राजु अधिकारीले ल्याए तेस्रो कृति ‘द स्नेल पिकर’
काठमाडौं। लेखक राजु अधिकारीको तेस्रो अङ्ग्रेजी उपन्यास ‘द स्नेल पिकर’ प्रकाशित भएको छ। यो उपन्यास एक यथार्थपरक आख्यान हो। यसमा लेखकले बहुराष्ट्रिय कम्पनीहरूको आन्तरिक राजनीति र खिचातानीको चित्रण गरेका छन्।
यसका साथै, एउटा सामान्य कर्मचारीले कसरी कम्पनी र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने कुरा पनि यसमा देखाइएको छ।
चीनको व्यापारिक केन्द्र साङ्घाईको वरिपरिको कथामा आधारित यो उपन्यासले विगतका दशकहरूमा चीनको अकल्पनीय भौतिक र आर्थिक विकासलाई केलाएको छ। यस विकासले चिनियाँहरूको सोच, जीवनशैली र संस्कृतिमा पारेको प्रभावलाई उपन्यासमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ।
उपन्यासको मुख्य पात्रको माध्यमबाट मानिस कसरी आधुनिकताको भीडमा परेर आफ्नो वास्तविक लक्ष्यबाट विचलित हुन्छ र जीवनको पछिल्लो चरणमा मात्र आफू गलत बाटोमा हिँडिरहेको कुरा थाहा पाउँछ भन्ने कुरा देखाइएको छ। यसपछि, उसले भीड पछ्याउन छोडेर आफ्नो जीवनको मार्ग आफैँ निर्धारण गर्ने निर्णय गर्छ भन्ने चित्रण गरिएको छ।
त्यस्तै, चीनको तीव्र विकाससँगै विदेशीहरूले चीन र चिनियाँ जनतालाई हेर्ने दृष्टिकोणमा आएको परिवर्तनलाई पनि उपन्यासको मुख्य पात्रको अनुभवमार्फत दर्शाइएको छ।
लेखकका यसअघि दुई अङ्ग्रेजी उपन्यास प्रकाशित भइसकेका छन्। ती स्वैरकल्पनामा आधारित थिए। ‘द स्नेल पिकर’ भने यथार्थपरक कथावस्तुमा केन्द्रित रहेको अधिकारीको भनाइ छ।
‘थुप्रै सोलुसन्स’ बाट प्रकाशित यो उपन्यास थुप्रै डटकममा इ–बुकको रूपमा र अमेजन मार्फत विश्वभरि नै उपलब्ध हुने जनाइएको छ।
