्। उहाँ आफैँ हास्यव्यङ्ग्यका एक महान् स्रष्टा हुनुहुन्थ्यो। यस विधाको उत्थानका लागि उहाँले २०२३ सालमै कौवा प्रकाशन र २०५० सालमा ‘वासुदेव शर्मा लुइँटेल पुरस्कार’ को स्थापना गर्नुभयो। उहाँको जीवनको हरेक पाइलाले नेपाली साहित्यलाई समृद्ध बनाउने एउटा अदम्य चाहना बोकेको र साहित्यकारलाई प्रोत्साहित गर्न उहाँको योगदान स्मरणीय छ।
उहाँसँगको प्रत्येक भेटमा मैले उहाँबारेमा सोध्न खोज्दा उहाँले सधैँ अरूको बारेमा गहिरो सोधखोज गर्न भनिरहनुहुन्थ्यो। उहाँ आफ्नो बारेमा मौन रहनुभयो। तर, उहाँका कार्यहरूले उहाँको व्यक्तित्वको गहिराइलाई उजागर गरिरहेको थियो। उहाँसँगको सम्बन्ध एक समयमा यति गहिरो भयो कि उहाँको मौनताले पनि मलाई धेरै कुरा भनिदियो।
उहाँका विचार, सिद्धान्त र उहाँको जीवनशैली यी सबै मेरा लागि एउटा अमूल्य शिक्षा बने। उहाँको कार्यालयदेखि उहाँको निवास ढुंगाअड्डासम्म मेरा पाइला पुगे। उहाँले मलाई ‘यी किताब पढ, यी मान्छे भेट, यी ठाउँमा जाऊ’ आदि भन्नुहुन्थ्यो।
आज पनि म पाटनढोकाको त्यो बाटोबाट हिँड्छु, मलाई लाग्छ, उहाँको कार्यालयमा अझै पनि चियाको बासना फैलिएको छ र उहाँको हाँसोको प्रतिध्वनि त्यहाँका भित्ताहरूमा गुन्जिरहेको छ। उहाँ एक व्यक्ति मात्र नभएर एउटा संस्था हुनुहुन्थ्यो, जसले नेपाली साहित्यको सेवामा आफ्नो सारा जीवन समर्पित गर्नुभयो। उहाँको सम्झना मेरो मनमा सधैँ ताजा रहनेछ। उहाँले मलाई सिकाएको कुरा, जीवनलाई हेर्ने दृष्टिकोण र लेखनप्रतिको समर्पणले मेरो यात्रालाई सधैँ मार्गनिर्देश गरिरहनेछ।
मेरा मानस-आकाशका बादलः गुरु वासुदेव शर्मा लुइँटेल
जीवनका केही सम्बन्धहरू यस्ता हुन्छन्, जसको भौतिक अन्त्य भए पनि भावनात्मक उपस्थिति कहिल्यै सकिँदैन। मेरा लागि वासुदेव शर्मा लुइँटेल त्यस्तै एक अमर सम्बन्ध हुनुहुन्थ्यो। २०६३ सालमा ९० वर्षको उमेरमा उहाँ भौतिक रूपमा हामीबाट बिदा हुनुभएको पनि वर्षौं भइसकेको छ। तर, मेरो सम्झनाको आकाशभरि उहाँ कहिल्यै नमेटिने बादल बनेर छरिनुभएको छ।
जब म उहाँलाई सम्झिन्छु, मेरो मनको क्षितिजमा अनगन्ती भावहरूका बादलहरू मडारिन थाल्छन्। कहिलेकाहीँ उहाँको सौम्य र स्नेहपूर्ण अनुहारको एउटा विम्ब देखापर्छ, जुन बादलको आकृतिजस्तै कोमल र शान्त हुन्छ। त्यसले मलाई आफूप्रति उहाँको अगाध प्रेमको अनुभूति गराउँछ। म न्यानोपनले भरिन्छु, जुन न्यानोपन एउटा असल गुरुले आफ्ना शिष्यलाई दिन्छ। म त्यो विम्बलाई अझ गहिरिएर हेर्न चाहन्छु। तर, बादलका आकृतिहरू स्थायी हुँदैनन्। त्यसको स्वरूप तुरुन्तै बदलिन्छ।
त्यसपछि मेरो आँखाअगाडि उहाँको उग्र स्वरूप देखापर्छ। कोही विद्यार्थीलाई व्यङ्ग्यपूर्ण तरिकाले हकार्दै गरेको, अनुशासन सिकाउँदै गरेको उहाँको त्यो आकृति। आवाजमा कडापन भए पनि अनुहारमा एउटा दयालुपन झल्किन्थ्यो। त्यसले भन्थ्यो– यो हकाराइ प्रेमको अर्को रूप हो। त्यो उग्रताभित्र उहाँको सच्चा भावना लुकेको हुन्थ्यो– ‘सबै असल मान्छे बनून्, सही बाटोमा हिँडून्।’
यसरी बादलहरूले स्वरूप बदले जस्तै, मेरो स्मृतिमा उहाँका अनेक रूपहरू आउँछन् र जान्छन्। कहिले एउटा ज्ञानी पुरुषको, जसले मलाई जीवनको बाटो देखाए; कहिले एउटा कलाकारको, जसले हास्यव्यङ्ग्यको माध्यमबाट समाजलाई ऐना देखाइदिए; कहिले एउटा प्रेमीको, जसले आफ्ना विद्यार्थीहरूलाई आफ्नै सन्तानजस्तै माया गरे।
सायद, उहाँको स्मृति यस्तै बादलजस्तै तरल र परिवर्तनशील छ। यो कुनै एउटा निश्चित रूपमा कैद हुनै सक्दैन। यसमा कहिले चर्को घामजस्तै तेज छ, कहिले शीतल वर्षाजस्तै शीतलता। उहाँले मलाई दिएको ज्ञान, उहाँको प्रेरणा, उहाँको हाँसो– यी सब मेरा मानस–आकाशका ती बादल हुन्, जसले वर्षा बनेर मेरो जीवनको सुक्खापनलाई भिजाउँछन् र मेरो आत्मालाई सिञ्चित गर्छन्।
आज पनि म आकाशतिर हेर्छु। बादलका आकृतिहरूमा उहाँको अनुहार खोज्छु। मलाई लाग्छ, उहाँले मलाई अझै पनि हेरिरहनुभएको छ। उहाँको हाँसो व्यङ्ग्यको रूपमा मेरा कानमा गुञ्जिरहेको छ। उहाँ मेरो जीवनको त्यस्तो हिस्सा हुनुहुन्छ, जसलाई म कुनै पनि शब्दमा पूर्ण रूपमा बयान गर्न सक्दिनँ, महसुस गर्न सक्छु।
पर्सी भाद्र २३ गते उहाँको जन्मदिनको पावन अवसरमा भूतका भिनाजु आदरणीय वासुदेव शर्मा लुइँटेलप्रति सतत नमन!
