शनिबार : जीवनको उत्सव
जीवनको उत्सव शनिबारको दिन महोत्सवमा परिणत हुन्छ । यस दिन अधिकांश मान्छेले घरमै समय बिताउँछन् । घर नै शनिबारको सबैथोक हुन्छ । त्यसैले यो दिन घरबाहिरको कामधाम सबै घरभित्रै गरिन्छ । र, यस दिन सम्बन्धहरूको ऐना देखिन्छ । किनभने कसले के गर्ने ? भन्ने कुरा यसै दिनको कामले निर्धारण गर्छ ।
शनिबार साताको अन्तिम एउटा बिसौनी दिन ! सात दिनमध्ये सबैभन्दा अन्तिमको बिदा हुने दिन । यो दिन सबैको बिदा हुने दिन पनि हो । फुर्सदको दिन, खुसीको दिन र पारिवारिक मिलनको दिन हो । कतिपयका लागि यो घुमफिरको दिन, भेटघाटको दिन अनि पढ्ने र लेख्ने दिन पनि बन्छ ।
शनिबारको बिदा हुने यस दिनलाई कोही घर सरसफाइमा, बारीको गोडमेल गर्ने दिनको रूपमा सदुपयोग गर्छन् । कोही आकाश नियाल्ने र धर्ती चुम्ने दिनका रूपमा प्रकृतिसँग एकाकार हुन्छन् । कर्मचारीलाई बिदा हुने नै भयो । यसका साथै व्यापारीहरू पनि शनिबारको छुट्टी मनाउँछन् ।
शनिबारको हरेक पलमा जीवनको सौन्दर्य र स्वतन्त्रता झल्किन्छ । यो दिन आफैँमा एउटा सानो उत्सव हो, जहाँ हरेकले आ-आफ्नै शैलीमा आनन्द लिने गर्छन् । कार्यालय जाने वा अन्य व्यवसायमा व्यस्त रहने मानिसले शनिबारको दिन मात्रै फुर्सद पाउँछन् । अरू दिन कामको अनेकौँ झमेला र व्यस्तताले आफैँलाई फर्किएर हेर्नेसमेत समय मिल्दैन ।
मेरा लागि शनिबारको दिनको एउटा बेग्लै र विशेष अर्थ छ । यो दिन धेरैले नुवाइधुवाई गर्लान् । लुगा धोलान् । घरआँगन सफा पार्लान् । वा मस्तले सुतेर बिदा बिताउँलान् । टोलको ‘मिटिङ’ वा कुनै कार्यक्रमको ‘निम्तो’ मान्न जालान् । तर म शनिबारको दिन कुनै कार्यक्रममा जान्नँ । घरमै बस्छु । घरमै रमाउँछु । फुर्सद के भन्नु झन् बढी कामको झटारोले हानेर हैरान पार्छ । तैपनि यसमै मैले खुसी भेटेको हुन्छु । सन्तोष पाएको हुन्छु ।
यो दिन मेरा आँखाहरू पनि बेफुर्सद हुन्छन्– ‘अनलाइन’ मा प्रकाशित रचनाहरू हेर्न । यौटा लेखक जतिसुकै ख्यातिनाम भए पनि आफूले लेखेको रचना प्रकाशित भएको देख्न पाउँदा गद्गद हुन्छ । भलै त्यसबाट कुनै पुरस्कार, सम्मान वा पत्रम्पुष्पम्को कुनै व्यवस्था नहोला । तर आत्मसन्तुष्टिका निम्ति पनि नलेखी बस्न सक्दैन ।
पत्रिका र अनलाइनतिर ध्यान जान्छ । मनमा एउटा बेग्लै खुल्दुली छाउँछः ‘कुन अनलाइनले मेरो लेख छाप्यो ? पठाएजति कुन–कुनले छाप्यो ? कतिले लाइक गरे ? कतिले कमेन्ट गरे ?’
यस्ता अनेकन उत्सुकताहरूले शनिबारको बिहानलाई अझ रोमाञ्चक बनाइदिन्छ । आफ्ना सिर्जनाहरूले सार्वजनिक स्थान पाउँदाको त्यो सन्तुष्टि शब्दमा बयान गर्न सकिँदैन । सानो आत्मसन्तुष्टिले पनि मान्छेको मनलाई निकै ठूलो सन्तुष्टि प्रदान गर्न सक्छ ।
यो डिजिटल युगमा, हाम्रा सम्बन्धहरू पनि ‘अनलाइन’ का आवरणमा देखिन थालेका छन् । मेरा ‘अनलाइन’ साथीहरू छन्, जो मेरा ‘पोस्ट’ हरू हेर्छन् । तर, अचम्म लाग्छ, तिनीहरूमध्ये कतिपयले ‘लाइक’ सम्म पनि गर्दैनन् । ‘कमेन्ट’ को कुरा त परकै भयो । सायद उनीहरू व्यस्त छन् वा यसलाई सामान्य कुरा ठान्छन् । पछि कुनै भेटमा हेरिसकेको ‘पोल’ खुल्छ । त्यतिबेला ‘नदेखेकोजस्तो’ गरेर ‘लाइक’ सम्म पनि नगरिदिएको ‘भेद’ सबै सार्वजनिक हुन्छ ।
यद्यपि, केही साथीहरू यस्ता पनि छन् जो तुरुन्तै ‘लाइक’ गर्छन्, ‘कमेन्ट’ लेख्छन् र प्रशंसाका ‘शब्दहरू’ ले मेरो लेखनको हौसला बढाउँछन् । उनीहरूको सकारात्मक प्रतिक्रियाले मेरो मन ‘कृतज्ञता’ ले भरिन्छ । वास्तवमा प्रविधिमैत्री समयको सञ्जाललाई अधिकतम् उपयोग गर्न सक्नु हाम्रो खुबी हुनुपर्छ । तर यस्तो खुबीमा सकारात्मक धारणा, दृष्टि र सोंच हुनुपर्छ । सही उपयोग र उपभोग गर्न सक्दा फाइदाका धेरै काइदाहरू मिल्छन् ।
शनिबारको दिन आफ्नो लेखनप्रति शुभचिन्तकहरूको शुभेच्छा पढ्न र देख्न पाउँदा म उत्साहले प्रफुल्लित हुन्छु । उनीहरूको एउटा ‘लाइक’ वा सानो ‘टिप्पणी’ ले मेरो मेहनतलाई कदर गर्छ, मलाई थप लेख्न प्रेरित गर्छ । यो केवल एक ‘लाइक’ वा ‘कमेन्ट’ मात्र होइन, यो त एउटा अदृश्य बन्धन हो, जसले मलाई पाठकहरूसँग जोड्छ, मेरो लेखन यात्रालाई अर्थपूर्ण बनाउँछ ।
त्यसैले, मलाई लाग्छ अरू बार वा अन्य दिनभन्दा शनिबारको दिन साँच्चै खुसीको दिन हो । एउटा बेग्लै उत्सवको दिन पनि हो । यो दिनले मलाई आफूसँग जोड्छ, परिवारसँग जोड्छ र मेरा शुभचिन्तकहरूसँग जोड्छ । दराजमा सजिएर रहेका किताबहरू मेरा हातमा पर्छन् । किताबका पानाहरू पल्टिन्छन् । आँखाले प्रेम गर्न थाल्छन् । मनले महसुस गर्छन् ।
यो दिनले मलाई सामाजिक सञ्जालको माध्यमबाटै भए पनि मानिसहरूको माया र समर्थनको अनुभूति गराउँछ । यसले जीवनमा नयाँ ऊर्जा भरिदिन्छ । शनिबारको यो विशेष दिनले प्रमाणित गर्छ कि खुशीका स्रोतहरू साना कुराहरूमा पनि लुकेका हुन्छन् । ती स्रोतहरूलाई चिन्न सक्नु नै जीवनको वास्तविक कला हो । जीवनले सुखद सन्तुष्टिको महसुस गर्न पाउने खुसीको यौटा सुन्दर पल हो ।
