इलामको माङसेबुङमा बान्तावा भाषाको पाठ्यक्रम बनाइँदै

इलाम । माङसेबुङ गाउँपालिकाले ‘बान्तावा भाषा पाठ्यक्रम’ पनि लागू गर्ने भएको छ। त्यसका लागि ‘बान्तावा भाषा पाठ्यक्रम’ निर्माण गर्न एक कार्यदल गठन गरी काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जानकारी दिए। गाउँपालिकाले आधारभूत तहमा ‘स्थानीय पाठ्यक्रम’ र ‘लिम्बू भाषा पाठ्यक्रम’ यसअघि नै कार्यान्वयनमा ल्याइसकेको छ।

गाउँपालिका अध्यक्ष राईले भने, “सरोकारवालाहरूसँगको छलफल र परामर्शपछि बान्तावाभाषीहरूको बाहुल्यता रहेको क्षेत्रमा पठनपाठन गराउने गरी बान्तावा भाषा पाठ्यक्रम निर्माण सुरु गरेका छौँ। पाठ्यक्रम निर्माणका लागि कार्यदल गठन गरेर काम अगाडि बढाइसकिएको छ।”

कार्यदलमा जीवनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक मदनकुमार राईको संयोजकत्वमा शिक्षकहरू उदय राई, सकुन्तला राई, अम्बिकाप्रसाद राई, पूर्वशिक्षक गुञ्जकुमार राई र शिक्षा अधिकृत (छैटौँ) युवराज खनाल रहेका छन्।

किरात राई यायोख्खा केन्द्रीय उपमहासचिव कृष्णकुमार राईले बान्तावा भाषा पाठ्यक्रम निर्माण हुनु समग्र बान्तावाभाषीका लागि खुसीको खबर रहेको प्रतिक्रिया दिए। “संविधानप्रदत्त मातृभाषा शिक्षाको अधिकार उपयोगमा माङसेबुङ गाउँपालिकाले सुरु गरेको कार्यलाई सकारात्मक रूपमा लिएका छौँ,” उनले भने, “यसलाई कार्यान्वयन गर्न हाम्रो संस्थाका तर्फबाट सकारात्मक सहयोग रहनेछ।”

नेपालको संविधानको भाग ३, धारा ३१ मा शिक्षाको हकसम्बन्धी उपधारा ५ मा प्रत्येक समुदायलाई आफ्नो मातृभाषामा विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्न पाउने हकको व्यवस्था छ। सोही व्यवस्थाबमोजिम माङसेबुङले मातृभाषा शिक्षाका लागि वान्तवा भाषाको पाठ्यक्रम निर्माणमा जुटेको गाउँपालिका अध्यक्ष राईको भनाइ छ।

यसअघि माङसेबुङ गाउँपालिकाले आधारभूत तह (कक्षा १–८) सम्मको स्थानीय पाठ्यक्रम ‘हाम्रो माङसेबुङ’ निर्माण गरी ऐच्छिक विषयका रूपमा सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गराउँदै आएको छ। त्यस्तै, आधारभूत तह (कक्षा १–५) सम्मको लिम्बू भाषाको पाठ्यक्रम निर्माण गरी चारवटा विद्यालयमा पठनपाठन गराउँदै आएको छ। माङसेबुङले लिम्बू जातिको बाहुल्यता रहेको वडा नं ३ स्थित पवित्रा आधारभूत विद्यालय, वडा नं ५ स्थित सरस्वती माध्यमिक विद्यालय, साम्जिक मुन्धुम आधारभूत विद्यालय र साम्जिक मुन्धुम पाठशालामा लिम्बू भाषा पाठ्यक्रम पठनपाठन गराउँदै आएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले बताए।

माङसेबुङमा सामुदायिकतर्फ माध्यमिक विद्यालय (कक्षा १–१२) तीन, माध्यमिक विद्यालय (कक्षा ९–१०) सात, आधारभूत विद्यालय (कक्षा १–८) १६ र आधारभूत विद्यालय (कक्षा १–५) सम्मका चारवटा विद्यालय छन्। संस्थागततर्फ माध्यमिक विद्यालय (कक्षा ९–१०) दुई र आधारभूत विद्यालय (कक्षा १–८) का दुईवटा विद्यालय छन्।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार १६ हजार ८१० जनसङ्ख्या रहेको माङसेबुङमा ४२.८३ प्रतिशत लिम्बू र ३३.६ प्रतिशत राई जातिको बसोबास छ। जातीय र भाषिक बाहुल्यताका आधारमा यसअघि लिम्बू भाषा पाठ्यक्रम लागू गरेको माङसेबुङले यसपटक बान्तावा भाषा पाठ्यक्रम लागू गर्ने तयारी गरेको हो। माङसेबुङले लिम्बू जातिको बाहुल्य रहेको वडा ५ मा २०७५ देखि नै लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा घोषणा गरी कार्यान्वयन गर्दै आएको छ। (रासस)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *