छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सांकेतिक तस्बिर
विराटनगर। उदयपुरको बेलका नगरपालिका-२, कन्चनजंगास्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक युवराज श्रेष्ठलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको छ।
उनीमाथि विद्यालयकी १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप छ। प्रहरीका अनुसार भदौ १४ गते बिहान प्रधानाध्यापक श्रेष्ठले आफ्नै कार्यालय कोठामा ती छात्रामाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको छ।
पीडितकी भाउजुले भदौ १५ गते इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लिखित उजुरी दिएकी थिइन्।
उजुरी दर्ता भएलगत्तै प्रहरीले ४७ वर्षीय श्रेष्ठलाई पक्राउ गरेको हो। उनलाई रामपुरठोक्सिला प्रहरी कार्यालयमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रवक्ता डीएसपी केदारजंग दोङका अनुसार आइतबार साँझ उनलाई पक्राउ गरिएको हो। बालिकाको स्वास्थ्य परीक्षण गरिएको उनले बताए। आज सोमबार प्रधानाध्यापक श्रेष्ठलाई उपस्थित गराएर अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइने डीएसपी दोङले सरल पत्रिकालाई जानकारी दिए।
