व्यवसायिक स्थलमा सुरक्षा कसरी ?

विराटनगर। व्यवसायिक स्थलको सुरक्षा र बीमा नीतिबारे जनचेतना जगाउने उद्देश्यले मोरङ उद्योग व्यापार संघले एक सेमिनार आयोजना गरेको छ। ‘सुरक्षित कार्यस्थल, सुरक्षित भविष्य’ भन्ने नाराका साथ आयोजित यस सेमिनारमा अग्नि सुरक्षा र बीमा नीतिका विषयमा छलफल भएको थियो।

संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा सम्पन्न सेमिनारमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेशकी प्रमुख प्रीति देव र विराटनगर महानगरपालिकाका नगर निरीक्षक राजन पौडेलको पनि उपस्थिति थियो। सेमिनारमा अग्नि जोखिम व्यवस्थापन विज्ञ मनोज खत्री र बीमा विज्ञ प्रज्वल आचार्यले सहजीकरण गरेका थिए।

सेमिनारको औपचारिक सत्रमा बोल्दै संघका अध्यक्ष राठीले कार्यस्थलको सुरक्षाले मानव जीवन, सम्पत्ति र व्यवसायलाई सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले प्रत्येक व्यवसायीको दायित्व आफ्नो कर्मचारी, ग्राहक र सम्पत्तिको सुरक्षामा ध्यान दिनु रहेकोमा जोड दिए।

त्यसैगरी, सेमिनारका संयोजक अमित राठीले सुरक्षित वातावरणले व्यवसायको उत्पादकत्व र आत्मविश्वास बढाउने कुरामा जोड दिए। उनले इन्द्रिय, ध्वनि र दृष्टिलाई सधैँ चनाखो राखेर सम्भावित जोखिमलाई समयमै नियन्त्रण गर्न सकिने धारणा राखे।

सेमिनारका सहजकर्ताहरूले सहभागीहरूलाई कार्यस्थलमा आवश्यक अग्नि जोखिम व्यवस्थापन विधि, बीमा नीति र उपयोगी सुरक्षा उपकरणहरूका बारेमा जानकारी र प्रयोगात्मक अभ्यास गराएका थिए। सहभागीहरूले सेमिनारबाट प्राप्त जानकारी आफ्नो व्यवसायका लागि निकै उपयोगी रहेको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *