लोकगायिका कविता आले ‘सरु संगीत राष्ट्रिय पुरस्कार’बाट सम्मानित

काठमाडौँ। लोकसंगीत क्षेत्रकी चर्चित गायिका कविता आले यस वर्षको ‘सरु संगीत राष्ट्रिय पुरस्कार’ बाट सम्मानित भएकी छन्। सरु संगीत घरले दिवंगत सरस्वती निरौलाको स्मृतिमा स्थापना गरेको ३ लाख रुपैयाँ राशिको अक्षयकोषबाट यो पुरस्कार प्रदान गरिएको हो।

सरु संगीत घरका प्रबन्ध निर्देशक डेनी निरौलाका अनुसार, यो पुरस्कार वरिष्ठ संगीतकार तथा गायक कोमल निरौलाको संरक्षकत्वमा स्थापना गरिएको हो। हरेक वर्ष नेपाली गीत, संगीत र वाद्यवादन क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने ४० वर्षमाथिका महिला कलाकारलाई यो पुरस्कार प्रदान गरिन्छ।

यस वर्षको पुरस्कारका लागि चयन समितिले कविता आलेलाई छनोट गरेको समितिकी सदस्य तथा गायिका लोचन भट्टराईले जानकारी दिइन्। भट्टराईले भनिन्, “विसं २०१२ सालमा इलामको फाकफोकमा जन्मनुभएकी कविता आलेले पूर्वीय लोकभाकालाई नेपाली लोकसंगीतमा विशिष्ट पहिचान दिलाउन महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। अर्गानिक लोकसंगीत पस्कन सक्ने उहाँको योगदान अतुलनीय छ।”

पुरस्कार समारोह वरिष्ठ संगीतकार दीपक जङ्गमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी, पाटन उच्च अदालतका न्यायाधीश दुर्गा ढुंगेल, वरिष्ठ संगीतकार मिलन मोक्तान, शिक्षासेवी विष्णुकुमार निरौला, ललितपुर जिल्ला प्याब्सन अध्यक्ष तारा खनाल, पूर्वसचिव खेमराज नेपाल, साहित्यकार डा. रत्नमणि नेपाल लगायतको उपस्थिति थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *