पर्यटन प्रवर्द्धन गर्न ‘मिनी मेला’
फाइल तस्बिर
इलाम। पर्यटनलाई प्रबर्द्धनको उद्देश्यले हरित नगर महिला समूहले सदरमुकाम इलाम बजारमा ‘मिनी मेला’ आयोजना गर्ने भएको छ। साउन २८ गतेदेखि भदौ १५ गतेसम्म चल्ने मेलामा स्थानीय उत्पादन, कला, संस्कृति र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने जनाइएको छ।
चाडपर्वको अवसरमा आयोजना गरिएको मेलाको सहआयोजकमा होटल व्यवसायी संघ इलाम छ। झापाको कन्काई फन वर्ल्डले व्यवस्थापनको जिम्मा लिएको छ। आयोजकको लक्ष्य मेला अवधिभर १० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने छ।
समूहकी अध्यक्ष रिना घिमिरेका अनुसार पछिल्लो समय इलाम अलि सुस्तायो भन्ने गुनासो आइरहेका बेला चहलपहल बढाउन पनि मेला आयोजना गरिएको हो।
मेलाको तयारीका लागि मंगलबार समन्वय समितिको बैठक गरिएको छ। इलाम नगरपालिकाकी उपमेयर विष्णु दाहाल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललगायतको उपस्थितिमा बैठक गरिएको अध्यक्ष घिमिरेले जानकारी दिइन्।
मेलामा महिलाले बनाएका सामग्री र रैथाने खानाका परिकारहरू राखिने विशेष स्टलहरू रहनेछन्। यसका साथै, स्थानीय कला, हस्तकला, खाद्यान्न, कृषिजन्य उत्पादनको प्रदर्शनी र विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिने आयोजक समिति उपाध्यक्ष सुनिता कर्माचार्यले जानकारी दिइन्।
आयोजकले यो मेलाले इलामको सांस्कृतिक र आर्थिक गतिविधि विस्तार गर्नुका साथै पर्यटकका लागि नयाँ आकर्षणको केन्द्र बन्ने विश्वास लिएको छ। यसै क्रममा, मेलामा तीज विशेष कार्यक्रमको पनि आयोजना गरिनेछ।
मेलाले पर्यटकहरूलाई इलामको प्राकृतिक सुन्दरतासँगै यहाँको सांस्कृतिक विविधता र आर्थिक सम्भावनाको पनि अनुभव गराउने अपेक्षा गरिएको छ।
