रामहरि खतिवडाद्वारा राज्यव्यवस्था समिति सभापतिबाट राजीनामा
काठमाडौ। संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटिलाई लिएर प्रश्न उठेपछि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफ्नो पदबाट राजीनामा दिएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले पदलाई भन्दा प्रश्नलाई महत्त्व दिएर राजीनामा दिएको बताए। खतिवडाले आफूमाथि लागेको आरोपबारे छानबिन गर्न बनेको विशेष समितिले आफूलाई दोषी नठहराएको दाबी गरेका छन्।
राजीनामाको मुख्य कारण ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा भएको गडबडी हो। समितिले कर्मचारीहरू अवकाश भएको वा राजीनामा दिएको दुई वर्षसम्म संवैधानिक वा सरकारी नियुक्तिमा जान नपाउने प्रावधान सर्वसम्मत रूपमा पारित गरेको थियो। पछि प्रतिवेदन लेख्ने क्रममा यो व्यवस्थालाई निष्प्रभावी बनाइएको थियो।
यो विषय सार्वजनिक भएपछि कांग्रेसका सहमहामन्त्री जीवन परियारको नेतृत्वमा संसदीय विशेष समिति गठन गरिएको थियो। उक्त समितिले आफ्नो प्रतिवेदनमा उक्त त्रुटिको राजनीतिक र नैतिक जिम्मेवारी सभापति खतिवडाले लिनुपर्ने निष्कर्ष निकालेको थियो। मुख्यसचिव र अन्य सरकारी सचिवहरूले ‘कुलिङ अफ पिरियड’ को व्यवस्था हटाउन शीर्ष राजनीतिक नेतृत्वलाई दबाब दिएको पनि सार्वजनिक भएको थियो।
