भैरव अर्याल स्मृति पुरस्कार प्रधान, शर्मा र पोखरेललाई
काठमाडौँ। प्रसिद्ध हास्यव्यंग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कारको घोषणा गरिएको छ। भैरव पुरस्कार गुठीले शुक्रबार विज्ञप्ति जारी गर्दै यस वर्षको पुरस्कार प्राप्तकर्ताहरूको नाम सार्वजनिक गरेको हो।
गुठीका अध्यक्ष तथा वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा बसेको बैठकले पुरस्कारको निर्णय अनुमोदन गरेको हो। यस वर्षको भैरव पुरस्कार भारतको सिलगुडी निवासी वरिष्ठ हास्यव्यंग्यकार कृष्ण प्रधानलाई प्रदान गरिने भएको छ। यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ छ। यो पुरस्कार पहिलो पटक नेपाल बाहिरका स्रष्टालाई प्रदान गर्न लागिएको हो।
त्यस्तै, भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्रकार हरिप्रसाद शर्मालाई प्रदान गरिने भएको छ। यसको राशि १ लाख १ हजार १ सय ११ रुपैयाँ छ। यसैगरी, भैरव प्रतिभा पुरस्कार विराटनगरका विवश पोखरेललाई प्रदान गरिने भएको छ। यस पुरस्कारको राशि ५१ हजार १ सय ११ रुपैयाँ छ।
पुरस्कार प्राप्तकर्ताहरूको नाम छनोट गर्नका लागि साहित्यकार वसन्त रिजालको संयोजकत्वमा नरेन्द्रराज पौडेल र प्रल्हाद पोखरेल सदस्य रहेको समिति गठन गरिएको थियो।
घोषित पुरस्कारहरू आगामी असोज ३ गते काठमाडौँको गोकर्णेश्वर–५ स्थित भैरव स्मृति भवनमा आयोजना हुने कार्यक्रममा वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए।
