मलाई देशको छ चिन्ता, तिमी यो पुगेन ऊ पुगेन मात्र भन्छौ
राजनीतिक लेखहरूबाट टाढिएर आफ्नै संसारमा रमाइरहेको थिएँ। सामाजिक लेख, गीत, कविता र मनपर्ने पुस्तकहरूमा मन डुबाएर बसेको थिएँ। तर आज अचानक मन फेरि देशको चिन्ताले भरियो र कलम आफै दौडिन थाल्यो। यदि यो एउटै पार्टीको मात्र कुरा हुन्थ्यो भने मन बुझाउने ठाउँ पनि हुन्थ्यो। तर जब देशको अस्तित्वमाथि नै छिमेकीहरूको अतिक्रमणको सङ्केत देखिन्छ, तब एउटा जिम्मेवार ठूलो पार्टीभित्र “बा” र “आमा”को यो विवादलाई मनले स्वीकार गर्न सकेन।
सायद मेरो मन र मस्तिष्क मिलेर नै मेरो हातको कलम चलाएको हुनुपर्छ। मलाई लागेको कुरा सबैलाई ठीक नलाग्न सक्छ, तर यसरी पनि सोच्नेहरू छन् भन्ने कुराले विभिन्न तहका नेतागण तथा कार्यकर्ताहरूको मनभित्र अलि खुला र फराकिलो सोचको विकास गर्न सहयोग पुग्नेछ भन्ने आशा राख्दछु।
एमालेभित्रको वैचारिक विचलन
आफ्नो पूजा गर्ने कार्यकर्तालाई मात्र दह्रो संरक्षण दिने “केपी बा” र डोमिनेट शैलीमा नकारात्मक सन्देश फैलाउने एक पङ्क्तिका छोराछोरीहरूको मात्र पार्टी एमाले नबनोस्। आजकल विचार, सिद्धान्त, बहस र निचोडको आधारमा पार्टी अगाडि बढेको छ कि छैन भन्ने प्रश्न उठेको छ। स्पष्ट भन्न पनि डर, नभन्दा पनि बिग्रने डरले चिन्तित हुनेहरूको आवाज बाक्लै सुनिन्छ।
एमालेभित्रै देशभक्त, ‘समृद्ध नेपाल, सुखी नेपाली’का अभियन्ता, निरन्तर खट्न सक्ने, परिश्रमी, प्रतिस्पर्धाहरू छिचोलेर धरहराको टुप्पोमा पुग्न सफल, सगरमाथाको चुचुरोसम्म पुग्ने क्षमता राख्ने राजनेताका रूपमा केपी ओलीलाई लिनेहरूको पनि राम्रै जमात छ। सत्यको पक्षमा निर्धक्क अडान लिन सक्ने नेताका रूपमा उहाँलाई नेता, कार्यकर्ता, व्यापारी, बालबालिका, कलाकार, खेलाडी र शुभचिन्तकहरूले ‘केपी बा’ भनेर सम्मान गरेको पनि देखिन्छ।
पार्टी पटक-पटक फुटको सङ्घारबाट हुर्किएर यहाँसम्म आइपुग्दा थुप्रै नेताहरू फुटेर गएपछि पार्टीलाई आफ्नो अस्तित्व जोगाउन धौ-धौ परेको इतिहास छर्लङ्ग छ। यस्तो परिस्थितिमा पनि पार्टीको मूलधारलाई जोगाउन निरन्तर त्याग र बलिदान गरिरहने नेता, कार्यकर्ता, शुभचिन्तक र जनताको भूमिका महत्त्वपूर्ण हुन्छ। देश र जनताको विश्वास जितेको एमाले नेतृत्वप्रति यही विश्वासका आधारमा धेरै मानिसहरूको भरोसा छ।
योगदान र विश्वासको बलियो जग
हामीजस्ता कुनै लोभ र आकाङ्क्षा नभएका मानिसहरूको पनि पार्टीप्रति एकोहोरो विश्वास छ कि, एक दिन यसले दुःखी, गरिब र निमुखाका पक्षमा उभिएर देश र जनताका लागि काम गर्नेछ। हाम्रै पालामा देश समृद्ध हुनेछ र हामी सबै नेपाली एकआपसमा मिलेर खुसीले बाँच्न पाउनेछौँ भन्ने अभिलाषाका साथ दशकौँदेखि विभिन्न माध्यमबाट (श्रम, विचार र आर्थिक स्रोत) योगदान दिनेहरूको नेतृत्वप्रति अगाध भरोसा छ।
