फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
काठमाडौं। सरकारले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुक सहितका सामाजिक सञ्जाललाई आज बिहीबार रातिदेखि रोक लगाउने निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले यो निर्णय गरेको हो। सरकारको यो निर्णयसँगै फेसबुक, ह्वाटसएप, इन्टाग्राम लगायतका सामाजिक सञ्जाल निष्क्रिय हुनेछन् ।
मन्त्रालयका अधिकारीहरू, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि सहभागी बैठकपछि उक्त निर्णय लिइएको जनाइएको छ।
सम्बन्धित सञ्जाल सञ्जालक कम्पनीलाई मन्त्रालयले पत्र लेखेर यसबारे जानकारी दिने भएको छ। मेटा, अल्फाबेट, एक्स, रेडिट, लिंक्डइनजस्ता ठूला प्लाटफर्म दर्ता प्रक्रियाका लागि मन्त्रालयको सम्पर्कमा आएका छैनन्।
२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो।
निर्देशनलाई बेवास्ता गरेपछि सरकारले सामाजिक सन्जाल निष्कृय बनाउने निर्णय गरेको हो।
