कोशीमा पानीको बहाव उच्च, ३१ ढोका खोलिए
कोशी ब्यारेज
विराटनगर। पहाडी क्षेत्रमा भएको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा पानीको सतह बढेको छ। आइतबार राति १० बजेको मापनअनुसार, कोशी ब्यारेजमा पानीको बहाव २ लाख २६ हजार ५६० क्युसेक पुगेको छ।
बहाव बढेसँगै ब्यारेजका ५६ वटा ढोकामध्ये ३१ वटा ढोका खोलिएको छ। सामान्यतया, पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेत स्वरूप रातो बत्ती बालिने गरिन्छ।
रातो बत्ती बालेर त्यस क्षेत्रमा सतर्कता र निगरानी बढाइएको प्रहरीले जनाएको छ। कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार आइतबार दिउँसो २ बजे पानीको बहाव एक लाख ७४ हजार ३७५ क्युसेक थियो। त्यस बेला ब्यारेजका २३ वटा ढोका खोलेर पानीलाई सहज निकास दिइएको थियो।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार, पहाडी क्षेत्रमा भइरहेको भारी वर्षाका कारण नदीमा पानीको सतह लगातार बढिरहेको हो।