७० वर्षभन्दा माथिका नेताहरूले सहिदहरूको बलिदान र सङ्क्रमणकालदेखिका विशेष नेतृत्वदायी भूमिकामार्फत गणतन्त्रसम्म ल्याउन महत्त्वपूर्ण योगदान दिएका छन्। ५०-७० वर्षका नेता-कार्यकर्ताहरूले सानै उमेरदेखि मूल नेतृत्वको सारथी बनेका हुन्। ५० वर्षभन्दा मुनिका नेता-कार्यकर्ताहरूले पनि अहिले फरक र सहज परिस्थिति भए पनि पार्टीलाई गतिशील बनाउन सकारात्मक र नकारात्मक दुवै प्रकारका थुप्रै योगदान दिएका छन्।
हो, एमाले मात्र यस्तो पार्टी हो जो बहुआयामिक शक्तिहरूबाट बनेको छ। यसलाई कुनै पनि हालतमा भङ्ग हुन दिनु हुँदैन। एमाले कमजोर हुनु भनेको देश कमजोर हुनु हो। यो एक नेताले चलेको पार्टी नभई सामूहिक स्रोतबाट चलेको पार्टी हो। सामूहिक अपनत्व लिन खोज्ने जमात पनि यहाँ बलियो छ। एमालेको सङ्गठनात्मक संरचना अत्यन्त भरपर्दो छ, जुन अरूलाई लोभ लाग्दो र नक्कल गर्न नसकिने खालको छ।
आवश्यक परेको बेला पार्टीको मूल धारमै रहेर अन्तरसङ्घर्ष गरी जायज मुद्दाहरू स्थापित गर्ने, नयाँ सिद्धान्त र नेता स्थापित गर्दै अगाडि बढेको पार्टी हो नेकपा एमाले। अहिले पनि केही बिग्रिएको छैन। अझ ठूलो सोच, मन र चेतनाका साथ फराकिलो ढङ्गले अगाडि बढोस् भन्ने आशा राखौँ।
इतिहासका मोडहरू र राजनीतिक विचलन
बहुदलीय जनवादका आविष्कारक कमरेड मदन भण्डारीको नेतृत्वमा विभिन्न नेतागणहरूको एकताबद्धता र जनवादी कार्यक्रमहरूको प्रतिबद्धता बोकेर तीव्र गतिमा अगाडि बढिरहेको समयमा अचानक रहस्यमय दुर्घटनाबाट सिद्धान्तकार तत्कालीन महासचिव मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितलाई सदाका लागि गुमाउनु पर्यो।
त्यो पीडालाई शक्तिमा बदल्न कमरेड मनमोहन अधिकारीको नेतृत्वमा एमाले एक ढिक्का भएर ९ महिने छोटो शासनकालमा अत्यन्त जनमुखी काम गरी लोकप्रियता कमाएको थियो। दुर्भाग्यवश, अत्यन्त दुःखद हेलिकोप्टर दुर्घटनाबाट बचेर अस्पतालमा छटपटाइरहेको अवस्थामा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई प्रतिपक्षी पार्टीले कायरतापूर्वक अविश्वासको प्रस्ताव ल्यायो। अस्पतालबाट निस्केपछि राजीनामा दिन्छु भन्दा पनि नमानेर गरिएको त्यो हठ नै आजसम्मको सबैभन्दा घातक राजनीतिक अस्थिरताको बीजारोपण थियो।
त्यतिबेलाको प्रतिपक्षी कांग्रेससँग स्पष्ट बहुमतको सरकार हुँदाहुँदै पनि आफ्नै आन्तरिक कलहले संसद् विघटन गरी मध्यावधि चुनावको घोषणा गरेको थियो। चुनावमा कांग्रेस अनुकूल जनमत आएपछि संसद्मा उपस्थित भयो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकै कारणले मध्यावधिमा गए पनि परिणाम प्रतिकूल रह्यो। एमाले प्रमुख ठूलो दल बन्यो, तर कसैको बहुमत आएन। मनमोहन अधिकारीको नेतृत्वमा सरकार बन्यो। बहुमत नभएकाले अविश्वास प्रस्तावमार्फत अपमानित ढङ्गले सत्ताच्यूत गरियो। परिणामस्वरूप मनमोहन अधिकारीले पनि मध्यावधि चुनावको घोषणा गर्नुभयो, तर अदालतले रोकिदियो।
यसरी रोपिएको अस्थिरताको बीउ पूर्व पञ्चहरू लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाका रूपमा जुम्ल्याहा भाइ उम्रिए। यता एमाले कांग्रेससँग अपमानको बदला लिन खोज्दै थियो भने उता कांग्रेसमा फुट आयो। पूर्व पञ्चहरूलाई खेलाउन एमाले-कांग्रेस पार्टीहरूको अस्वस्थ प्रतिस्पर्धा सुरु भयो। परिणाम उल्टो भयो, पूर्व पञ्चहरूले नै यी ठूला पार्टीहरूलाई खेलाउन थाले। बदलाको भावना कति खतरनाक हुँदो रहेछ भन्ने यसबाट प्रस्ट हुन्छ।
जब जंगलमा माओवादी प्रवेश गरिसकेको थियो, तत्कालीन राजा वीरेन्द्रको सम्पूर्ण परिवारको रहस्यमय नरसंहारपछि राजा बनेका ज्ञानेन्द्रले सत्तामाथि आँखा गाड्न थाले। माओवादीले आन्दोलनलाई तीव्र रूपमा अगाडि बढाउँदै लग्यो र राजाले पनि प्रत्यक्ष शासन आफ्नो हातमा लिए। राजाले माओवादी आन्दोलनप्रति मात्र होइन, संसदीय पार्टीहरूप्रति पनि चर्को दमन गर्न थाले।
माओवादी आन्दोलनमा कार्यकर्ता, सेना, पुलिस र धेरै जनताले बलिदान दिए। अन्ततः १२ बुँदे सम्झौताका लागि छिमेकी देशमा गएर संसदीय दलहरू र माओवादी एक भएर राजालाई घुँडा टेकाए। राजदरबारबाटै श्रीपेच खोल्न लगाएर सामान्य नागरिक भएर बस्ने आदेश दिए। पूर्व राजा पनि लुरुक्क मानेर परिवारसहित नारायणहिटी छोडे। आजकल नारायणहिटी दरबार सङ्ग्रहालयका रूपमा रहेको छ।
देशको राजनीतिक स्वरूप परिवर्तन भयो। गणतान्त्रिक मुलुकका प्रथम राष्ट्रपति रामवरण यादव हुनुभयो भने प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुभयो। बहुमत नजिकको जनमत लिएर सरकार बनाउनु भयो। सबैको ठूलो आशा थियो कि उहाँले केही गर्नुहुनेछ।
सर्वहारा जनताको शक्तिशाली सरकार थियो, तर आफ्नै कार्यशैलीले एउटा आफ्नै मातहतको सेना प्रमुखसँग तालमेल मिलाउन नसकेर र आफ्नो शक्ति तथा अनुभवको पूर्ण हेक्का नराखेर नै गणतन्त्रका प्रथम प्रधानमन्त्री तथा सशस्त्र आन्दोलनका सुप्रिम कमान्डरले आफ्नो सिङ आफैले रूखको जरामा अल्झाएर फुकालेझैँ भयो। शक्ति पृथकीकरणको सिद्धान्तमा अलिकति मात्र असन्तुलन हुँदा समग्र सन्तुलन खल्बलिन्छ। त्यसपछि एउटा सिङ फुस्केका प्रचण्डमाथि विभिन्न आक्रमण हुने नै भए। त्यसपछि उहाँलाई पुनः नेतृत्वमा आउन धेरै धौ-धौ भयो।
जे भए पनि, गणतान्त्रिक संविधान त बन्यो। यो २०४६ सालदेखिकै आजसम्मका विभिन्न आन्दोलनहरूको एउटा महत्त्वपूर्ण उपलब्धि थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल गणतन्त्रका नायक नै हुन्। उहाँले जसरी भए पनि, अनेक दुःखका कथा भए पनि इतिहास बनाउँदै आउनुभएको छ। मानवजीवन अझ राम्रो होस् भनेर जनताले यसलाई स्वीकार गरेका थिए र गर्दै जानेछन् पनि। तथापि, गणतन्त्र ल्याउन कांग्रेस र एमालेलगायतका अन्य संसदीय दलहरूको पनि त्यतिकै महत्त्वपूर्ण योगदान छ।
यति धेरै दुःखले बनाएको संविधानलाई सफल बनाउनुपर्छ भन्नेहरूको आवाज ठूलो छ। निरन्तरको अस्थिरता, साना दलहरू बन्ने क्रम, राजवादीहरूको टाउको उठाउने प्रयास र कुनै न कुनै बहानामा अस्थिरतामा रमाउनेहरूको प्रवृत्तिले गणतन्त्रको मर्ममै प्रहार गरिरहेको छ।
दाहालको ‘गुमेको अवसर’
बिस्तारै माओवादी पार्टी खुम्चिन थाल्यो। यदि सुरुवाती चरणमै सरकारको काम डा. बाबुराम भट्टराईलाई जिम्मा दिएर पार्टीको कमान्ड प्रचण्डले सम्हालेको भए सायद नेपालको भविष्य सुन्दर हुन्थ्यो होला भन्ने अनुमान गर्न सकिन्छ। यहाँ आएर पुष्पकमल दाहालले सर्वमान्य राजनेता बन्ने अवसर गुमाउनुभयो। राजनीतिमा एक पटक राम्रो अवसर गुमाउँदा पुनः त्यो उचाइमा पुग्न कठिन हुन्छ। गणतन्त्र आएपछि प्रचण्डको बढी सङ्गत ‘हिजो बोरामा टाउको राखेर ल्याऊ, बोराभरि पैसा लिएर जाऊ’ भन्नेहरूसँग देखियो। आखिर यो विचलन नै हो।
जबजको मार्गनिर्देशनमा मनमोहन अधिकारीको नेतृत्वमा एमालेले ९ महिने शासनकालमा राम्रो काम गर्न सकेकाले नेपालमा वामपन्थीहरूप्रति अगाध प्रेम गर्ने नेपालीहरूको सङ्ख्या बढ्दो छ। यद्यपि माओवादीको अवस्था भने बैसाखी नटेकी उड्न नमिल्नेजस्तो देखिन्छ।
शायद यही आकलन गरेर पनि हुन सक्छ, आजकल नयाँ संसद्को चौथो ठूलो दलसँग उहाँको हिमचिम बढ्दो छ। तर पनि कमरेड प्रचण्डलाई सामान्य नेता ठान्नु मूर्खता हुनेछ। ‘हुन्छ पनि, हुन्न पनि’ भन्ने मार्क्सवादको सिद्धान्तमा टेकेर भोलि उहाँले कस्तो कदम चाल्नुहोला, बुझ्न सकिँदैन। यदि देश र जनताको पक्षमा कदम चाल्नुभयो भने उहाँलाई स्वागत गरौँला र गणतन्त्रका पिता पनि मानौँला।
अब अनावश्यक रूपमा बुढा नेताहरूलाई सम्मानित गर्नका लागि मात्र पार्टी एकता गर्नु जरुरी छैन। समयले मागेको विचार मिल्ने ठूलो पार्टीमा समाहित हुँदै जानुको विकल्प छैन। टुक्रिएर बस्ने धेरै कम्युनिस्ट पार्टीहरू हुन जरुरी छैन। एमाले-माओवादीको तत्काल एकता सम्भव छैन, तर बिस्तारै प्राकृतिक प्रक्रिया र गुरुत्वाकर्षणको नियममा आधारित भएर प्रतिस्पर्धा गर्दै एक दिन एउटैमा विलय हुनुको विकल्प छैन।
ओली-भण्डारी विवाद
एमालेको आन्तरिक कलहबाट लामो समय पेलिएर पनि निरन्तर शक्ति सञ्चय गर्दै एउटा ठूलो पार्टी पङ्क्तिलाई साथमा लिन सफल हुनुका साथै पार्टी अध्यक्ष र चौथो पटक प्रधानमन्त्री बन्न सफल हुनुभएका केपी ओलीलाई यहाँसम्म ल्याउन विद्या भण्डारीको पनि ठूलो भूमिका छ। पार्टीभित्र एक रथका दुई पाङ्ग्राजस्तै थिए उहाँहरू। दुवै राज्यको सर्वोच्च पदमा पुग्नु एकअर्काको सहकार्यको सफलता थियो।
आज कमरेड केपी ओली निकै शक्तिशाली प्रधानमन्त्रीसँगै देशकै शक्तिशाली नेता बन्नुभएको छ। उहाँ देशको सर्वमान्य राजनेता बन्ने लाइनमा हुनुहुन्छ। जनताको बहुदलीय जनवादका प्रमुख अनुयायी अर्थात् कमरेड मदन भण्डारीको उत्तराधिकारी पनि हुनुहुन्छ। उहाँकै नेतृत्वमा एमाले पार्टी हिँडेको छ। एकथरीले उहाँलाई ‘बा’को दर्जा दिएका छन् भने अर्को थरी विरोधीहरूको जमात पनि ठूलै छ।
विगत दुई दशकदेखि लगातार पार्टीलाई विभिन्न आक्रमणबाट जोगाएर, उतारचढावबाट पार लगाउन मात्र होइन, समृद्ध नेपाल, सुखी नेपाली बनाउने भिजन दिने विकासप्रेमी, देशभक्त र राष्ट्रवादी नेताको छाप उहाँले बनाउनुभएको छ। तर उहाँको शब्दको जुहारी खेल्ने स्वभावले लाजमर्दो अवस्था पनि सिर्जना गरेको छ भन्ने आलोचना बुद्धिजीवीदेखि आम मानिससम्मबाट सुनिन्छ। उहाँको बौद्धिक क्षमतामा प्रश्न नभए पनि साँचो बौद्धिक मानिस कम बोल्छ, धेरै सुन्छ र समस्याको समाधान हुने गरी बोल्छ भन्ने धारणा पनि व्यापक छ।
जे भए पनि, उहाँका समर्थकहरू र आलोचकहरू दुवै बलिया छन्। उहाँ पार्टी सदस्यबीच मात्र नभएर समग्र नेपालीहरूमाझ लोकप्रिय हुनुहुन्छ। तर सामाजिक सञ्जालमा हुने आक्रामक समर्थन र विरोधले एक किसिमको सामाजिक सञ्जाल हेर्नै नसकिने भएको छ।
पटक-पटक फुटबाट यहाँसम्म आएको पार्टीभित्र लगातार सुखदुःखका सारथी बनेका दुई नेता कमरेड केपी ओली र कमरेड विद्या भण्डारीबीचको यो तिक्तता साँच्चै दुःखको कुरा हो। हिजोका दिग्गज नेताहरू पार्टी छोडेर गए पनि, नयाँ पुस्ताको नेतृत्व चयन हुने बेलामा यसरी छिर्के हानेर लडाउने खेलको मतियार सम्मानित व्यक्तित्वहरू बन्नु हुँदैनथ्यो।
पूर्व राष्ट्रपतिजस्तो व्यक्तित्वलाई यति हदसम्म अपमानको आभास गराउनु ठीक होइन कि भन्ने प्रश्न पनि उठ्छ। पूर्व राष्ट्रपति पनि यसरी मैदानमा उत्रनु जरुरी थियो र? अरू कुनै विकल्प थिएनन्? पार्टी र नेतृत्व शङ्काले घेरिएको बेला अप्राकृतिक तरिकाले बाध्यता सिर्जना गर्नु पनि ठीक होइन कि?
उहाँहरूबीचको समझदारी के थियो? पार्टी नेतृत्वले किन उहाँलाई शङ्काको घेरामा राखेको छ? यो आन्तरिक कुरा भए पनि यसको समाधान प्रधानमन्त्री र पूर्व राष्ट्रपतिले आपसी छलफल गरेर मिलाउनु नै बुद्धिमानी हुन्छ।
मदन भण्डारीकै जीवनसङ्गिनी पूर्व राष्ट्रपतिले नै अन्याय भयो भनेर देशैभरिका नेता, कार्यकर्ता र जनतामाझ आउनुपर्ने बाध्यता किन सिर्जना भयो? आजकल एमालेमा बोल्न पाइँदैन भन्ने भाष्य किन व्यापक बनाइँदै छ? यो मलाई पनि खुल्दुली लाग्ने विषय हो। बाहिरबाट हेर्दा र बुझ्दा लाग्छ कि हिजो जस्तै मजाले बोल्न पाइन्छ, तर पार्टीका कार्यशैली र सोचअनुसारको काम नभएको खण्डमा मात्र फरक मत राख्न पाइन्छ। नेतृत्वमाथि पनि आफ्ना असन्तुष्टि राख्न पाइन्छ, तर पार्टीको आधिकारिक ठाउँमा मात्र। आजकल मिडियामा सीधै इतर पक्षको छाडा शैलीमा बोल्ने प्रवृत्ति नियन्त्रण गर्न र पार्टीलाई अनुशासित बनाउन यो कदम चालिएको हो कि?
अन्त्यमा, राष्ट्रिय सरोकारको प्रश्न
‘घर झगडामा शत्रुको रजाइँ’ कहिल्यै कसैको भलो हुँदैन। एउटा नझुक्ने, अर्कोले नस्वीकार्ने हो भने प्रतिशोधको इतिहास दोहोरिनेछ। अदालतले नेकपा फुटायो, एमाले दम्भ र इखले फुट्यो। आखिर के मिल्यो?
म उमेर हदबन्दीको पहिलेदेखि नै विरोधी थिएँ। यो सोच हाम्रो देशको अवस्थामा अलि चाँडै आएको हो। प्रमुख कार्यकारी पदमा दुई कार्यकाल भने नेपाली परिवेशअनुसार ठीकै छ। तर पनि राजनीतिमा आउन र नेतृत्व गर्न उमेरले छेक्दैन। हाम्रो जस्तो लोकतन्त्रको जग बलियो नभएको देशमा पदाधिकारीको दुई कार्यकाल पनि कठिन देखिन्छ। ‘नमच्चिने पिङलाई सय झड्का’ दिए पनि मच्चिँदैन। समग्र राजनीतिक चेतनाको स्तरको विकास गरौँ अनि मात्र कागजमा आधुनिक नियम, कानुन बनाउने गरौँ।
सरकारले गरेका भौतिक विकास निर्माणदेखि अर्थतन्त्र सुधारसम्मका राम्रा कामहरूको ठूलो स्वरले वकालत गरौँ। गलत कुराहरूको विरोध पनि गरौँ, तर सकारात्मक परिणामको अपेक्षा राखेर मात्र। निरन्तर एकअर्कामाथि लाञ्छना मात्र लगाउने हो भने छुट्टै दोहोरी पार्टी कार्यालय बनाए हुन्छ।
सिद्धान्तमा बिमेल, नयाँ सोचको अभाव र अरूको एजेन्डा स्वीकार गर्न नसकेपछि विद्रोह हुनु राजनीतिक हिसाबले ठीकै हो। तर एउटै सिद्धान्तमा उभिएर व्यक्तिको टकरावले पार्टी कमजोर बनाउनु र जनताको मुद्दामा कामै गर्न नपाउने वातावरण हुनु हामीजस्ता शुभचिन्तकहरूका लागि चिन्ताको विषय हो।
छिमेकीले हाम्रो भूमि मिचेको छ। दुई ठूला देश मिलेर नेपालमाथि तलमाथि गर्न खोजेको बेला हामीले निहुँ खोजेर लडेर जित्न सकिँदैन, तर हामी नेपाली एक भएर कूटनीतिक तरिकाले सुझबुझपूर्ण ढङ्गले समस्या समाधान गर्नुपर्ने बेलामा आफ्नै पार्टीभित्र पूर्व राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्रीबीच सार्वजनिक रूपमा घोचपेच हुनु ठीक भएन। पार्टीका कुरा पार्टीभित्रै सुस्पष्ट र न्यायोचित तरिकाले छलफलबाट टुङ्गाउनु पर्छ।
दाउ, पेच, छल, कपट, कूटनीतिक वा वैचारिक जे नाम दिए पनि यो राजनीतिको चरित्र हो। तर कसैलाई अपमानित गरेर आफ्नो शक्ति आर्जन हुन्छ भन्ने भ्रम पनि त्याग्न जरुरी छ। राष्ट्रिय गम्भीरताभन्दा माथि उठेर सोच्नु पर्ने हैन र? इगो त्यागेर यसमा सुधार ल्याउन जरुरी छ।
हाम्रो इतिहासमा बहादुर शाह, भीमसेन थापा, जङ्गबहादुरदेखि बीपी, मातृका, मनमोहनसम्म सबै काबिल शासक हुँदाहुँदै पनि कतै न कतै बदलाको चक्रव्यूहमा फसेका छन्। हामी नेपालीले त्यसको मूल्य चुकाएका छौँ र अझै कति चुकाउनुपर्ने हो, त्यो इतिहासले नै बताउला।
शत्रुले आक्रमण गर्दा नेपाली सबै एक हुनुपर्छ। पार्टीलाई आक्रमण हुँदा नेता, कार्यकर्ता एकढिक्का हुनुपर्छ। सैद्धान्तिक बहसविना पार्टी फुट्दा मूल घर समाल्नुपर्छ। पार्टीको आन्तरिक बहसमा सधैँ सत्यको पक्षमा सङ्घर्ष गर्नु। अल्पमतमा परेपनि स्वीकारेर निरन्तर देश र जनताका लागि जस्तोसुकै मूल्य चुकाउन सक्नुपर्छ। निरन्तरको सङ्घर्षमा समयले फेरि कोल्टे फेरेर काँध थाप्न खोज्यो भने हरेक रूपले नेतृत्वको काँध थाप्न तयार हुनुपर्छ, तब मात्र जन-जनको मनमा अट्ने राजनेता बन्न सकिन्छ।
हुर्कायो बढायो ठूलो बनेपछि फुट्नै पर्ने कस्तो जात हो?
पैदल हिँड्नेहरू पजेरोमा चढ्न थालेपछि बढ्छ मात पो?
धैर्य, संयम बनेर देश र आम जनताको भलो सोच्ने पो को?
सुखशान्ति, समृद्धि देख्ने सपनाको महलमा दिउँसै रात भो।
