इलाममा आज रोपाइँ जात्रा

इलाम। परम्परागत रूपमा मनाइँदै आएको रोपाइँ जात्रा आज बिहीबार इलाम सदरमुकाममा भव्यताका साथ आयोजना हुँदैछ।

सामान्यतया वर्षायाममा रोपाइँ र अन्य कृषि कार्य सकिएपछि आयोजना हुने यस जात्रामा सबै उमेर समूहका मानिसहरू सहभागी भएर रमाइलो गर्ने चलन छ।

रोपाइँकै झल्को दिने गरी अभिनय गर्दै यो जात्रा मनाइन्छ। जात्रामा रोपाहार, बाउसे र गोरुको प्रतीक बनाएर हिल्याउने अभिनय गरिन्छ। यसका साथै लाखेनाच पनि हुन्छ। कतिपय व्यक्तिहरू शरीरमा अनेक आकृति बनाएर रमाइलो गर्दै हिँड्छन्।

जात्राको अवसरमा साँझको समयमा लिम्बू समुदायको सांस्कृतिक धाननाच पनि आयोजना गर्ने चलन छ। सांस्कृतिक उत्सवको रूपमा मनाइने यस जात्रामा विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिन्छ।

नेपाल भाषा तथा संस्कृति समाजले जात्राको आयोजना गर्दै आएको छ। समाजका प्रवीण श्रेष्ठका अनुसार, जात्राको सबै तयारी पूरा भइसकेको छ।

बुधबार भने पश्चिम इलामको देउमाई नगरपालिकामा पर्ने मंगलबारेमा स्थानीय भानुभक्त माविका विद्यार्थीहरूले रोपाइँ जात्रा आयोजना गरेका थिए। सिमसिम पानी परिरहे पनि त्यहाँ भव्य सहभागिताका साथ जात्रा सम्पन्न भएको मौसम खनालले बताए।

रोपाइँ जात्रा माईजोगमाई गाउँपालिकाको नयाँबजार, इलाम नगरपालिका–५ को बरबोटलगायतका क्षेत्रमा पनि भव्यताका साथ मनाइन्छ। यस्तै, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाल्पा, काठमाडौं लगायतका जिल्लाहरूमा पनि यो जात्रा उत्साहका साथ मनाउने गरिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *