महावीर पुन : किताबको यात्रा र सपनाहरू
‘आज बिहान ७ बजेदेखि ११ बजेसम्म इलाम जिल्लाको फिक्कल बजार छेउछाउ, दिउँसो १२ बजेदेखि ४ बजेसम्म रोङ गाउँपालिका कार्यालय र वरिपरिका गाउँटोलमा किताब बेचेर राति ८ बजेसम्म श्रीअन्तु डाँडा पुगिनेछ। भोलि दिनभरि श्रीअन्तु वरिपरि किताब बेचिनेछ।’
किताब बिक्री-यात्राको यो एकल अभियान र त्यसका निम्ति उल्लिखित सूचना सम्प्रेषण गर्दै डा. महावीर पुन यो साता पूर्वको इलाम जिल्ला पुग्नुभयो। इलामका फिक्कल, करफोक, तिनघरे बजार, आदिका चोकबजार तथा विद्यालय र कलेजहरूमा किताब बिक्री गर्दै उहाँ फिक्कल हुँदै श्रीअन्तुतिर उकालिनुभयो। उहाँको यो अभियानले देशव्यापी सफलतासँगै नेपालीभाषीहरू माझ पनि उत्तिकै लोकप्रियता कमाउँदैछ।
डा. पुनको ‘सम्झना, सपना र अविरल यात्रा’ नामक किताब उहाँको जीवन संघर्षको प्रेरणादायी अनुभवहरूले भरिएको सङ्गालो हो। लेखन आफैँमा सजिलो काम होइन। त्यसमाथि त्यसलाई बेचेर त्यसको कमाइले सामाजिक काम गर्नु कठिन काम हो। तर उहाँ यसमा हार मान्नुभएन। घाममा पसिनाले भिज्दै, पानीमा निथ्रुक्क भएर रुझ्दै किताबको बिक्रीमा देशदौडाहा गर्नुभयो। कहिले भोकै, कहिले पानीले प्याकप्याकी हुँदै तर उहाँले हरेस नखाई आफ्नो सिर्जनालाई पढ्ने मनसम्म पुर्याउनुभयो। आफैँ कराउँदै, बोल्दै, बोलाउँदै किताबको बिक्रीमा ठूलो सफलता भेट्नुभयो।
हामी अक्सर सफलतालाई ठूला–ठूला भाषण र भव्य समारोहहरूसँग जोडेर हेर्छौँ। तर केही मानिसको सफलता यति मौन र यति प्रभावशाली हुन्छ कि त्यसले अरूको जीवनमा एक स्थायी परिवर्तन ल्याउँछ। महावीर पुन यस्तै एक व्यक्ति हुनुहुन्छ, जसले आफ्ना किताबहरूलाई आफैँले बोकेर, बोलेर, हिँडेर, हिँडाएर हजारौँको जीवनमा आशाको ज्योति बाल्नुभएको छ।
महावीर पुनले लेखेका किताब कागजमा छापिएका अक्षरहरू मात्र होइनन्, ती उनका सपना, उहाँको संघर्ष र उहाँको नेपालप्रतिको गहिरो प्रेमको प्रतिविम्ब हुन्। उहाँले आफ्नो किताब आफैँले बेचेर उठाएको हरेक रुपियाँलाई राष्ट्रिय आविष्कार केन्द्रको जग बसाल्न प्रयोग गर्नुभएको छ। उहाँको यो यात्राले हामीलाई सिकाउँछ कि एक व्यक्तिले चाहेमा केही पनि असम्भव छैन।
महावीर पुनले आफ्नो जीवनलाई राष्ट्रका लागि समर्पण गर्नुभएको छ। उहाँले आफ्नो पढाइ र विदेशको सुखमय जीवनलाई छोडेर नेपाल फर्किए र यहाँको ग्रामीण भेगमा इन्टरनेट र सूचना प्रविधिको क्रान्ति ल्याए। उहाँको यो कदमले ग्रामीण क्षेत्रका मानिसहरूलाई विश्वसँग जोड्न मद्दत गर्यो। उहाँले आफ्नो कर्तव्यलाई कहिल्यै बिर्सनुभएन र यही कारणले गर्दा नै उनी आज करोडौँ नेपालीको लागि एक प्रेरणाको स्रोत बनेका छन्।
महावीर पुनको योगदान प्राविधिक क्षेत्रमा मात्र सीमित छैन। उहाँले गरेको हरेक कामले नेपाली समाजमा एउटा सकारात्मक सन्देश दिएको छ। उहाँको यात्राले हामीलाई साँच्चै सफलता हासिल गर्न हामीले आफ्नो स्वार्थभन्दा माथि उठेर अरूको हितका लागि सोच्नुपर्छ भन्ने सन्देश दिन्छ। उहाँले आफ्नो किताब आफैँले बेचेर त्यसको पैसा सामाजिक काममा लगानी गर्ने सङ्कल्प कम सह्रानीय छैन। वास्तवमा कुनै पनि काम सानो वा ठूलो हुँदैन। महत्त्वपूर्ण कुरा त्यसको पछाडिको उद्देश्य हो।
महावीर पुन एक मौन योद्धा हुनुहुन्छ। उहाँले आफ्नो कर्मले नेपाली समाजलाई समृद्ध बनाउन निरन्तर लागिरहनुभएको छ। उहाँको यात्राले हामीलाई सधैँ प्रेरणा दिइरहनेछ। यसरी यस धर्तीमा केही मानिस आफ्नो लागि मात्र होइन, समाज र देशका लागि पनि बाँच्छन्। डा. महावीर पुन तीमध्येका एक हुनुहुन्छ।
उहाँको जीवन एउटा खुल्ला पुस्तक हो, जसको हरेक पानामा सङ्घर्ष, समर्पण र देशप्रेमको गाथा कुँदिएको छ। उहाँले आफ्नो जीवनको प्रेरणादायी कथा आफैँले लेखेको ‘सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक बोकेर देशका दुर्गमदेखि सुगम स्थानसम्म हिँड्नुभएको छ, अझै हिँडिरहनुभएको छ। उहाँको यही अभियान यो साता इलाम हुँदै छिमेकी मिरिकका नेपालीभाषी माझ पनि पुगिसकेको छ। यो अभियान पुस्तक बेच्ने कार्य मात्र नभई, ज्ञानको बिक्रीबाट राष्ट्र निर्माणको एक पवित्र यात्रा हो।
डा. महावीर पुनले ५०० दिनसम्म निरन्तर चोक, बजार र गाउँ–गाउँमा गएर आफ्नो किताब बेचिरहनुभएको छ। यो अभियान कुनै साधारण व्यापार होइन, यो एक जना एक्लो अभियन्ताले थालनी गरेको क्रान्तिकारी कदम हो। यस अभियानबाट २ लाख ३० हजारभन्दा धेरै किताब बिकिसकेका छन्। करिब १२ करोड रुपैयाँ बचत भएको छ। यो रकम उहाँले आफ्नो व्यक्तिगत लाभका लागि नभई, वीरगञ्ज कृषिऔजार कारखानाको मर्मत र नयाँ मेसिनहरू थप्नका लागि प्रयोग गर्नुभएको छ।
डा. पुनको यो प्रयासले वीरगञ्जको कृषिऔजार कारखानालाई पुनःजीवित बनाएको छ। अहिले त्यहाँ ४० जनाले काम गरिरहेका छन्, जसले आत्मनिर्भरताको एक नयाँ अध्याय लेखिरहेका छन्। यो कार्यले नेपाली समाजलाई एउटा सन्देश दिएको छ: हामीले हाम्रा स्रोतसाधनलाई कसरी सही तरिकाले प्रयोग गर्न सक्छौँ?
वस्तुतः ज्ञानलाई बेचेर त्यसको आम्दानी सामाजिक क्षेत्रमा खर्च गर्ने उहाँको यो जीवनशैली साँच्चै नै प्रशंसनीय छ। उहाँको उत्साह, अविचलित समर्पण र लक्ष्यप्रतिको अटल विश्वासले हामी सबैलाई प्रेरणा दिन्छ।
महावीर पुनको यो अभियानले यदि हामीमा इच्छाशक्ति छ भने एक्लो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने देखाउँछ। उहाँले पुस्तक बेचेर ज्ञानको प्रसार मात्र गर्नुभएन, त्यसबाट आएको धनलाई देशको विकासमा लगाउनुभयो। यो एक उदाहरणीय र अनुकरणीय कार्य हो, जसले नेपाली समाजमा आशाको दियो बालेको छ। राज्यले गर्न नसकेको काम एकल प्रयासले पूरा गरेको छ।
२०११ सालमा म्याग्दीको नागी गाउँमा जन्मनुभएका महावीरको परिचय विकिपिडिया, एक स्वतन्त्र विश्वकोशले यसरी उल्लेख गरेको छ: ‘महावीर पुन एक नेपाली वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी तथा हिमालयका दुर्गम क्षेत्रहरूको विकासित ताररहित प्रविधिको प्रयोगमा आफ्नो व्यापक कार्यका लागि प्रसिद्ध एक कार्यकर्ता हुन् जसलाई नेपाल वायरलेस नेटवर्किङ परियोजना पनि भनिन्छ। उनी नेपालका बहुचर्चित व्यक्तित्व हुन्। उनको कार्यलाई अशोका फाउन्डेसन, रमन म्याग्सेसे फाउन्डेसन, नेब्रास्का विश्वविद्यालय र ग्लोबल आइडियाज बैङ्कले मान्यता दिएको छ। उनी एक मानवतावादी हुन् जसको कामले धेरै युवाहरूलाई आफ्नै देश फर्काउन र देशको विकासको लागि सेवा गर्न प्रेरित गरिरहेको छ।’
