सोलुखुम्बुमा बाढीले पाँच घरमा क्षति, बिजुली अवरूद्ध
तस्बिर सौजन्यः रेडियो सोलु
विराटनगर। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे खोलामा आएको बाढीले पाँच घरमा क्षति पुर्याएको छ। आइतबार रातिदेखिको लगातारको वर्षापछि खोलामा पानीको बहाव बढेको थियो।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक मनोजीत कुँवरका अनुसार थामे खोलामा पानी थुनिएर तलाउजस्तो बनेको थियो। त्यो पानी ‘ओभर फ्लो’ भएर बग्दा खोला किनारका घरहरूमा क्षति पुगेको हो।
बाढी आउनुअघि नै स्थानीय मानिसहरूलाई सुरक्षित स्थानमा सारिएकोले मानवीय क्षति हुन नपाएको कुँवरले जानकारी दिए। नेपाल प्रहरी र नेपाली सेनाको टोलीले प्रभावित क्षेत्रमा अनुगमन गरी आवश्यक सहयोग गरिरहेको छ।
बाढीले बिजुलीका खम्बाहरूमा पनि क्षति पुर्याएकाले त्यस क्षेत्रमा बिजुली र सञ्चार सेवा अवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ। निरन्तर वर्षा भइरहेकोले गाउँपालिकाले थामे लगायत सबै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
