निजी क्षेत्रका समस्याबारे गभर्नरको ध्यानकर्षण

विराटनगर। मोरङ उद्योग व्यापार संघले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेललाई निजी क्षेत्रका समस्या सम्बोधन गर्न विभिन्न सुझावसहितको पत्र बुझाएको छ।

संघले निरन्तर घाटामा गएका उद्योगहरूको ऋणलाई ‘बुक लस’ नभई ‘क्यास लस’ का आधारमा प्रोभिजन गर्नुपर्ने, निर्यातकर्तालाई थप विनिमय दर उपलब्ध गराउनुपर्ने लगायतका मागहरू राखेको छ।

संघको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयमा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा गर्भनर पौडेललाई भेट गरी उक्त सुझाव पत्र पेश गरेको हो।

संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा गएको टोलीमा वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह र वाणिज्य उपाध्यक्ष अनिल सारडासहित अन्य उद्योगी व्यवसायीहरू पनि सहभागी थिए।

पत्र बुझाउँदै अध्यक्ष राठीले निजी क्षेत्रको वर्तमान आवश्यकताहरू सम्बोधन गर्न उचित नीतिगत व्यवस्था मिलाउन गर्भनरलाई आग्रह गरे। उनले लगातार दुई वर्ष घाटामा देखिएका उद्योग–व्यवसायको ऋण र ब्याजदरमा सहजताका लागि ऋण प्रोभिजन गर्दा ‘बुक लस’ भन्दा ‘क्यास लस’ लाई मान्यता दिनुपर्ने सुझाव दिए।

यसैगरी, उनले डेब्ट–इक्वीटी अनुपात मिलेका संस्थाहरूको ऋणलाई खराब कर्जामा वर्गीकरण नगर्न पनि आग्रह गरे।

संघले प्रस्तुत गरेका अन्य प्रमुख सुझाव यस्ता छन्–

–उद्योग–व्यवसायको कारोबार र प्रवृत्तिका आधारमा ६० प्रतिशतसम्म चालु पुँजी कर्जा सहज रूपमा उपलब्ध गराउनु पर्ने।

–नेपाली निर्यातकर्तालाई थप प्रतिस्पर्धी बनाउन उनीहरूले आर्जन गर्ने विदेशी मुद्राको विनिमय दरमा ३ देखि ५ प्रतिशत थप रकम उपलब्ध गराउनु पर्ने।

–बैंकिङ कारोबारमा बाधा नपर्ने गरी बैंकहरूको वार्षिक बिदा अधिकतम १३ दिन कायम गर्नुपर्ने।

–नेपालमा सूचना प्रविधिको विकासका लागि नेपालीहरूले पनि पेपल, स्क्रीलजस्ता विश्वव्यापी अनलाइन भुक्तानी प्लेटफर्म प्रयोग गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने।

–सहकारीहरूको कारोबारलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउन अनुगमन, नियमन तथा सुपरीवेक्षण कार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने।

संघको सुझाव पत्र ग्रहण गर्दै गर्भनर पौडेलले ती सुझावहरू सकारात्मक र समय सान्दर्भिक रहेको बताए। उनले यसबारे गृहकार्य गरी यथासम्भव सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *