खोक्रो संस्कार : शिक्षा र संस्कृतिमा बढ्दो विकृति

नेपाली समाजको मेरुदण्ड मानिने हाम्रो संस्कृति, परम्परा र धार्मिक आस्था आज सङ्कटमा परेको भान हुन्छ। यी केवल विगतका अवशेषहरू नभएर पुस्ता-पुस्तासम्म मूल्यबोध र जीवनदर्शन हस्तान्तरण गर्ने जीवित सेतु हुन्। तर दुःखको विषय के हो भने, आधुनिकताको आडमा हाम्रो मौलिकता क्रमशः लोप हुँदैछ, संस्कृतिको आत्मा निरीह बन्दैछ। यसैमा हाम्रा शैक्षिक संस्थाहरूले पनि अन्जानमै सहयोग पुर्‍याइरहेका छन्।

हामीले गर्व गर्ने संस्कृति, परम्परा र धार्मिक आस्था आज कस्तो अवस्थामा छन्? के ती केवल तस्बिर खिच्ने अवसर, सामाजिक सञ्जालमा ‘कन्टेन्ट’ बनाउने सामग्री र व्यावसायिक प्रचारमा मात्र सीमित भइरहेका त छैनन्? यस प्रश्नको जवाफ खोज्दा एउटा कठोर यथार्थसँग हाम्रो सामना हुन्छ- देखासिकी र क्षणिक सुखको खोजीमा हाम्रो संस्कृति र परम्परा बिलिन हुँदैछन्।

डिजिटल युगको सांस्कृतिक विकृति

सामाजिक सञ्जालको ‘भाइरल’ संस्कृतिको दुष्प्रभावले हाम्रा पावन पर्व र संस्कारहरूलाई मनोरञ्जनको सामग्रीमा परिणत गरेको छ। फेसबुक, टिकटक, इन्स्टाग्रामका ‘लाइक’, ‘सेयर’ र ‘कमेन्ट’ को मोहमा हामी आध्यात्मिक मूल्यहरूलाई प्रदर्शनको केन्द्रबिन्दु बनाइरहेका छौँ। धार्मिक तथा सांस्कृतिक महत्त्वका पर्वहरूलाई केवल प्रदर्शनीको ‘कन्टेन्ट’ मात्रै बनाइएको छ।

यो प्रवृत्तिले दसैँ, तिहार, तीजदेखि होली, कृष्णअष्टमी लगायतका पर्वहरूको मूल भावलाई नै प्रभावित पारेको छ। पर्वको वास्तविक सन्देश र आध्यात्मिक महत्त्वभन्दा ‘कति रमाइलो मनाइयो’ भन्ने विषयले प्राथमिकता पाउँछ। हिजोका दिनमा पर्व र संस्कार आत्मअनुशासन, भक्ति र सामूहिक सहकार्यका माध्यम थिए। तर आज, सामाजिक सञ्जालमा ‘भाइरल’ बन्ने मोहले हाम्रो आस्थालाई प्रदर्शनको वस्तु बनाएको छ।

शैक्षिक संस्थाहरूको भूमिका: समस्या कि समाधान?

अझ गम्भीर चिन्ताको विषय के हो भने, शैक्षिक संस्थाहरू, जो सही संस्कार सिकाउने पवित्र स्थल हुन्, तिनैले विकृतिलाई अझ बढावा दिइरहेका छन्। उदाहरणका लागि, हिन्दु नारीहरूको महान् पर्व तीजको व्यावसायीकरण हेरौँ। यो पावन पर्वको विकृतिको ‘ट्रेन्ड’ डरलाग्दो अवस्थामा छ। पर्व मनाउने वास्तविक दिनभन्दा २०-२५ दिन अगावै ‘तीज सेलिब्रेसन’, ‘दर कार्यक्रम’ आदिको नाममा होटल, रेस्टुरेन्ट र पार्टी प्यालेसमा प्रतिस्पर्धा सुरु हुन्छ। यस्तो कार्यबारे प्रश्न उठ्यो भने तर्क दिइन्छ, ‘त्यो दिन सबै ठाउँ पुग्न सकिन्न, व्यस्त हुन्छौँ।’

यसै गरी, दसैँ-तिहारको विकृति पनि बढ्दो छ। घटस्थापनाभन्दा अगावै विद्यालयहरूले जमरा रोप्ने, विद्यार्थीलाई टीका-जमरा लगाएर ‘दसैँ उत्सव’ आयोजना गर्ने प्रचलन बढेको छ। त्यस्तै, दसैँभन्दा अगावै तिहारको रङ्गोली बनाउने, देउसी-भैलोसम्म खेलाएको देख्न त्यति गाह्रो छैन। यसरी सोह्र श्राद्धकै क्रममा बालबालिकाहरूलाई धार्मिक मान्यताविपरीत टीका-जमरा लगाएर दसैँ मनाउने, देउसी खेलाउने जस्ता कार्यहरू भइरहेका छन्। अभिभावकहरू सामाजिक सञ्जालमा गर्वका साथ ‘मेरो बच्चाले स्कुलमा दसैँ मनायो’ भन्दै तस्बिर र भिडियो पोस्ट गर्छन्, तर त्यो बच्चाले पर्वहरूको वास्तविक आध्यात्मिक सन्देश बुझ्यो कि बुझेन भन्नेमा ध्यान दिँदैनन्।

यदि कसैले बीउलाई उचित ऋतु नपर्खी नै खेतमा रोपिदियो भने त्यो न त उम्रिन्छ, न त फल दिन्छ। त्यसै गरी, कुनै पनि पर्वलाई त्यसको वास्तविक तिथि र समयभन्दा अगावै मनाउनु भनेको संस्कृतिको बीउलाई गलत ऋतुमा रोप्नु सरह हो। यसो गर्दा त्यो पर्वको आत्मा हराउँछ, त्यसको महत्त्व र धार्मिक-सामाजिक गहिराइ कमजोर हुन्छ। त्यसैले, ‘पर्व केवल बाहिरी चमक-धमक होइन, यसको सही समयमै गरिने सामूहिक आस्था र अनुशासन हो’ भन्ने कुरा बुझ्न आवश्यक छ।

“लुकेको पाठ्यक्रम” को गम्भीर परिणाम

शिक्षाशास्त्रमा ‘Hidden Curriculum’ भनिने अवधारणा छ। यो विद्यालयले औपचारिक पाठ्यक्रमभन्दा बाहिरका कुराहरूबाट दिने अनौपचारिक शिक्षा हो। जब विद्यालयले श्राद्धपक्षको संवेदनशील समयमा जमरा रोप्छ, धार्मिक मान्यताविपरीत कार्यक्रम गर्छ वा फागुपूर्णिमाअगावै रङ्ग उत्सव गर्छ, तब बालबालिकाले यसैलाई “सही” मानेर आत्मसात् गर्छन्। किनभने ती अबोध बालबालिकाको मस्तिष्कमा विद्यालय वा शिक्षकले सिकाएको मात्रै सही हो भन्ने बुझाइ हुन्छ।

यसको दीर्घकालीन परिणाम के हुनेछ भने, आजका बालबालिका भविष्यमा विकृत संस्कारलाई नै “सही परम्परा” ठानेर अघि बढाउनेछन्। वास्तविक संस्कृतिलाई ‘पुरानो सोच’ भनेर हेला गर्नेछन्।

‘संस्कारयुक्त शिक्षा’ को विडम्बना

सबैभन्दा ठूलो विडम्बना के छ भने, नेपालमा नाम चलेका धेरै विद्यालयहरू आफ्ना विज्ञापनमा गर्वका साथ लेख्छन्- ‘Values Based Education’ वा ‘संस्कारयुक्त शिक्षा।’ तर संस्कारका मूलभूत सिद्धान्तहरू जस्तैः समयपालन, अनुशासन, मर्यादाबोध, श्रद्धा र सांस्कृतिक मौलिकता व्यवहारमा उपेक्षित हुन्छन्। त्यस्ता संस्थाहरू नै विकृतिलाई बढावा दिन र अस्वस्थ प्रतिस्पर्धामा जानाजान सरिक भएका छन्।

मेरो लगभग १७ वर्षको शैक्षिक क्षेत्रको अनुभवमा यस्ता सांस्कृतिक विकृतिहरू बारम्बार देख्दा एक गम्भीर चुनौती महसुस गर्छु- के संस्कार अब मात्र विज्ञापनको शब्द बनेर सीमित भएको छ? वा यसको अर्थ नै बदलिँदैछ? के ‘ट्रेन्ड’ पछ्याउनु नै जिम्मेवार संस्थाको दायित्व हो?

मौनता: सामूहिक जिम्मेवारीको अभाव

सबैभन्दा चिन्ताजनक विषय के हो भने, धर्म, संस्कृति र परम्पराका संरक्षकका रूपमा रहनुपर्ने निकायहरू यस विषयमा मौन छन्। धार्मिक संस्थाहरू, सांस्कृतिक सङ्गठनहरू, बौद्धिक समुदाय र सरकारी निकायहरू यस सांस्कृतिक क्षरणप्रति उदासीन देखिन्छन्। कतिपय अवस्थामा त तिनीहरू नै अन्जानमै यस प्रक्रियामा सरिक भइरहेका हुन्छन्।

संस्कृति संरक्षणका व्यावहारिक उपायहरू

परिवर्तनलाई अस्वीकार गर्नु वैज्ञानिक दृष्टिकोण पक्कै होइन। समयसापेक्ष सुधार तथा परिमार्जन पनि अपरिहार्य छ। तर आधुनिकताका नाममा मौलिकता नष्ट गर्नु, परम्पराको आत्मालाई विस्मृत गर्नु त अपराधसरह हो। यसका लागि तुरुन्त केही ठोस कदम चाल्न आवश्यक छ।

तत्काल गर्नुपर्ने कार्यहरू:

समयसीमाको कडाइ: पर्व-संस्कारसम्बन्धी कार्यक्रमहरू आधिकारिक समयभित्र मात्र आयोजना गरिनुपर्छ।

शिक्षामूलक दृष्टिकोण: विद्यालयले बालबालिकाहरूलाई “किन-कसरी-कहिले-के का लागि” भन्ने गहिरो सन्देश दिनुपर्छ। केवल ‘रिचुअल’ नभएर ‘फिलोसफी’ सिकाउनुपर्छ।

व्यावहारिक संस्कार: ‘संस्कारयुक्त शिक्षा’ केवल विज्ञापनमा नभएर दैनिक व्यवहार र कार्यक्रमहरूमा प्रतिबिम्बित हुनुपर्छ।

दीर्घकालीन रणनीति:

पाठ्यक्रममा सांस्कृतिक मूल्यबोधलाई अनिवार्य विषयका रूपमा समावेश गर्ने।

शिक्षकहरूका लागि सांस्कृतिक संवेदनशीलताका तालिम कार्यक्रम सञ्चालन गर्ने।

मिडिया र सामाजिक सञ्जालमार्फत सकारात्मक सांस्कृतिक सामग्रीको प्रवर्द्धन गर्ने।

निष्कर्ष: भविष्यका लागि हाम्रो जिम्मेवारी

आज हामी सुविधा र प्रदर्शनको लालचमा डुबेर मौलिकताको बलिदान दिइरहेका छौँ। यसको परिणाम आगामी पुस्ताले विकृत परम्परालाई नै ‘साँचो संस्कृति’ मानेर अघि बढाउने हो। वास्तविक सांस्कृतिक मूल्यहरूलाई ‘रूढिवादी चिन्तन’ को सङ्ज्ञा दिएर उपेक्षा गरिने खतरा दिन-दिनै बढ्दैछ।

यसका लागि दोषी अरू कोही होइन, हामी सबै- विद्यालयका सञ्चालक, शिक्षक, अभिभावक, समुदाय र नीति निर्माताहरू स्वयं नै हौँ। हाम्रो आजको सुस्ती र उदासीनता भोलिका पुस्ताका लागि ठूलो श्राप बन्नेछ।

समयको मागअनुसार आधुनिकतालाई स्वीकार गरौँ, तर मौलिकताको आत्मालाई कहिल्यै त्याग नगरौँ। शैक्षिक संस्थाहरूले केवल प्रदर्शनमुखी कार्यक्रम नगरेर गहन सांस्कृतिक सन्देश र मूल्यबोध प्रवाह गर्ने महान् जिम्मेवारी पूरा गरून्। नत्र आजको हाम्रो मौनता र निष्क्रियता आगामी पुस्ताहरूका लागि अक्षम्य पाप हुनेछ, जसको जवाफ हामी सबैले दिनुपर्नेछ।

वास्तविक संस्कार भनेको केवल रीतिरिवाज मनाउनु नभएर जीवनमा मूल्यबोधको प्रत्यारोपण गर्नु हो। यही हाम्रो सामूहिक जिम्मेवारी हो।


प्रतिक्रिया

5 thoughts on “खोक्रो संस्कार : शिक्षा र संस्कृतिमा बढ्दो विकृति

      1. गज्जब र सटिक विश्लेषण । यहि हो वास्तबमा ।

  1. “वर्तमान नेपाली समाजको यथार्थ”
    हामीले हाम्रो सांस्कृतिक जरोलाई जोगाउनका लागि सामूहिक जिम्मेवारी बहन गर्नुपर्ने आवश्यकता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *