क्यानाडाको टोरन्टोमा नेपाली समुदायको मेला

काठमाडौं। क्यानाडाको टोरन्टोमा आयोजित १७ औँ हिमालयन मेला यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ। नेपाली समुदायको गौरव र आपसी मेलमिलापका लागि महत्त्वपूर्ण मानिने यो मेलामा टोरन्टो र यसका आसपासका सहरहरूबाट पनि धेरै मानिसहरूको सहभागिता थियो।

आयोजक संस्था नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेज (एनसीसीएस) का अनुसार, यस वर्ष मेलाको गुणस्तर र सुरक्षामा विशेष ध्यान दिइएको थियो। संस्थाका महासचिव सुदर्शन सापकोटाका अनुसार यो वर्ष करिब ५९ हजार ५०० डलर खर्च भएको अनुमान गरिएको छ।

यो सबै खर्च प्रायोजकहरू र सहयोगीहरूको सहयोगबाट जुटाइएको संस्थाले जनाएको छ। मेला आयोजनाका लागि टोरन्टो नगरले ३ हजार डलर अनुदान दिएको थियो।

यो मेला नेपाली कला, संस्कृति र परम्पराको प्रदर्शन गर्ने एक ठूलो अवसर थियो। मेलामा १७ वटा सांस्कृतिक प्रस्तुति, तीनवटा ब्यान्डको प्रस्तुति र १५ वटा विभिन्न संस्थाले सामुदायिक परेडमा सहभागिता जनाएका थिए। कलाकारहरू अञ्जना गुरुङ र हरि कर्माचार्यले आफ्ना प्रस्तुतिबाट दर्शकलाई मनोरञ्जन गराएका थिए।

मेला स्थलमा नेपाली परम्परागत खाना, पहिरन, गरगहनाका स्टलहरू राखिएका थिए। ती स्टलहरूमा विशेष गरी नेपाली विद्यार्थीहरूको घुइँचो देखिन्थ्यो। कार्यक्रममा नेपालका राजदूत भरतराज पौड्यालसहित क्यालगरीको नेप्लिज कम्युनिटी सोसाइटीका प्रतिनिधिहरू पनि सहभागी थिए।

एनसीसीएसले मेलालाई दीर्घकालीन र सफल बनाउनका लागि सरकारी अनुदान ल्याउने प्रयास गर्ने र ठूला कर्पाेरेसनहरूसँग सहकार्य गर्ने रणनीति बनाएको जनाएको छ। यसले गर्दा आर्थिक दायित्व कम हुने र कार्यक्रमको स्तर पनि बढ्ने विश्वास लिइएको छ।

संस्थाका पदाधिकारी, सयौँ स्वयंसेवक, कलाकार र समुदायका सदस्यहरूको निःस्वार्थ समर्पणले यो कार्यक्रम सफल भएको सापकोटाको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *