तुलसी दिवस : काव्यिक चिनारीको आकाश
आदरणीय वरिष्ठ कवि, लोकसंस्कृतिविद् तथा साहित्यकार तुलसी दिवस एउटा अलग्गै काव्यिक चिनारीको आकाश हुनुहुन्छ।
उहाँ नेपाली साहित्यका एक यस्ता शिखर पुरुष हुनुहुन्छ, जसको नाम सुन्नेबित्तिकै कविताको एउटा सुन्दर चित्र आँखामा आउँछ। उहाँ कविमात्र नभएर कवितालाई सुन्न, बुझ्न र महसुस गर्न सिकाउने एक कुशल गुरु पनि हुनुहुन्छ। ललितपुरको चाकुपाटस्थित उहाँको निवासमा २०८२ साल श्रावण २३ गते शुक्रबार अपराह्नको भेट एउटा साहित्यिक यात्राजस्तै अविस्मरणीय रह्यो। त्यसो त उहाँसँगको मेरो चिनजान तीन दशक पुरानो भइसकेको छ।
उहाँका अनुसार कविताको वास्तविक सौन्दर्य त्यसको प्रस्तुति र वाचन शैलीमा निहित हुन्छ। उहाँको यही दर्शन उहाँको हरेक वाचनमा प्रतिविम्बित हुन्छ। उहाँ जब आफ्ना काव्यमय शब्दहरूलाई ओँठमा सजाएर वाचन गर्न थाल्नुहुन्छ, तब श्रोताहरू मन्त्रमुग्ध हुन्छन्। त्यो वाचन केवल शब्दहरूको समूहमात्र नभएर एक भावनात्मक प्रवाह हो, जसले श्रोताको हृदयलाई स्पर्श गर्छ र कविताप्रति स्वतः प्रेम जगाउँछ।
उहाँको वाचनशैली यति मनमोहक छ कि कविता सुन्न मन पराउने जो कोही पनि उहाँको प्रस्तुति सुन्न लालायित हुन्छन्। कविता भनेपछि सुन्नै नचाहने मनसमेत उहाँको वाचन शैलीबाट प्रभावित भई कान ठाडो पार्दै काव्यिक रसको सागरमा डुब्न थाल्छ। र, त्यहाँ कवि तुलसी दिवसको काव्यिक आकाश छ्याङ्ग भएर खुल्छ।
उहाँको कवित्वको प्रभाव यति गहन थियो कि ३० वर्षको उमेरमै उहाँ तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ मनोनयन हुनुभयो। अनकन्टार गाउँमा म एक वर्षको टुकुर–टुकुर हिँड्ने अभ्यास गरिरहँदा उहाँ भने राजधानीमा प्राज्ञको गरिमामय पदमा आसिन भइसक्नुभएको थियो।
यो सम्मानले उहाँको प्रतिभा र नेपाली साहित्यमा उहाँको योगदानलाई प्रमाणित गर्छ। आजसम्म पनि उहाँलाई कम उमेरका प्राज्ञको रूपमा सम्झिइन्छ, जुन उहाँको असाधारण क्षमताको एउटा प्रमाण हो।

तुलसी दिवसले कविताकै माध्यमबाट विश्वभर नेपालको प्रतिनिधित्व गर्नुभएको छ। दर्जनौँ साहित्यिक सेमिनारहरूमा उहाँले कविताकै भाषण गरेर र कार्यपत्र पेस गरेर नेपाली साहित्यको गरिमा बढाउनुभएको छ। उहाँका अनुसार कुनै एउटा देशमा नेपालको प्रतिनिधित्व गरेर जाँदा उहाँले अतिशय सम्मान पाउनुहुन्छ। फेरि अर्को पटक अर्को देशमा त्यसरी नै निम्तो मान्न पुग्दा उहाँलाई अचम्म लाग्छ। ‘अपरिचित कवि, साहित्यकारहरूको नाम छ। मलाई यिनीहरूले कहिले, कसरी चिनेर निम्तो गरे?’ भनी सोच्नुहुन्छ अनि उहाँ सोध्नुहुन्छ– ‘मलाई किन र कसरी यस कार्यक्रममा निम्त्याउनुभयो?’
आयोजकहरूको सहजै जवाफ आउँछ– ‘यहाँले अघिल्लो कार्यक्रममा प्रस्तुत गर्नुभएको कविताको प्रस्तुतिले प्रभावित भएर हामीले यसपालि हाम्रो देशमा निमन्त्रणा गरेका हौँ।’
यसरी उहाँले एसियाली मुलुकदेखि युरोप, अमेरिकाका धेरै देशमा नेपालको प्रतिनिधित्व गरी कविता वाचन गर्दै आउनुभएको छ। कविताको धाराप्रवाह प्रवचनसमेत दिँदै आइरहनुभएको छ। तर सबै कार्यक्रमहरूमा अहिलेसम्म आफ्नो एक पैसा पनि खर्च नभएको उहाँ बताउनुहुन्छ। यसरी उहाँ सहभागी हुँदै आउनुभएको समय–सीमाले निकै दशक खाइसकेको छ।
उहाँ प्राज्ञमा मनोनयन हुनुसँगै उहाँको काव्यिक वाचनको प्रभाव फैलिँदै गयो। फलस्वरूप उहाँलाई मित्रराष्ट्रका साहित्यिक संस्थाहरूले आमन्त्रण गर्न थाले। सहभागिता जनाउँदा उहाँको दमदार प्रस्तुतिले सबैलाई मन्त्रमुग्ध पारिदिनुभयो। त्यसपछि हरेक वर्ष उहाँले विभिन्न देशमा नेपालको प्रतिनिधित्व गर्न थाल्नुभयो। निम्तोको ओइरो लाग्थ्यो। कति ठाउँमा एउटै समय पर्दा रद्द गर्नुपर्थ्यो। आयोजकले उहाँको अनुपस्थितिप्रति अफसोस मान्थे र फेरि अर्को पटक सविनय आग्रहसहित निम्तो पठाउँथे। यसरी उहाँले आयोजकहरूकै आग्रह, अनुदान र आमन्त्रणमा विश्व घुम्नुभयो। घुमेका र पुगेका देशमा नेपाली काव्यचेतनाको ज्वाला बाल्नुभयो। नेपाली साहित्यको गहिरो छाप विश्वका कविमनहरूसम्म फैलाउनुभयो।
यस प्रकार नेपाली कविताका दूत बनेर उहाँले नेपाली कवितालाई विश्वमञ्चमा सशक्त रूपले प्रस्तुत गर्नुभयो। यो क्षमता, यस्तो अवसर र यस किसिमको माया पाउनुमा उहाँको आवाजको मिठास हो। बोलीमा पनि कविता, भाषणमा पनि कविता, कुराकानीमा पनि कविताको ओज र अस्तित्व प्रदर्शन गर्न सक्ने उहाँको अद्वितीय खुबी छ। कविहरू धेरै छन्, कविता वाचन गर्नेहरू पनि छन्। तर उहाँको जस्तो तेज, उन्मुक्त प्रवाह, शाब्दिक मिठासयुक्त शब्दचयनको सन्तुलित र सुन्दर प्रस्तुति विरलैमा भेटिन्छ।
‘लेखेर मात्र हुँदैन, त्यसमा नवीनता र सुनाउँदा दर्शकमा त्यसले पार्ने प्रभाव उच्च हुनुपर्छ’ भन्ने मान्यतालाई आत्मसात् गर्दै उहाँले विज्ञानको पढाइ छोडेर साहित्य विधामा आफूलाई संलग्न राख्नुभयो। हुन त विद्यार्थी जीवनमा उहाँले चित्रकलामा पनि आफ्नो दक्षता देखाउनुभयो। त्यसको प्रमाण उहाँको निवासमा सजिएर रहेका उहाँले बनाएका केही चित्रहरूले पुष्टि गर्छन्।
उहाँको यो यात्रा भौगोलिक भ्रमण मात्र नभएर नेपाली साहित्यको विश्वव्यापी पहिचान बनाउने एउटा महान् अभियान पनि हो। उहाँको नामसँग नेपाली काव्य जगत्को पुरानो र लामो सम्बन्धको जरो गाडिएको छ। विदेशमा नेपाली साहित्य र नेपाल देशको चिनारी गराउने श्रेय उहाँलाई जान्छ। अनुवाद साहित्यमा कमजोर रहेको नेपाली साहित्यलाई उहाँकै प्रतिनिधित्व र सबल वाचनकलाले विश्वमा नेपाली कविताको शक्ति र साहित्यको बेजोड क्षमता देखाएको कुरा स्मरणीय हुन्छ। यसरी नेपाली कवितालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउनमा यसले ठूलो भूमिका खेलेको उहाँ स्वयं पनि बताउनुहुन्छ।
वास्तवमा कवि तुलसी दिवसको आवाजमा काव्यमय स्पन्दनको झङ्कार महसुस हुन्छ। उहाँको आवाजमा कविताको मिठास भेटिन्छ। त्यो मिठास उहाँको सरल, सुललित र सुमधुर वाचन शैलीले स्पष्ट पार्छ। अग्रजप्रतिको श्रद्धा र अनुज पुस्तालाई माया गर्न प्रेरित गर्ने उहाँको बानी छ। अन्ततः श्रुतिमधुर कवितामय आवाजलाई संसारका साहित्यिक मनहरू माझ पुर्याउनुभएको छ।
तुलसी दिवस एउटा यस्तो व्यक्तित्व हुनुहुन्छ जसको जीवन र कविता एक–अर्काका पर्यायवाची हुन्। उहाँको कवितामा जीवनको गहिराइ छ र जीवनमा कविताको सुन्दरता भेटिन्छ। उहाँको योगदानले नेपाली साहित्यलाई समृद्ध बनाएको छ र नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ। उहाँ एक कविमात्र होइन, नेपाली लोकसंस्कृति र साहित्यका एक सच्चा धरोहर पनि हुनुहुन्छ। उहाँको चिनारीको अर्को पाटो लोक संस्कृति हो। लोकवार्ता, लोक संस्कृति र लोक साहित्यमा पनि उहाँको योगदान उच्च रहेको छ।
उहाँले धिमाल लोकसंस्कृतिमाथि गहिरो अनुसन्धान गर्नुभएको छ। ‘धिमाल लोक संस्कृति’सम्बन्धी धेरै किताब पनि प्रकाशित गर्नुभएको छ। उहाँका प्रकाशित पुस्तकहरूमा नेपाली लोककथा, नेपाली लोककथा केही अध्ययन, धिमाल प्रदर्शनकारी लोक संस्कृति, धिमाल लोकधर्म र संस्कृति, तुलसी दिवसका कविता, ‘फोल्क टेल्स फ्रम नेपाल’, तुलसी दिवस कि कविताएँ आदि छन्।
आफ्नै देश तथा विदेशबाट दर्जनौँ सम्मान तथा पुरस्कारबाट उहाँ पुरस्कृत हुनुहुन्छ। उमेरले नब्बे नजिक पुग्न लाग्दासमेत उहाँमा विद्यमान ऊर्जा, तारुण्यझैँ फुर्ति तथा बोली र व्यवहारमा उस्तै हाउभाउको उपस्थिति उहाँमा पाउन सकिन्छ। त्यसैले उहाँ नेपाली काव्याकाशका सग्ला हस्ताक्षर हुनुहुन्छ।
