दिवंगत आफन्तलाई सम्झँदै गाईजात्रा

काठमाडौं। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज आइतबार देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।

यो पर्व विशेषगरी एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइन्छ। आजका दिन गाई वा मानिसलाई गाईको रूपमा सिँगारेर नगर परिक्रमा गराउने चलन छ। यसरी परिक्रमा गर्नेहरूलाई श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र द्रव्य दान गर्छन्। यस्तो परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाएर वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।

गाईजात्राको सुरुवात राजा प्रताप मल्लको पालादेखि भएको मानिन्छ। पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारमा सबैले यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन उनले जनतालाई आफ्ना दिवङ्गत व्यक्तिको नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउन आदेश दिएका थिए।

त्यतिले मात्र रानीको मन शान्त नभएपछि उनले विभिन्न प्रहसन र व्यङ्ग्यात्मक कार्यक्रमहरू गराउने आदेश दिएका थिए। त्यहीँदेखि हास्यव्यङ्ग्यको प्रचलन सुरु भएको जनश्रुति पाइन्छ। राजा प्रताप मल्को पालादेखि हनुमानढोकास्थित राजदरबार हुँदै जानुपर्ने यो प्रथा अझै पनि कायम छ।

गाईजात्रा पर्वलाई सामाजिक विकृति र विसङ्गतिविरुद्ध व्यङ्ग्य गर्ने एक सशक्त माध्यमको रूपमा पनि लिइन्छ। पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै २०१७ सालको शाही ‘कू’ पछि यसमाथि प्रतिबन्ध लगाइएको थियो। तर, विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले यसलाई झाँकी र हास्यव्यङ्ग्यसहित पुनः महोत्सवको रूपमा मनाउन सुरु गरेको थियो।

गाईजात्रा काठमाडौं उपत्यका, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायको बाक्लो उपस्थिति भएका सहरहरूमा पनि धुमधामका साथ मनाइन्छ। यस पर्वको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *