के हो पूर्वीय दर्शन ?
मूलत: पूर्वीय दर्शन छओटा छन्, जसलाई षड्दर्शन भन्ने गरिएको छ । ती दर्शन हुन् – साङ्ख्य, योग, न्याय, मीमांसा, वैशेषिक र वेदान्त ।
साङ्ख्य दर्शन :
कपिलमुनिद्वारा प्रतिपादित साङ्ख्य दर्शनले जड प्रकृति र चेतन पुरुषलाई सृष्टिको मूल कारण मान्दछ । यस दर्शनले सृष्टि वा विकास कुनै दैवीशक्तिको प्रक्रिया नभएर प्रकृति अन्तर्वर्ती स्वभावको परिणाम मान्दछ । मानिसमा हुने त्रिगुण अर्थात् सत, रज र तमको विस्तृत व्याख्या र विश्लेषण साङ्ख्य दर्शनमा गरिएको पाइन्छ ।
योग दर्शन :
महर्षि पतञ्जलिद्वारा प्रतिपादित योग दर्शन चित्तलाई एकाग्र गरी परमात्मामा लीन हुन सकिन्छ भन्ने सिद्धान्तमा आधारित छ । यस दर्शनले मानिसको आध्यात्मिक, शारीरिक तथा मानसिक उन्नतिका निम्ति मार्गदर्शन गरेको पाइन्छ ।
न्याय दर्शन :
ऋषि अक्षपाद गौतमद्वारा प्रवर्तित न्याय दर्शन कुनै विषयबारे सप्रमाण तर्कपूर्ण विवेचना गर्ने दर्शन हो । न्याय दर्शनले मानिसको बुद्धिलाई परिष्कृत, तेजी र निर्मल बनाउँछ भनी व्याख्या गरिएको पाइन्छ ।
मीमांसा दर्शन :
जैमिनि ऋषिद्वारा प्रतिपादित मीमांसा दर्शनले अनुमान र तर्कवितर्कद्वारा कुनै विषयको मूल तत्त्व वा वास्तविकताको पत्तो लगाउन सकिन्छ भन्ने कुराको व्याख्या-विश्लेषण गर्दछ । शब्दान्तरमा कुनै विषयवस्तु, सन्दर्भ र चिन्तनमा गम्भीरतापूर्वक गरिएको विचार-विमर्श नै मीमांसा दर्शन हो । यसका पूर्वमीमांसा र उत्तरमीमांसा गरी दुइटा भेद देखिन्छन् । यसका साथै, ज्ञानमीमांसा र कर्ममीमांसा पनि मीमांसाका भेदभित्र पर्दछन् । ज्ञानका माध्यमबाट तत्त्वसम्म पुग्नका लागि मीमांसा गर्ने मत ज्ञानमीमांसा हो भने वैदिक कर्मकाण्डहरूद्वारा यथोचित रूपले व्याख्या र प्रतिपादन गर्ने विचारधारा कर्ममीमांसा हो ।
वैशेषिक दर्शन :
महर्षि कणादद्वारा प्रतिपादित वैशेषिक दर्शन प्रत्येक वस्तुको निजी विशिष्टता हुन्छ र त्यो नै उसको तत्त्व वा स्वरूप हो भन्ने सिद्धान्तमा आधारित छ । यस दर्शनले प्रत्येक वस्तुलाई स्वयंमा एक सत्ता मान्दछ ।
वेदान्त दर्शन :
रामानुज र मध्वाचार्यद्वारा प्रकाशमा ल्याइएको वेदान्त दर्शनको प्रमुख स्रोत उपनिषद् हाे । वस्तुत: वेदको अन्तलाई वेदान्त भनिन्छ । यस दर्शनलाई वेदहरूको सार मानिएको छ । यो ज्ञानमार्गीय दर्शन हो । यसका अद्वैतवाद र द्वैतवाद गरी दुईओटा शाखा रहेका छन् । ब्रह्मलाई निर्गुण मान्ने अद्वैत दर्शन हो भने ब्रह्मलाई सगुण मान्ने द्वैत दर्शन हो । वेदान्त दर्शनबारे धेरै विद्वान्हरूले आआफ्ना दार्शनिक चिन्तन प्रस्तुत गरेको पाइन्छ ।
यो त षड्दर्शनबारेकाे न्यूनतम चञ्चुप्रवेश मात्र हो । पूर्वीय दर्शनबारे विस्तृत र आधिकारिक ज्ञान प्राप्त गर्नका लागि विज्ञानभिक्षु (डा. विमलकुमार सुवेदी) को ‘पूर्वीय दर्शनको इतिहास’ नामक ५३८ पृष्ठको गहन ग्रन्थको अध्ययन गर्नु अपेक्षित छ ।
