शब्दको खोजी : अन्तहीन यात्रा

उपयुक्त शब्दको खोजीमा समय बिताउनु भनेको आफैँलाई फुर्सदमा पनि अझ बेफुर्सदी पार्नु हो। किनभने, खोज्नुबित्तिकै खोजेको शब्द कहाँ भेट्न सकिन्छ र? शब्द हराएको हुँदैन, कतै लुकेको हुँदैन, र लुकामारी पनि खेलिरहेको हुँदैन। शब्द यतै-कतै हामीलाई नै हेरिरहेको हुनसक्छ, तर हामी त्यसलाई भेट्न र देख्न सक्दैनौँ। कहिलेकाहीँ देखेको शब्दलाई पनि अनुभूतिमा व्यक्त गर्न सकिँदैन।

एउटै शब्दले हजारौँ अर्थ अभिव्यक्त गर्न सक्छ र फरक-फरक अर्थ पनि दिन सक्छ। शब्दको सही चयनले अनुभूतिलाई जीवन्त बनाइदिन्छ। त्यही जीवन्त अनुभूतिको स्वादमा पाठकहरू आकर्षित हुन्छन्। जीवन्त अनुभूति दिन सक्नु नै लेखकको क्षमता हो। त्यसका लागि शब्द-शक्तिको ठूलो महत्त्व र आवश्यकता हुन्छ।

विचारको सुललित प्रवाह, अनुभूतिको गहिरो सम्प्रेषण वा लेखकीय पहिचानको मौलिकता स्थापनाका लागि पनि उपयुक्त शब्द-संरचना जरुरी हुन्छ। जसरी एउटा कलात्मक, सुन्दर र मौलिकताले भरिएको चित्र रचनामा रङ संयोजनको कुशलताले त्यसलाई जीवन्त आकार दिन सक्छ, त्यसैगरी लेखकीय सिर्जनामा पनि रङको भूमिका जस्तै शब्दको भूमिका गहकिलो हुने गर्छ।

विचार, भाव, शैली, शीर्षक अनुसारको प्रस्तुति, विषयको उठान, विश्लेषण र बिसाउनीको सटिक अनुभूति उत्तिकै मन छुने हुन सक्नुपर्छ।

वास्तवमा, शब्दको खोजी गर्नु आफैँमा एउटा अन्तहीन यात्रा जस्तै हो।

शब्दहरू हाम्रो विचारका रङ हुन्, भावनाका स्वर हुन् र अनुभूतिका आकृति हुन्। कहिलेकाहीँ तिनलाई खोज्नमा बिताएको समयले हामीलाई फुर्सदमा पनि बेफुर्सदी बनाइदिन्छ, हैरान पार्छ र घायल बनाउँछ।

मानौँ, कुनै हराएको चीज खोजिरहेका छौँ, जब कि त्यो हाम्रै छेउमा, हामीलाई नै हेरिरहेको हुन्छ। शब्दहरू लुकामारी खेलिरहेका हुँदैनन्, बरु हामी नै तिनलाई देख्न सकिरहेका हुँदैनौँ। उनीहरूले धारण गरेका हजारौँ अर्थहरूलाई हामी एकैपटकमा बुझ्न सक्दैनौँ। यही कारणले कहिलेकाहीँ हामीले देखेका शब्दलाई पनि अनुभूतिमार्फत व्यक्त गर्न कठिन हुन्छ।

अनुभूतिको स्पन्दन र शब्दको शक्ति अत्यन्तै गम्भीर हुन्छ।

एकै शब्दले फरक-फरक सन्दर्भमा फरक-फरक अर्थ दिन सक्छ। एउटा शब्दले कहिले प्रेमको गहिराइ नाप्छ त कहिले विरहको पीडा पोख्छ। शब्दहरूको सही प्रयोगले नै कुनै पनि अनुभूतिलाई जीवन्त बनाइदिन्छ। लेखकले उपयुक्त शब्द-चयन गर्दा पाठकहरू त्यस जीवन्त अनुभूतिको स्वादमा डुब्न सक्छन्। यो कुनै जादू होइन, यो त लेखकको शब्द-शक्तिको ज्ञान र क्षमता हो। विचारको सुमधुर प्रवाह, गहिरो भावनात्मक सम्प्रेषण र लेखकको मौलिक पहिचानका निम्ति शब्दको संरचना अत्यावश्यक हुन्छ।

आलाकाँचा, नमिल्दा, अप्ठ्यारा, ऐठन गराउने शब्दहरूले भावनामा सन्तुलन दिन सक्दैनन्। पाठकलाई ठेस लाग्छ र पाठकीय मन पठनमा रमाउन सक्दैन। त्यसैले शब्द छान्नुको चातुर्य लेखकको क्षमताको कुरा हो, जसरी कुशल चालकले कुशलतापूर्वक सवारी चलाएर गन्तव्यमा पुर्‍याउन सक्छ। त्यसरी नै कुशल शब्दशिल्पीले शब्दको उपयुक्त खोजी गरेर आफ्ना अनुभूतिहरूलाई पाठक समक्ष कलात्मक र आकर्षक रूपमा प्रस्तुत गराउन सक्छ।

लेखनलाई चित्रकलासँग तुलना गर्न सकिन्छ। जसरी एक कुशल चित्रकारले रङहरूको सुन्दर संयोजनबाट एउटा मौलिक र कलात्मक चित्र सिर्जना गर्छ, त्यसरी नै एक लेखकले शब्दहरूलाई रङका रूपमा प्रयोग गरी आफ्ना विचार र भावनालाई आकार दिन्छ। चित्रमा रङको भूमिका जस्तै, लेखनमा शब्दको भूमिका गहिरो हुन्छ। हरेक शब्दले आफ्नै रङ र प्रकाश बोकेको हुन्छ। यसको सही प्रयोगले नै कुनै पनि साहित्यिक सिर्जनालाई जीवन्त र पठनीय बनाउँछ।

शब्दको खोजी शब्दकोश पल्टाउनु मात्र होइन, यो आफैँलाई बुझ्नु र आफ्नो विचारसँग एकाकार हुनु पनि हो। शब्दहरूले हामीलाई हाम्रो अनुभूतिको गहिराइमा पुर्‍याउन सहयोग गर्छन्। तिनीहरूको सही प्रयोगले नै हामी हाम्रो मनको कुना-कुनामा रहेका अव्यक्त भावनाहरूलाई पनि व्यक्त गर्न सक्षम हुन्छौँ।

अतः शब्दको खोजी एक साधना हो- आफैँसँगको संवादको, गहिरो चिन्तनको र आफ्नो सिर्जनालाई पूर्णता दिने एउटा अथक प्रयासको।

एउटा-एउटा शब्दहरूलाई शब्दको बारीमा सिर्जनाको बारीमा सिला खोज्दै, झारपातजति उखेलेर फाल्दै, फूल र हुर्किएका बोटबिरुवालाई उकेरा लगाउँदै म आफ्नै किसिमको एउटा नयाँ शब्द खोजिरहेको छु। त्यो त्यस्तो शब्द, जसले मेरो लेखनलाई नयाँपनको लुगाले सजाइदिन सक्छ। त्यसमा सिँगारपटार गरेर सौन्दर्यमय स्वरूपको संरचना निर्माण गरिदिन सक्छ।

हो, म त्यही अनुकूल शब्द खोजिरहेको छु। जुन शब्दले मेरो भावनाको प्रतिनिधित्व गर्न सकोस्। मैले खोजेको शब्दले मेरो अनुभूतिलाई अक्षरमा अभिव्यक्त गरिदिन मद्दत गरोस्।

वास्तवमा शब्द खोज्नु, खोजेको शब्दलाई भेट्नु र भेटिएको शब्दलाई अनुभूतिका अक्षरहरूमा सिलसिला मिलाएर कलात्मक मिठास भरेर पाठकीय मनसम्म पुर्‍याउन निकै कठिन हुन्छ। तर यस्तो कठिन काम गर्नु पनि एउटा लेखकका लागि सङ्घर्ष मात्र हुँदैन, आनन्दसँगै आत्मसन्तोषको सुखद अनुभूति हुन्छ।

कतिपय शब्दहरूसँग शब्दहरू ठक्कर खान्छन्। तिनलाई मिलाउन सङ्घर्षको मैदानबाट मेलमिलापको वा भनौँ मित्रताको अँगालोमा भेटाउन गाह्रो हुन्छ।

उपयुक्त शब्दको खोजी अनवरत कार्य हो। त्यस्तो शब्दको खोजी, जुन शब्दले उसको भावनाको सही प्रतिनिधित्व गर्न सकोस्। उसको अनुभूतिको गहिराइलाई अक्षरमा अभिव्यक्त गरिदिन मद्दत गरोस्।

उपयुक्त शब्द नभएर अनुभूतिले गन्तव्य भेट्न सकिरहेको हुँदैन। अनुभूतिमा खास आकर्षण हुँदैन। खोजेको शब्द पाएपछि भावनाले सिलसिला भेट्छ। त्यसपछि कठिन काम सजिलो बन्छ। त्यहाँ सौन्दर्यको सुनौलो बिहान उदाउँछ।

त्यो कलिलो बिहान, भर्खर ब्युँझिएका मनहरू! आँखा मिच्दै, उल्लासको ऊर्जाले नयाँ कामको थालनीमा तौँतार गर्न थाल्छन्। यही क्षण, म मैले खोजेको शब्दलाई पाएर मेरा भावनाका अक्षरहरूमा लिपिबद्ध गर्न थाल्छु। त्यो क्षण, मेरो मनमा एक विचित्रको आनन्द भरिन्छ, जसले मेरो भोको पेटमा पनि म अघाएजस्तो महसुस गर्छु। यो सुखद अनुभूति नै शब्द-साधनाको सबैभन्दा ठूलो पुरस्कार हो।

वास्तवमा, लेखकको यात्रा शब्दको खोजीमा एक निरन्तरको साधना हो। यसले हरेक पटक नयाँ सिर्जनाको जन्म दिन्छ। खोजिरहेको शब्द भेटेपछिको खुसीमा म निबन्ध लेख्न हत्पत गर्न थाल्छु। खोज्दाखोज्दै भेटिएका शब्दहरूको सिलसिला बुनेर एउटा सुन्दर र सुगन्धित माला बनिसकेको मलाई पत्तै हुँदैन। म तिनलाई आँखा तिखारेर ध्यानमग्न भई पढ्न थाल्छु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *