‘काजी सर’: ४१ वर्ष अध्यापन, अन्त्यमा बेवास्ता

चार दशकभन्दा बढी समय शिक्षण क्षेत्रमा बिताएर हजारौँ विद्यार्थीलाई शिक्षा दिएका एक जना शिक्षकको योगदानको बेवास्ता गरिएपछि अहिले यस विषयले व्यापक चासो र चर्चा पाएको छ।

खोटाङको दिक्तेलमा ‘काजी सर’ भनेर सबैले श्रद्धा गर्ने काजीप्रसाद खतिवडाले सरस्वती माध्यमिक विद्यालय (हालः उच्च माध्यमिक विद्यालय) मा लामो समयसम्म पढाए। अनुकरणीय स्वभाव र जीवनशैलीका कारण सबैले उनको सम्मान गर्छन्। तर, यति लामो अवधि सेवा गर्दा पनि उनले यथोचित सम्मान पाउन सकेनन्।

हुन त, उनलाई कसैले सम्मान गरोस् भन्ने चाहना छैन। तर, उनलाई चिन्नेजान्ने धेरैले विद्यालय प्रशासन, व्यवस्थापन समिति र शिक्षकहरूले गरेको व्यवहारप्रति चित्त दुखाएका छन्। चित्त उनका छोरा डोरेशको पनि दुखेको छ। उनी आफ्ना बुबाको सम्मानभन्दा पनि शिक्षा क्षेत्रमा लामो समय सेवा गर्ने जोकोहीको योगदानलाई बेवास्ता गरिनु हुँदैन भन्ने मनसाय राख्छन्।

‘काजी सर’ को योगदान, उनका शिष्य र शुभेच्छुकका कुरा अनि गुनासो र प्रतिक्रिया समेटेर यो सामग्री तयार गरिएको छ।

उनका छोरा डोरेश खतिवडाले आफ्नो धारणा यसरी सार्वजनिक गरेका छन्ः

“मेरा बुबाले आफ्नो जन्मथलो खोटाङ, दिक्तेलमै पढाइ सुरु गर्नुभएको थियो। २०४० सालमा एसएलसी उत्तीर्ण गरेपछि उहाँले त्यही विद्यालयमा शिक्षण सुरु गर्नुभयो। निरन्तर ४१ वर्षसम्म (२०४०-२०८१) आफ्नो जीवनको अमूल्य समय शिक्षण पेसामा समर्पित गर्नुभयो।

सात वर्ष विद्यार्थीका रूपमा र ४१ वर्ष शिक्षकका रूपमा गरी कुल ४८ वर्ष एउटै संस्थामा बिताउँदै उहाँले १० हजारभन्दा बढी विद्यार्थीलाई शिक्षा दिनुभयो।

एउटै परिवारका तीन पुस्तासम्मलाई समेत पढाउने सौभाग्य उहाँले पाउनुभयो, जुन आफैँमा दुर्लभ उपलब्धि हो। न उहाँले कहिल्यै कार्यस्थल बदल्ने सोच्नुभयो न त अरू कतिपय शिक्षकजस्तो राजनीति र गुटबन्दीमा लाग्नुभयो। उहाँको जीवन समर्पण, इमानदारी र सेवाभावको एउटा उदाहरण हो।

तर दुःखको कुरा, उहाँको सेवानिवृत्ति (रिटायर्ड) को दिनमा विद्यालयले एउटा सम्मानजनक बिदाइको औपचारिकतासमेत पूरा नगरी जीवनभरको योगदानलाई बेवास्ता गर्‍यो। यो केवल विद्यालय प्रशासनमा बसेका केही व्यक्तिको व्यक्तिगत ईर्ष्या र संकुचित सोचका कारण भएको निन्दनीय घटना हो।

यो मेरा बुबामाथिको अपमान मात्र होइन, यो सम्पूर्ण शिक्षा पेसाप्रतिको अपमान हो। शिक्षकको जीवनभरको योगदानलाई यति हल्का रूपमा लिनु विद्यालय र समाज दुवैका लागि लज्जाजनक कुरा हो।

शिक्षकको सम्मान भनेको केवल एउटा औपचारिक कार्यक्रम होइन, यो भावनात्मक कदर, प्रेरणा र अर्को पुस्तालाई दिइएको सन्देश हो। तर दुर्भाग्यवश, मेरा बुबाको मिहिनेत र इमानदारीको मूल्य विद्यालयको वर्तमान नेतृत्वले बुझेन।

शिक्षकलाई सम्मान दिन सिकौँ, उहाँहरूको योगदानलाई जीवनभरको सम्पत्तिजस्तै कदर गरौँ।

यो लेख मेरा बुबाप्रति छोराको भावनाबाट लेखिएको हो। बुबालाई यस्ता कुरा सार्वजनिक गर्न कुनै चासो छैन, तर म उहाँको जीवनभरको योगदानबारे सबैले जानून् भन्ने चाहनाले यो लेखेको हुँ।”

डोरेसको यो प्रस्तुतिमा धेरैले प्रतिक्रिया दिएका छन्। खतिवडा सरसँग अध्ययन गरेकी विद्यार्थी प्रेमिला राईले लेखेकी छन्, “मैले एसएलसी दिनेबेला काजी सरसँग तीन महिना ट्युसन पढ्ने अवसर पाएकी थिएँ। सारै शालीन व्यक्तित्व काजी सरप्रति सधैँ सम्मान छ। यी कुराहरू पढ्दा अत्यन्तै दुःख लाग्यो। यो अत्यन्तै भद्दा मजाक हो वास्तवमा। उहाँ त सरस्वती उच्च माध्यमिक विद्यालयको प्रेरणाको स्रोत हो।”

यसैगरी, आलोक शर्माले पनि प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन्, “सरसँग मैले त पढ्ने मौका पाइनँ, तर मेरा समकालीन लगभग सबैले उहाँसँग शिक्षा लिएका छन्। कैयौँ बसाइमा उहाँका किस्साहरू सुन्ने मौका पाएको छु। खुसी लाग्छ, उहाँजस्तो व्यक्तित्व हाम्रो ठाउँमा हुनुहुन्छ। उहाँको सादगी र सरलताले उहाँलाई महान् बनाएको छ। ‘काजी सर’ एउटा नाम मात्र होइन, ब्राण्ड नै हो। बाँकी जीवन पनि सरल र सहज बितोस्। जसजसले काजी सरलाई चिन्छ, ऊ नतमस्तक बन्छ। यो नै उहाँप्रतिको सम्मान हो र रहिरहनेछ।”

यस्तै, केशर राईले संक्षिप्त प्रतिक्रिया दिँदै लेखेका छन्, “धेरै नरमाइलो लागेको छ, यस्तो नहुनुपर्ने हो। तर… जे भए पनि हामी सबैको श्रद्धेय गुरु काजी सरप्रति सम्मान व्यक्त गर्दछु।”

खतिवडाको पोस्टमा बासु शर्माले पनि प्रतिक्रिया दिएका छन्। उनको भनाइ यस्तो छ, “जहाँ सरले जीवनभर आफ्नो अमूल्य समय व्यतीत गरेर शिक्षाको उज्यालोबाट धेरै विद्यार्थीलाई बाटो देखाउने सत्कर्म गर्नुभयो, त्यहाँ सरप्रति गरिएको व्यवहारले हामी सबै शिक्षाकर्मीलाई दुःख लागेको छ।”

यसैगरी, सबिन आचार्यले खतिवडा सरप्रति सम्मान व्यक्त गर्दै अलि विस्तृतमा प्रतिक्रिया दिएका छन्। उनले यस्तो लेखेका छन्, “शिक्षकलाई समाजमा ‘गुरु’ मात्र होइन, भविष्यका शिल्पीका रूपमा पनि सम्मान गरिन्छ। किनकि, उनीहरूको हातबाट समाजका भविष्यका नागरिक तयार हुन्छन्। काजी सरको यो कुनै पेसागत सेवा मात्र थिएन, यो त निःस्वार्थ समर्पण थियो। हजारौँ विद्यार्थीलाई अक्षर चिनाउने, अनुशासन सिकाउने, सृजनशीलताको बाटो देखाउने मात्र होइन, जीवनमा इमानदार, मेहनती र धैर्यवान् बन्ने पाठ पनि पढाउनुभयो।

काजी सर शिक्षक मात्र हुनुहुन्नथ्यो, एक अभिभावक पनि हुनुहुन्थ्यो। धेरै विद्यार्थीका लागि उहाँ घरका अभिभावकभन्दा बढी माया, मार्गदर्शन र प्रेरणा दिने व्यक्तित्व हुनुहुन्थ्यो। पढाइमा कमजोर विद्यार्थीलाई विद्यालयपछि बसालेर निःशुल्क ट्युसन दिनु उहाँको नियमित बानी थियो। उहाँको पाठशैली केवल पाठ्यपुस्तकमा सीमित थिएन, जीवनका यथार्थ पाठहरू पनि उहाँको कक्षामा घुलमिल हुन्थे।

तर विडम्बना, उहाँको सेवाको अन्त्यमा विद्यालयले कुनै औपचारिक बिदाइ कार्यक्रमसम्म गरेन। यो केवल एक शिक्षकको अपमान मात्र होइन, यसले संस्थागत संवेदनशीलताको कमी पनि देखाउँछ। ४८ वर्षसम्म एउटा संस्थालाई आफ्नो परिवारजस्तो मानेर काम गर्ने व्यक्तिको योगदानलाई नजरअन्दाज गर्नु हृदयविदारक कुरा हो। बिदाइ कार्यक्रम केवल औपचारिकता मात्र होइन, त्यो एउटा अवसर हो– विद्यार्थी, पूर्वविद्यार्थी, अभिभावक र समाजले मिलेर एक योगदानको कथा सुन्ने, धन्यवाद दिने र भावी पुस्तालाई प्रेरणा दिने। त्यो अवसर गुमाउनु भनेको केवल एउटा कार्यक्रम गुमाउनु होइन, एउटा प्रेरणादायी अध्यायलाई मौनमा पुर्‍याउनु हो।

यद्यपि, विद्यालयको व्यवहारले दुःख दिएको छ। तर, हामी विद्यार्थी, पूर्वविद्यार्थी र उहाँका शुभेच्छुकहरूले अझै पनि उहाँसँग धेरै कुरा सिक्ने अवसर पाउनेमा विश्वास गरेका छौँ। उहाँको अनुभव, ज्ञान र जीवनप्रतिको दृष्टिकोण हाम्रो लागि अनन्त धरोहर हो। आगामी दिनमा हामीले मात्र होइन, हाम्रो नयाँ पुस्ताले पनि उहाँको सान्निध्य पाओस् भन्ने हाम्रो चाहना हो। किनकि, यस्ता गुरुहरू जीवनमा बारम्बार भेटिँदैनन्।

मेरो लागि काजी सर अझ विशेष हुनुहुन्छ। किनकि, उहाँ मेरा प्यारो साथीका बुबा पनि हुनुहुन्छ। प्रत्यक्ष रूपमा विद्यालयमा उहाँसँग पढाइ पाउने अवसर मैले पाइनँ, तर उहाँको पढाउने शैली, अनुशासन र स्नेहका कथाहरू मेरा अभिभावक र साथीहरूको मुखबाट सुन्दै हुर्किँदै गएँ। बाल्यकालदेखि नै मनमा लागेको थियो– यदि म पनि उहाँजस्तो बन्न सकेँ भने मात्र यो जीवन सार्थक हुनेछ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *